२५ मिटर बारे मेयर लामा भन्छिन्, समस्या छिट्टै समाधान हुन्छ
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले लामो समयबाट विवादास्पद रहेको हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको समस्या अब छिट्टै समाधान हुने बताएकी छिन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मकवानपुरको छैटौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मेयर लामाले एसियन हाइवेअन्तर्गत रहेको हेटौँडा बजार क्षेत्रको सडक फराकिलो गर्ने काम अन्तिम चरणमा रहेकोले यो समस्या चाडै हल हुने क्रममा रहेको बताइन् । यो विषयले गर्दा आम नागरिक र व्यवसायी अन्योलमा रहेको बताउँदै मेयर लामाले एसियाली विकास बैङ्कले हेटौँडा बजार क्षेत्रको सडक निर्माणको विषयमा अध्ययन गरिरहेको र उक्त अध्ययनको प्रतिवेदन सरकारलाई बुझाउने तयारी रहेको बताइन् । उनले यहि वर्षको चैत्रसम्ममा यो समस्या हल भएरै छाड्ने दाबी गरिन् ।
आफू २५ मिटर क्षेत्रका नागरिक र व्यवसायीलाई अन्याय नहुने गरि विस्तारको काम गर्नुपर्ने पक्षमा रहेको भन्दै मेयर लामाले जग्गाको मुआब्जा नदिए पनि क्षति भएको भौतिक संरचनाको क्षतिपूर्ति दिएर २५ मिटर सडक निर्माण गर्न उपमहानगरपालिकाले लबिङ गरिरहेको जानकारी दिइन् ।