उपभोक्ता सचेतना आवश्यक: मुख्यमन्त्री आचार्य
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपभोक्ताको हित संरक्षणका लागि व्यवसायीहरूको ईमानदारी र उपभोक्ताहरूको सचेतना आवश्यक रहेको बताएका छन्।
बुटवलमा आयोजित व्यवसाय र उपभोक्ताको मानव अधिकार सम्बन्धी सक्षमता अभिवृद्धि कार्यक्रममा उनले प्रदेश सरकारले उपभोक्ताको हित र अधिकार संरक्षण गर्न अनुगमनलाई तीव्रता दिने भन्दै प्रदेश स्तरीय अनुगमन संयन्त्र निर्माण गरिने जानकारी दिए।
मुख्यमन्त्री आचार्यले उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पार्ने अखाद्य वस्तुको उत्पादन, बिक्री, र वितरणलाई रोक्न प्रभावकारी अनुगमन आवश्यक रहेको बताए। उनले भने, ‘म्याद गुज्रेका र अखाद्य वस्तु उत्पादन तथा वितरण गर्नेहरूलाई कानुनी कारबाही गरिनुपर्छ, र यो कार्य तीन तहका सरकारको संयुक्त प्रयासबाट मात्र सम्भव हुन्छ।’
उनले उपभोक्ता अधिकार सुनिश्चित गर्न सशक्त कानूनी संरचना निर्माण, सचेतना अभियान तीव्र बनाउने, गुणस्तरीय परीक्षण तथा नियमनको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री आचार्यले अनुचित व्यापारलाई निरुत्साहित गर्दै उत्कृष्ट सेवा तथा गुणस्तरीय उत्पादन दिने व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए। उनले प्रदेश सरकारले सामाजिक सुधारका काममा सफलता प्राप्त गरिरहेको उल्लेख गर्दै कुपोषण समस्यालाई न्यूनिकरण गर्न विशेष पोषण कार्यक्रम सञ्चालन गरिरहेको पनि बताए।
यसैगरी, उनले सरकारले सेवा प्रवाहलाई सुधार गर्न नयाँ कदम चालेको र नागरिकहरूको सहयोग आवश्यक रहेको पनि प्रस्ट्याए। मुख्यमन्त्री आचार्यले सरकार नागरिकको अपेक्षाअनुसार अघि बढिरहेको र कानूनी सुधारमार्फत देश र जनताको पक्षमा काम गरिरहेको बताए।