सत्ता र पार्टी संस्थापनसँग एनपीको टक्कर: भूराजनीतिक फ्याक्टर कि गुट फेर्ने चक्कर ? – Nepal Press

सत्ता र पार्टी संस्थापनसँग एनपीको टक्कर: भूराजनीतिक फ्याक्टर कि गुट फेर्ने चक्कर ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाका सदाबहार सहयोगी नेता एनपी साउद पछिल्लो समय सरकारको नेतृत्व र सत्ता गठबन्धनप्रति आक्रामक र आक्रोशित सुनिन थालेका छन् ।

अघिल्लो सरकारमा देउवाले नै परराष्ट्रमन्त्री बनाएर पठाएका साउदका पछिल्ला अभिव्यक्ति पार्टीभित्रका सामान्य असन्तुष्टि वा सार्वजनिक खपतका लागि गरिएका आलोचनामात्र चाहिँ होइनन् । उनलाई बुझ्ने र उनीसँगै काम गरिरहेका निकटस्थहरुका अनुसार साउदले सोचविचार गरेरै अहिलेको सरकारको औचित्यमाथि प्रश्न उठाइरहेका छन् ।

हुन् त देउवासँगै निकटस्थ कांग्रेसका अर्का केन्द्रीय सदस्य नैनसिंह महरले पनि सरकारको आलोचना गरिरहेका छन्, तर उनको आलोचना भने सत्ता दाउपेच र भूराजनीतिभन्दा टाढा आफ्नै व्यक्तित्व निर्माणमा केन्द्रित छ । किनकि उनी आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्न खोज्दैछन् ।

सुदूरपश्चिमबाट देउवाले अघि बढाएका नेताहरुमा रमेश लेखक, एनपी साउद, वीरवहादुर बलायर, नैनसिंह महरलगायत अग्रपंक्तिमा छन् । बलायर साँझ-बिहान बुद्धनगरतिरै बरालिएका छन् । एनपीपछि रमेश प्रभावशाली गृहमन्त्री बनेका छन् भने महर पार्टीमा आफ्नो प्रभाव बढाउन देशव्यापी दौडाहामा छन् ।

तर यतिबेला एनपी साउदका बयानबाजीलाई लिएर एकातिर प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् भने अर्कोतिर कांग्रेसभित्र पनि उनी चर्चामा छन् । सामान्यतः भद्र बोल्ने र आक्रामक अभिव्यक्ति नदिने स्वभाव बनाएका साउदले आइतबार लुम्बिनी पुगेर गठबन्धनमा कांग्रेसको संलग्नतामाथि नै प्रश्न उठाए ।

शनिबार रुपन्देही पुगेका साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका सन्दर्भमा दिएको भनिएको अपुष्ट अभिव्यक्तिको फेरि आलोचना गरे । त्यतिमात्र होइन अध्यादेशको पनि विरोध गरे ।

जबकि अध्यादेश जारी गर्नुअघि बालुवाटारमा देउवा, पूर्णबहादुर खड्का, गगन थापा, रमेश लेखकलगायतका कांग्रेस नेताहरु प्रधानमन्त्रीसँगै थिए ।

दुवै दलको उच्चस्तरीय संयन्त्रले सुझाएअनुसार नै सेवा प्रवाहमा सहजता र आर्थिक गतिविधिलाई सहज बनाउन केही नेपाल ऐनमा संशोधन गर्न अध्यादेश जारी गरिएको हो । अध्यादेश ल्याउनुअघि प्रधानमन्त्री, कानूनमन्त्री र मुख्यसचिव शीतल निवास गएर राष्ट्रपतिलाई समेत भेटेका थिए ।

शेखर कोइरालाभन्दा पनि सत्ता गठबन्धनको विपक्षमा सबैभन्दा बढी आलोचना गर्ने नेतामा अहिले एनपी साउद सक्रिय छन् । साउदले सरकारको र कांग्रेस सम्मिलित गठबन्धनको आलोचना गर्न थालेको चाहिँ प्रधानमन्त्रीको चीन भ्रमणदेखि हो ।

साउदले प्रधानमन्त्री ओली चीन जानुभन्दा अघि डडेलधुरामै गएर देउवालाई बीआरआई कार्यान्वयन फ्रेमवर्कमा कुनै हालतमा हस्ताक्षर गर्न नहुने भनेर दबाब दिएका थिए । निकट स्रोतका अनुसार उनी सुदूरपश्चिमको स्थलमार्गबाट भारत गएर सीधै देउवालाई भेट्न डडेलधुरा गएका थिए ।

उनले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई पनि भूराजनीतिक जटिलता र दक्षिणको सन्देश सुनाएका थिए । जब प्रधानमन्त्रीको बेइजिङ भ्रमणमा देउवासमेतको समर्थन लिएर सरकारले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर ग¥यो, त्यसपछि साउद सरकारको विपक्षमा मुखर रुपमै प्रस्तुत भए ।

त्यसयता उनी आफ्नो परम्परागत स्वभावविपरीत निरन्तर सरकारको र गठबन्धनको विरोध गरिरहेका छन् । जबकि यो सत्ताको निर्माण कांग्रेस सभापति देउवा दम्पतीले गरेका हुन् । देउवाले सरकारको कामको प्रशंसामात्र गरेका छैनन्, प्रधानमन्त्रीले आफूले भनेअनुसार नै काम गरिरहेको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

कतिपयले भने साउदको पालामा पासपोर्टको थप छपाइको क्रममा भएको अनियमिततामाथि छानविन भएपछि उनी आक्रोशित बनेको टिप्पणी पनि गरेका छन् । अख्तियारको छानविन चलिरहेको बेला साउदले नेतृत्वलाई दबाब दिन खोजेको कतिपयको अनुमान छ ।

कृष्ण सिटौलाले समेत सरकार कांग्रेसले भनेअनुसार नै चलिरहेको अभिव्यक्ति दिएका बेला देउवा निकट साउदको अभिव्यक्ति सन्देशमूलक छ । गठबन्धनको मुख्य नेता देउवा, सरकार सञ्चालन उच्चस्तरीय समितिको संयोजक कांग्रेस पूर्णबहादुर खड्का छन् ।

परराष्ट्र र गृह जस्ता मुख्य प्रभावशाली मन्त्रालय सुदूरपश्चिमकै आरजु र रमेश लेखकले चलाइरहेका बेला निरन्तर सरकारको आलोचना गरेर एनपी साउदले के सन्देश दिन खोजेका हुन् ? जानकारहरुका अनुसार एनपीले स्पष्ट रुपमा तीन सन्देश दिन खोजेका छन् ।

१.सुपको खटपट-रमेश लेखक फ्याक्टर

सुदूरपश्चिमबाट शेरबहादुर देउवा कांग्रेसको नेतृत्वमात्र गरेनन्, गिरिजाप्रसाद कोइरालालाई टक्कर दिने र सफल हुने एकमात्र नेता बने । कांग्रेस राजनीतिमा सुदूरपश्चिममा देउवाको लगभग एकछत्र भए पनि उनीपछिको नेता को ? यसमा टक्कर छ ।

कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने एनपी साउद र रमेश लेखकबीच कहिल्यै राम्रो सम्बन्ध छैन । एकले अर्कोलाई हराउन लागेको आरोपसमेत लाग्ने गरेको छ । एनपी नेविसंघको अध्यक्ष भइसकेका कारण देशव्यापी रुपमा उनको सञ्जाल छ । रमेश लेखक भने देउवाको बफादार बनेर संसदीय भूमिकामार्फत पार्टीमा स्थापित भएका छन् ।

केही दशकअघिसम्म एनपी जस्तो राष्ट्रिय एक्स्पोजर नभएका लेखक विशेषगरी शान्ति प्रक्रियाका बेला सरकारी वार्ता टोलीमा बसेपछि राष्ट्रिय राजनीतिमा स्थापित भए । त्यसयता संसदीय भूमिकामा र शान्ति प्रक्रिया तथा संविधान लेखकको भूमिकामा एनपी भूमिकाविहीन जस्तै हुँदा लेखक कांग्रेसको आधिकारिक प्रतिनिधि जस्तै बने ।

कांग्रेसमा देउवाको उदयसँगै एनपीभन्दा रमेशले बढी भूमिका किन पनि पाए भने उनी कानून व्यवसायीसमेत भएकाले देउवाको भरोसा बने । अर्कोतिर एनपी भने विद्यार्थी राजनीतिबाट आएका कारण बौद्धिक र भित्री प्राविधिक काममा फिट भएनन्, बरु साँझ सबेरैबाटै ‘सन्ध्याकालीन जमघट’मा बढी समय बित्यो । यद्यपि देउवाले उनलाई दुई पटक मन्त्री बनाए ।

यस पटक देउवाले रमेश लेखकलाई गृहमन्त्री बनाएपछि एनपीले अब आफ्नो बाटो सोझ्याउनुपर्छ भन्ने संकेत बुझिसकेका थिए । लेखक गृहमन्त्री बनेसँगै एनपी साउदभन्दा उनको प्रभाव बढिसक्यो । कहीँ न कहीँ एनपीको असन्तुष्टि यताबाट पनि प्रकट भइरहेको छ ।

२. गुट परिवर्तनको ‘वार्मअप’

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा शेरवहादुर देउवा सभापति उम्मेदवार बन्न पाउँदैनन् । आगामी महाधिवेशन कांग्रेसभित्रका परम्परागत गुटहरुको विघटन र नयाँ समूह निर्माणको पानीढलो बन्ने निश्चित छ ।

१४औं महाधिवेशनमा शेखरको महामन्त्री बनेका गगन थापा अब आफैं सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । यसको मतलब १५औं महाधिवेशनमा शेखर र गगन एकै ठाउँमा नरहन सक्छन् । देउवा सभापति बन्न नमिल्ने भएपछि उनको परम्परागत टीम धेरै खेमामा बाँडिनसक्छ ।

सुदूरपश्चिममा शेखर पक्ष कमजोर छ । अब शेखरको ध्यान पनि देउवा गुटका प्रभावशाली नेतालाई आफ्नोतिर पार्नेमै केन्द्रित हुनेछ । त्यो अवस्थामा शेखरको नजर एनपी साउदमा परिसकेको छ । रमेश लेखक देउवाको वचन काट्न नसक्ने भएकाले भोलि देउवाको समर्थन शेखरले नपाउँदा एनपी उनको बलियो आधार बन्नेछन् ।

कांग्रेस नेताहरु भन्छन्- कांग्रेसमा अहिले नै देउवा पक्षका नेता को कता लाग्छन् भन्न सकिन्न । महाधिवेशनमा उम्मेदवारी दिने बेलासम्म देउवाले समर्थन गर्ने सभापतिको प्यानलमा पर्नेहरु त्यता लाग्छन्, नपर्नेहरु अर्कोतिर लाग्ने हुन्, तर एनपी साउद अहिले शेखरसँगै संवादमा छन् । यद्यपि उनका पछिल्ला अभिव्यक्ति गुटको चक्करमा भन्दा पनि वारपारिको टक्करका कारण आएका हुनसक्छन् ।

त्यसो त एनपीभन्दा पछि नेविसंघको अध्यक्ष बनेका विश्वप्रकाश शर्मा, पौडेल र नेविसंघबाटै उदाएका गगन थापा अघिल्लो महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्दा एनपी देउवाकै लागि ब्याक हुन बाध्य भए । किनकि देउवा सभापति बन्न सिटौलाको समर्थन लिन प्रदीप पौडेललाई देउवाको महामन्त्री उम्मेदवार बनाइएको थियो ।

एनपी आफूलाई आगामी महाधिवेशनबाट महामन्त्री वा उपसभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गर्दैछन् । यो गुट अदलबदलको चक्कर त्यसैको संकेत हो ।

३. भूराजनीतिक लसपस

परराष्ट्रमन्त्री भएपछि एनपी साउदको भारतसँग सम्बन्ध सुमधुर छ । व्यक्तिगत रुपमा परराष्ट्रमन्त्री हुँदा उनले देखाएको पक्षधरता होस् वा उनको जीवनसाथी ज्योत्सना साउदको विश्व हिन्दू महासंघसको उपाध्यक्ष पदले दिलाएको भारतीय संस्थापन पक्षको साथ होस्, साउद भारतसँगै जोडिन्छन् ।

राम मन्दिर उद्घाटनमा बोलाइएका कम नेपाली अनुहारहरुमा एक थिइन् ज्योत्सना साउद । यसबाट पनि उनको शक्ति देखिन्छ । भारतको सत्ताधारी दल बीजेपीको विचारक संस्था आरएसएस अर्थात् राष्ट्रिय स्वयंसेवक संघसँगको सीधा उठबस हुने साउदको निर्णयमा पनि त्यसकै बाछिटा परेको देखिन्छ ।

नेपाली कांग्रेसकै परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले २०१७ मा हस्ताक्षर गरेर सुरु गरेको बीआरआईको मुद्दामा एनपी साउदको परराष्ट्रमन्त्रीकालमा अगाडि बढ्दै बढेन । जबकि त्यो कार्यकालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै थिए, तर उनले बीआरआईमा केही गर्न सकेनन् वा आँटेनन् । यसमा साउदको सुलह सफल भएको थियो ।

कांग्रेसकै परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाको पालामा बीआरआई अगाडि बढ्दा साउदले सार्वजनिक रुपमै विरोध गरेका छन् । यसमा भूराजनीतिक फ्याक्टरको सीधा प्रभाव भएको नेपाली कांग्रेसकै नेता बताउँछन् ।

कांग्रेसले समर्थन गरेर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएको कतिपय भूराजनीतिक शक्तिलाई मन परेको छैन । दिल्लीले देउवामाथि ओलीको काँध फेर्न दबाब दिइरहेको कुरा पनि ओपन सेक्रेट नै छ । कहीँ न कहीँ एनपी साउदले त्यसको प्रतिनिधि आवाज बोलेका हुन् भन्नेमा दुविधा छैन ।

सरकारको बेलाबखत एनपीकै स्वरमा आलोचना गरिरहेका कांग्रेस नेता नैनसिंह महर भन्छन्, ‘एनपी दाइले बोल्नुभएको कुरा उहाँको उचाइको नेताले बोलेको हुनाले मैले केही टिप्पणी गर्न सक्दिनँ । उहाँ परराष्ट्रमन्त्री भइसकेको पार्टीको सिनियर नेता हो । जहाँसम्म मेरो कुरा छ, मैले त सरकारलाई रचनात्मक सुझावको रुपमा बोलेको छु, प्रधानमन्त्रीज्यूलाई समेत भेटेर मेरा कुरा राखेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *