अध्यादेशपछि प्रधानमन्त्रीको विश्वास- आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्छौं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिने बताएका छन् । हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताए ।
‘नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानूनी अप्ठ्याराहरु थिए । अब नेपाली आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रुपमा भित्र्याउन पाउने भएका छन्’ प्रधानमन्त्रीले फेशबुकमा लेखेका छन्, ‘हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानून सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गरेको छ ।’
उनले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने विश्र्वास व्यक्त गरेका छन् ।
सरकारले हिजो राष्ट्रपतिलाई सिफारिस गरेको अध्यादेशमा नेपाली कम्पनीले विदेशमा लगानी गर्न र विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सक्नेगरी नेपाली कम्पनीले विदेशमा शाखा खोल्न, कारोबार गर्न, विदेशमा भएको आम्दानी नेपालमा भित्त्राउन पाउने व्यवस्था गरिएको छ ।