रवि मध्यरात काठमाडौं आइपुगे, भोलि विहानै अदालत जाने – Nepal Press

रवि मध्यरात काठमाडौं आइपुगे, भोलि विहानै अदालत जाने

काठमाडौं । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने मध्यरात काठमाडौं आइपुगेका छन् । सहकारी अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा ८४ दिन बिताएका उनी बिहीबार ६५ लाख धरौटीमा रिहा भएका थिए ।

त्यसदिन पोखराकै लेकसाइटस्थित होटल बसुन्धरामा बसेका उनी हिजो शुक्रबार स्थलमार्ग हुँदै मध्यरात काठमाडौं आइपुगेकी उनकी पत्नी निकिता पौडेलले बताइन् ।

‘बाटो खत्तम रहेछ, बिस्तारै बिस्तारै आउँदा ढिला भयो’, उनले भनिन् । नेपाल प्रेसले ११ः४५ बजे सम्पर्क गर्दा निकिता भर्खरै उठेकी थिइन्, रवि थकाईका कारण सुतिरहेका थिए ।

भोलि विहानै काठमाडौं जिल्ला अदालतमा हाजिर भई त्यहाँ दायर भएको मुद्दाको प्रक्रियामा सहभागी हुने उनले बताइन् । ‘भोलि जाने कुरा छ, आज कानुन व्यवसायी साथीहरुसँग सरसल्लाह गर्नुहुन्छ’, उनले भनिन् ।

धेरै दिनको हिरासत बसाईका क्रममा पनि रविको स्वास्थ्यमा कुनै समस्या नभएको उनले बताइन् । रुघा, खोकीजस्ता सामान्य समस्या पनि नरहेको, तर पोखराबाट काठमाडौं आइपुग्ने क्रममा बाटोभरि खाल्डाखुल्टी भएका कारण थकित भएको भनिन् ।

काठमाडौं महानगरपालिका– १४ मा सञ्चालित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सोसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलसमक्ष पेश गरिसकेको छ । भोलि रवि सोही मुद्दाको क्रममा अदालतमा हाजिर हुने भएका हुन् ।

उक्त मुद्दामा पक्राउ परेका प्रतिवादीमध्ये कर्जा उपसमिति सदस्य कमल लामा र लेखा समितिकी पूर्वसदस्य सुनिता नेवा क्रमशः तीन र चार लाख धरौटीमा रिहा भइसकेका छन् । दुबै विरुद्ध एकमुष्ट ११ करोड ४९ लाख २१ हजार २७० बिगो कायम गरिएको थियो ।
उक्त सहकारीले सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।

रवि लामिछाने, जिबी राई, छविलाल बन्जाडे जोशीसहितका प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा पनि मुद्दा चलिरहेको कारण सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले २१ गते अनुसन्धान प्रतिवेदन बुझाउँदा उनीहरुको हकमा बिगो मागदावी गरेको थिएन । पछि अनुसन्धानबाट खुलेको अवस्थामा पूरक अभियोग लैजान सकिने कारण त्यसो नगरिएको जिल्ला प्रहरी, काठमाडौंको स्रोतले जनायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर