संविधान संशोधनबारे ओलीको बोली र अध्यादेशविरुद्ध कांग्रेस नेता एनपी साउदको आक्रोश (भिडिओ) – Nepal Press

संविधान संशोधनबारे ओलीको बोली र अध्यादेशविरुद्ध कांग्रेस नेता एनपी साउदको आक्रोश (भिडिओ)

‘गठबन्धनको भावनाविपरीत बोल्दा र काम गर्दा आशंका बढ्यो, विद्येयक संसद छलेर ल्याउनुहुँदैन’

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य एनपी साउदले संविधान संशोधनबारे प्रधानमन्त्री केपी शर्मा ओलीको बोली र सरकारले संसद छलेर ल्याएको अध्यादेशको विरोध गर्दै यसले गठबन्धनको जग कमजोर बनाएको बताएका छन् ।

‘गठबन्धनको भावनाविपरीत बोल्दा र काम गर्दा आशंका बढ्यो, विद्येयक संसद छलेर ल्याउनुहुँदैन, नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको दुईतिहाई बहुमतको सरकारले अध्ययादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष होइन, यसले गठबन्धनलाई बलियो बनाउँदैन’ रिपोर्टर्स क्लब लुम्बिनीले आइतबार बुटवलमा गरेको साक्षात्कारमा उनले भने ।

ठूला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील दिनुुपर्नेमा जोड दिए ।

‘सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छ,’ साउदले भने, ‘सहमतिविपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ । संविधान संशोधनको मितिबारे आएको विषय त्यसैको उदाहरण हो ।’

नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘अब यसलाई कसरी उन्नत बनाउने भन्ने विषयमा गहन छलफल गरी राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्दछ,’ उनले भने ।

उनले अब संविधान सबैले सर्वस्वीकार्य हुने र अपनत्व गर्नेगरि संशोधन गर्ने बेला आएको जवाफ दिए । उनले स्थिरताको तत्व संविधानमा जोडिनुपर्ने बताउँदै संविधानमा स्थायित्वको तत्व समावेश हुन सक्दैननन् भने संवैधानिक प्रवन्ध उचित नहुने तर्क गरे ।

उनले भने, ‘हरेक १० वर्षमा संविधानका कुराहरु परिवर्तन गर्नु आवश्यक छ । संविधान संशोधन परिमार्जनको कुरा सर्वस्वीकृत बनाउनु पर्छ । राज्य व्यवस्थालाई जनताको स्पष्ठ पहुँच भएको संयन्त्रको रुपमा अगाडि बढाउनु पर्छ । यो अभिष्ट (उदेश्य) नेपाली कांग्रेसको हो ।’

बहुमत हुँदापनि संसद बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको बताउँदै नेता साउदले अनिवार्य संसद सञ्चालन गरी विधेयकमार्फत आउन सुझाएका छन् । नेता साउदले संसद छलेर अध्यादेशमार्फत गएका कुराहरुले स्थायित्व दिन नसक्ने र अध्यादेशमार्फत ल्याइएका विषयवस्तुमा विपक्षी दलसहित सबैको प्रश्न उठेको तर्क गरे ।

पूर्वमन्त्री समेत रहेका साउदले भने, ‘संसदलाई लामो समयसम्म बन्धक बनाउँदै अध्ययादेशमार्फत अहिलेको सरकारले विभिन्न ऐनहरु निर्माण बनाइरहेको छ, जुन संविधानसंवत छैन् । यसको विषयमा चौतर्फी विरोध भइरहेका छन् । यसले राम्रो सन्देश गइरहेको छैन । यसरी सुशासन संभव छैन ।’

उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको बताउँदै सरकारले जनअपेक्षा अनुसारको काम नगरेको भन्दै असन्तुष्टि जनाए । उनले दुई दल बिचको न्युनतम साझा सहमति कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै त्यसको पूर्ण पालना गर्न सुझाव दिए ।


प्रतिक्रिया

One thought on “संविधान संशोधनबारे ओलीको बोली र अध्यादेशविरुद्ध कांग्रेस नेता एनपी साउदको आक्रोश (भिडिओ)

  1. यो गठबन्धन भत्केला र फेरि एमालेबिनाको गठबन्धन बनाउन पाए परराष्ट्र मन्त्री खान पाईन्छ भनेर नितान्त व्यक्तिगत स्वार्थले यी बकबक् गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर