संविधान संशोधन सत्ताको भर्याङमात्रै : घनश्याम भुसाल (भिडिओ) – Nepal Press

संविधान संशोधन सत्ताको भर्याङमात्रै : घनश्याम भुसाल (भिडिओ)

रूपन्देही । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कांग्रेस र एमालेको गठबन्धनमा रहेको वर्तमान सरकार सत्ताकै लागि मात्रै बनेको यसबाट विकास र समृद्धिको कुनै अपेक्षा गर्न नसकिने टिप्पणी गरेका छन् ।

नेकपा एकीकृत समाजावादी रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले सत्ताको स्वार्थसँग जोडिएर बनेको सरकारले केही काम गर्न नसक्ने बताएका हुन् । उनले कांग्रेस र एमालेले संविधान संशोधनको कुरा गरेपनि त्यो गर्नका लागि नभई सत्तामा पुग्नका लागि मात्रै गरिएको बताए ।

‘संविधानको कुरा या त नसोचेर ल्याए, या त झुक्याउन ल्याए’, उनले भने । उनले संविधान सन्तुलित रहेकाले यो संशोधन गर्न दुई दलमात्रै मिलेर सम्भव नै नरहेको बताए । ‘हाम्रो संविधान भयंकर सन्तुलन छ, यो संविधान संशोधन कांग्रेस र एमालेले चाहेर मात्रै सम्भव नै छैन’, महासविच भुसालले भने ।

उनले संविधान वर्तमान केपि ओली नेतृत्वको सरकार केही पनि काम नगर्नका लागि बनेको बताए । ‘एउटा भारतसँग रिसाएको छ, काँग्रेसलाई विआरआईको नाम लिनेवितिकै ज्वरो आएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय राजनीतिले पनि गर्दैनन्, यी दुई दलले केही पनि गर्दैनन ।’ उनले वर्तमान सरकार विभिन्न काण्डहरुको स्वार्थसँग जोडिएकाले सत्ता जोगाउने वाहेक केही नगर्ने बताए ।

उनले सरकारले रास्वपाका सभापति रवि लामिछानेको सन्दर्भममा एकै ठाउँमा मुद्दा चलाए हुनेमा बढी दुःख दिएको भान जनताले गरेको बताए ।

उनले राज्यले व्यक्तिगत बदला लिन नहुने बताउँदै सरकारकै कारण सडकमा गैरजिम्मेवार व्यक्तिहरुको आन्दोलन शुरु भएको बताए । ‘वर्तमान सरकारले नालयकी गर्छ, नालयकीको विरोध हुन्छ, त्यसले गैरजिम्मेवार व्यक्तिहरु अगाडि आउन सक्छन्’, महासचिव भुसालले भने ।

अगुवा कार्यकर्ताहरु समेत भएको बैठकमा महासचिव भुसालले अब नेकपा एकीकृत समाजवादी पार्टीलाई आन्दोलनबाट स्थापित गर्ने बताए । उनले स्थानीय, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरका समस्यालाई आन्दोलनका रुपमा अगाडि बढाएर ८४ को निर्वाचनसम्म स्पष्ट मुद्दा बोक्ने पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए ।

उनले राष्ट्रिय पुँजीको विकास गरी सुदृढ मुलुक बनाउनुपर्ने बताउँदै त्यसका लागि अब कांग्रेस एमालेको विकल्पमा आफुहरुको पार्टीले नयाँ कार्यक्रम ल्याएर जनताको विचमा आउने दाबी गरे ।

बैठकमा नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य एव रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले प्रस्ताव र केन्द्रीय समितिको सर्कुलका बारेमा जानकारी दिए । बैठकमा केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, बाबुलाल यादव, उमा काफ्ले, भगवती अधिकारीसहित प्रदेशका, जिल्ला र जनवर्गिय संगठनका पदाधिकारीहरुसो बैठकमा सहभागी रहेका थिए ।

युवा संघका पूर्व अध्यक्षसहित चार जना समाहित

बैठकमै नेकपा एमाले निकट युवा संघ सिद्धार्थनगरका पूर्व अध्यक्ष प्रकाश भक्त श्रेष्ठ नेकपा एसमा समाहित भएका छन् । यसैगरी नेकपा एमाले क्षेत्र न. १ का पूर्व क्षेत्रीय सदस्य खेलकुद विभाग देवदहका प्रमुख अरुण गहतराज, एमालेका वडा न. ७ का नेता विवेक श्रेष्ठ र मर्चवारका अनुप यादव पनि शनिबार नै नेकपा एकिकृत समाजवादीमा समाहित भएका छन् । महासचिव भुसालले चारै जनालाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

विस्तारित बैठकले नेकपा एकीकृत समाजवादी रुपन्देहीको जिल्ला अधिवेशन आगामी चैत ९ गते बुटवलमा गर्ने निर्णय गरेको उपाध्यक्ष चिनबहादुर गुरुङले बताए ।

यस्तै बैठकले आगामि माघ मसान्तसम्म सदस्यता नविकरण छुट भएका र नयाँ सदस्यता दिने निर्णय समेत गरिएको उपसचिव टंक पोखरेलले बताए । यस्तै अधिवेशनका लागि तयारी समितिहरु समेत गठन गरिएको अर्का उपसचिव मिरा श्रेष्ठले बताइन् ।


प्रतिक्रिया

One thought on “संविधान संशोधन सत्ताको भर्याङमात्रै : घनश्याम भुसाल (भिडिओ)

  1. पार्टी फुटाएको विदेशीको आदेशमा मात्र रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *