होटल-रेस्टुरेन्टमा क्युआर कोडको व्यापकता : १४ प्रतिशत ग्राहक नगदबिनै आउँछन् (भिडिओ) – Nepal Press

होटल-रेस्टुरेन्टमा क्युआर कोडको व्यापकता : १४ प्रतिशत ग्राहक नगदबिनै आउँछन् (भिडिओ)

काठमाडौं । नेपालमा होटल तथा रेस्टुरेन्टमा क्यासलेस कारोबार बढ्दै गइरहेको छ । छोटो समयमा नै होटल तथा रेस्टुरेन्टमा क्युआर कोड तथा डिजिटलमार्फत भुक्तानी रकम तथा कारोबार बढेको सरकारी तथ्यांकले देखाएको हो ।

नेपालमा आर्थिक वर्ष २०७८-०७९ (२०२०/२१) को जुन-जुलाईमा क्युआर कोडबाट कारोबार सुरुवात भएको थियो । २०७९–०८० सम्म आइपुग्दा १४.१ प्रतिशत पाहुना नगदबिनै होटल रेस्टुरेन्ट पुगेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९/०८०मा गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार नेपालमा १४.१ प्रतिशतले होटल तथा रेस्टुरेन्टको बिल अनलाइन माध्यमबाट कारोबार गर्ने गरेका हुन् । हालै सार्वजनिक गरिएको तथ्यांकअनुसार नेपालमा १ लाख ४२ हजार २ सय २३ वटा होटल र रेस्टुरेन्ट रहेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले ७ प्रदेशमा रहेको होटल तथा रेस्टुरेन्टमा गरेको सर्वेक्षण अनुसार क्युआर कोर्डसेवा सुरु भएको छोटो समयमा नै प्रयोगकर्ताको संख्या उल्लेख्य बढेको छ ।

होटल तथा रेस्टुरेन्टमा पुगेका १४.१ प्रतिशत पाहुनाले डिजिटल ट्रान्सफर (कनेक्ट आइपीएस, इसेवा, खल्ती, क्यु आर कोड) लगायतको माध्यमबाट बिल तिर्ने गरेको पाइएको तथ्यांकले देखाएको छ ।

डिजिटल माध्यमबाट भुक्तानी गर्नेमा बागमति प्रदेश पहिलो नम्बरमा रहेको छ । सबैभन्दा बढी होटल तथा रेस्टुरेन्ट रहेको बागमति प्रदेशमा २०.७ प्रतिशतले अनलाइन माध्यमबाट कारोबार गर्ने गरेको पाइएको छ ।

बागमती प्रदेशमा मात्रै ५२ हजार १२३ वटा होटल रेस्टुरेन्टलगायतका प्रतिष्ठान छन् । त्यसैगरी २५ हजार ८८७ वटा होटल रेस्टुरेन्ट रहेको कोशीमा ९.४ प्रतिशतमात्रै अनलाइन कारोबार भएको देखिन्छ ।

सबैभन्दा पर्यटक पुग्ने गण्डकीमा गण्डकीमा ९.४ प्रतिशतले मात्र अनलाइनबाट रकम भुक्तानी गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

मधेशमा सबैभन्दा कम ३.३ प्रतिशतले मात्रै अनलाइनमा माध्यमबाट कारोबार गरेको देखिन्छ । सुदूरपश्चिममा १६.९ प्रतिशतले अनलाइनमाध्यमबाट कारोबार गर्दा लुम्बिनीमा १३.८ प्रतिशत, कर्णालीमा ९.६ प्रतिशत पाहुनाले अनलाइन कारोबार गरेका छन् ।

तथ्यांक कार्यालयले गरेको सर्वेक्षण अनुसार नेपालमा ८४.९ प्रतिशत ग्राहकले बिल नगद तथा चेकबाट भुक्तानी गर्छन् । क्रेडिट कार्ड वा डेविट कार्डबाट ०.३ प्रतिशतले बिल भुक्तानी गर्दा त्यस्तै चेक, नगद, डेविड क्रेडिट, डिजिटल वालेटबाहेक अन्य माध्यमबाट ०.७ प्रतिशतले बिल तिर्ने गरेको पाइएको छ ।

होटल तथा रेस्टुरेन्ट पुग्ने झण्डै ८५ प्रतिशत ग्राहकले अझै पनि नगद तथा चेकबाट कारोबार गर्ने गरेको पाइएको छ ।

नगदबाट बिल भुक्तानी गर्नेमा सबैभन्दा बढी मधेश प्रदेश रहेको छ । मधेशमा ९२.७ प्रतिशत, कर्णाली र कोशी प्रदेशमा ९० प्रतिशतले नगदमार्फत विल भुक्तानी गरेको देखिन्छ ।

नगदबाट बिल भुक्तानी गर्नेमा सबैभन्दा कम बाग्मतीमा प्रदेश रहेको छ । बाग्मतीमा ७८.२ प्रतिशत, सुदूूरपश्चिममा ८२.२ प्रतिशत, गण्डकीमा ८९.५ प्रतिशत, लुम्बिनीमा ८५.८ प्रतिशतले ग्राहकले नगदबाट भुक्तानी गर्ने गरेको पाइएको छ ।

डेभिड क्रेडिट कार्डबाट बिल भुक्तानी गर्नेमध्ये गण्डकी प्रदेशमा सबैभन्दा बढी ०.८ प्रतिशतले डेभिड वा क्रेडिट कार्डबाट बिल तिर्छन् । सबैभन्दा बढी विदेशी पर्यटक पुग्ने गण्डकीमा अन्य प्रदेशमा भन्दा बढी डेभिड क्रेडिट कार्डबाट कारोबार हुने गरेको देखिएको छ ।

त्यस्तै मधेश प्रदेशमा ३.८ प्रतिशतले अन्य माध्यमबाट नगद कारोबार हुने तथ्यांकले देखाएको छ ।

१४ प्रतिशत भनेको उत्साहजनक होः तथ्यांक कार्यालय

यो क्षेत्रमा डिजिटल माध्यमबाट कारोबार गर्नेमध्ये अधिकांश शहरी क्षेत्रका होटल रेस्टुरेन्ट रहेको कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिए ।

उनले भने, ‘अझै पनि पहाड भेगमा नगद नै तिर्ने चलन छ । शहरी क्षेत्रमा मात्रै क्युआर कोडबाट ट्रान्सफर गर्ने चलन व्यापक भएको हो । पहाड हिमालका साना होटल रेस्टुरेन्टले अझै नगद चलाउँछन् । अथवा अलि ठूलो कारोबार भयो भने चेकबाट तिर्छन् ।’

सर्वेक्षण गर्दाको समय डिजिटल माध्यमबाट कारोबार सुरु भएको समय एक वर्ष मात्र भएको हुनाले र सहज रुपमा पहाडमा हिमालमा क्युआर सेवा नपुगेकाले नगद भन्दा थोरै देखिएको उनको भनाइ छ । अबको एक दुई वर्षमा नै झण्डै ५० प्रतिशत भन्दा बढी पुग्ने उनको अनुमान छ । यो सर्वेक्षणले नेपाल डिजिटलाइट हुँदैछ भनेर देखाएको उनी बताउँछन् ।

निर्देशक धिताल भन्छन्, ‘क्युआर डिजिटल माध्यम आउँदा कोभिड नै थियो । त्यसमा पनि क्युआरहरु भनेको ठूलठूला होटल रेस्टुन्टहरुमा मात्रै थियो । त्यसकारणले पनि सोचेजस्तो हुन नसकेपनि अब विस्तारै बढ्दै गएको देखिन्छ । त्यो भनेको एकदमै सकारात्मक हो ।’

यो सर्वेक्षण दुई वर्षअघि गरिएता पनि नतिजा भने हालसालै सार्वजनिक गरिएको हो । सर्वेक्षणको समयावधिमा नेपालमा क्युआर प्रणाली भित्रिएको एक वर्ष मात्रै भएको थियो । एक वर्षको अन्तरालमा पनि अनलाइन प्रणालीबाट हुने भुक्तानी उल्लेख्य रुपमा बढ्नु सकारात्मक भएको उनले बताए । सरकारले नगद भन्दा अनलाइन माध्यमबाट भुक्तानी तथा कारोबार गर्न प्रेरित गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर