महान्यायाधिवक्ता बडालले राष्ट्रपतिसमक्ष पेश गरे वार्षिक प्रतिवेदन (भिडिओ)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेश गरिएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेश गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका कामहरु अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने बताए । मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानूनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुने पौडेलले उल्लेख गरे ।
मुद्दाको सफलताको प्रतिशत बढाउने मात्रै भन्दा पनि पीडितले न्याय पाए नपाएको वा पीडितमैत्री भए नभएको विषय महत्वपूर्ण हुने उनको भनाइ छ । कसुरदारलाई सजाय दिने तर्फमात्र नभई पीडितले क्षतिपूर्तिसहितको न्याय पाउने कुराको सुनिश्चितता प्रदान गर्ने विषयसमेत महान्यायाधिवक्ताको जिम्मवारी भएको उल्लेख गरे ।
सो अवसरमा महान्यायाधिवक्ता बडालले महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस र पैरवी तथा प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनहरूको लगत संख्या १४ हजार ७ सय १० रहेकामा ३ हजार ७ सय फर्छ्यौट भएको जानकारी गराए । फर्छ्यौट भएका मुद्दामा सरकारी पक्षको सफलता ३६ दशमलब ८४ प्रतिशत रहेको उनले बताए ।