वर्डप्रेसमा आकर्षण बढ्दो, यस वर्ष पनि ‘वर्डक्याम्प काठमाडौं २०२५’ को तयारी
काठमाडौं । वर्डक्याम्प नेपालको २०२५ संस्करण काठमाडौंमा हुने भएको छ । वर्डप्रेस काठमाडौंको आयोजनामा कुन्डलिनी दरबारमा चैत २२-२३ गते दुई दिने संस्करण हुन लागेको हो ।
काठमाडौंको चन्डोलमा हुने उक्त कार्यक्रममा वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरू, वर्डप्रेस विशेषज्ञहरु तथा वर्डप्रेस जान्न उत्सुक सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।
सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना हुँदै आइरहेको छ । वर्डक्याम्प वर्डप्रेससम्बन्धी विश्वव्यापीरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो ।
वर्डप्रेससँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन वर्डक्याम्पले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ ।
कार्यक्रममा नेपाल, भारत, बंगलादेश, अमेरिका, युरोपेली मुलुकजस्ता विभिन्न राष्ट्रबाट स्वदेशी तथा विदेशी सहभागी उपस्थित हुने छन् ।
यसअन्तर्गत अन्तर्क्रियात्मक कार्यशालाहरू, प्रेरणादायी वक्ताहरूको प्रस्तुति, नेटवर्किङ अवसरहरू लगायत रहने वर्डप्रेस काठमाडौंले जनाएको छ ।
उक्त सम्मेलनका लागि चाँडै नै अनलाइन रजिस्ट्रेसन खुला गरिने छ । यससम्बन्धी थप जानकारीका लागि वर्डक्याम्प नेपालको आधिकारिक वेबसाइट https://nepal.wordcamp.org/2025/ बाट प्राप्त हुने आयोजकको भनाइ छ ।