बुटवलमा ‘सावर्णी’ उपन्यासको विमर्श
रुपन्देही । बुटवलमा विज्ञान–प्रविधि सम्बन्धी उपन्यासको विमर्श सम्पन्न भएको छ । पाठक मञ्च बुटवलको आयोजनामा शनिवार डा.श्रीधर खनाल लिखित ‘सावर्णी’ उपन्यासको विमर्श भएको हो । विमर्शमा बोल्दै साहित्यकार ऋषिराम भुसालले कृत्रिम बौद्धिकता र महाभारतको सेरोफेरो समातेर लेखिएको यो उपन्यासले पाठकहरूलाई कल्पनाको नयाँ क्षितिजतर्फ लग्ने बताए ।
त्यस्तै साहित्यकार इन्दिरा अर्यालले नयाँ पुस्ताको लागि यो उपन्यास निकै रोचक हुने सम्भावना रहेको चर्चा गर्दै पेसागत हिसाबले मेडिकल डाक्टर भए पनि खनालको लेखन प्रभावकारी रहेको बताइन् । अर्का समीक्षक डा. प्रकाश भट्टराईले वर्तमान समयको विज्ञान र प्रविधिको परिवेश बनाएर लेखिएको उपन्यास नेपाली साहित्यको निम्ति नौलो कृति रहेको बताए । कार्यक्रममा आफ्नो पठन अनुभव व्यक्त गर्दै धारणा शर्मा र सिमरन बोहराले नयाँ पुस्ताको भाषामा रहेको उपन्यासले नयाँ पाठकहरूलाई पनि पुस्तक पठनमा आकर्षण गर्न सक्ने सम्भावना रहेको उल्लेख गरे ।
पुस्तक तथा विविध सामयिक विषयमा विमर्श गर्ने पाठक मञ्चको यो कार्यक्रम कवि कुल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।