नेपाल स्काउटमा दुई निर्देशक: कसले मिलाउने विवाद ? – Nepal Press

नेपाल स्काउटमा दुई निर्देशक: कसले मिलाउने विवाद ?

काठमाडौं । नेपाल स्काउटको केन्द्रीय कार्यालय लैनचौरमा आइतबार निलम्बनमा परेका निर्देशक (कार्यालय प्रमुख) रामप्रसाद भट्टराई र नयाँ नियुक्त भएका निर्देशक अजित लामा पुगे । स्काउटको कार्यालय प्रमुखको कार्यकक्षमा भने शुक्रबारदेखि नै ताला लगाइएको छ ।

कार्यकक्षमा ताला लगाइएकै कारण निलम्बनमा परेका भट्टराई र नयाँ नियुक्त भनिएका लामा कार्यकक्षमा जान पाएनन् । उनीहरु दिनभरजसो कार्यालयमा पुगेर प्रशासकीय अधिकृत सन्तोष चौहानको कार्यकक्षमा बसे ।

रोचक त के छ भने निलम्बनमा परेको खबर पाएका भट्टराईले न निलम्बन पत्र पाएका छन् न त नयाँ नियुक्त गरिएको भनिएका लामाले पनि नियुक्तिपत्र पाएका छन् ।

शुक्रबार नै लामालाई नयाँ निर्देशकमा नियुक्ति दिइएको र भट्टराई निलम्बनमा परेको खबर बाहिरिएको थियो । नियुक्ति पत्र दिँदा वा निलम्बन पत्र दर्ता चलानी गरिन्छ, तर शुक्रबार कुनै पनि नियुक्ति र निलम्बनको चिठी दर्ता चलानी नभएको पाइएको छ ।

हालसम्म आफूहरुले नियुक्ति पत्र र निलम्बन पत्र नपाएकाले आइतबार उनीहरु दुवैले नै निर्देशक भएको दाबी गर्दै स्काउटको कार्यालयमा पुगेका हुन् । लामालाई प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले निर्देशकमा नियुक्त गरेका थिए, तर उनलाई हालसम्म नियुक्ति पत्र दिइएको छैन । कर्मचारीहरु कसलाई आधिकारिक कार्यालय प्रमुख मान्ने भन्ने दोधारमा परेका छन् ।

विवाद हुनसक्ने भन्दै लगाइयो ताला

प्रमुख आयुक्त रञ्जितले निलम्बन पत्र नदिएको र नयाँ नियुक्त निर्देशकलाई नियुक्ति पत्र नदिएको हुँदा विवाद हुने भएपछि शुक्रबार नै प्रहरी प्रशासन र स्काउटका कर्मचारीहरुले निर्देशकको कार्यकक्षमा ताला लगाएका छन् । विवाद नमिलेसम्म ताला लगाइने प्रहरीले बताएको छ ।

रामप्रसाद भट्टराईले आफूले निलम्बनमा परेको खबर पाए पनि पत्र नपाएको बताएका छन् । उनले निलम्बनको पत्र नपाएकाले लिन कार्यालय आएको बताए ।

अजित लामाले आफू नयाँ निर्देशकमा नियुक्त भएको दाबी गरे । उनले आफू शुक्रबार नै निर्देशकमा नियुक्त भएको जिकिर गरेका छन् ।

दुई निर्देशकको विवाद समाधान गर्न दुबै पक्ष प्रमुख आयुक्तको पर्खाइमा छन् । उनलाई पटक-पटक फोन गरेर बोलाउँदा समेत नआएको प्रमुख प्रशासकीय अधिकृत चौहान बताउँछन् ।

प्रमुख आयुक्तलाई विवाद मिलाउन स्काउट आउन अनुरोध गर्दा फोन नउठाउने, कहिले व्यस्त छु भन्दै आलटाल गरिरहेका छन् । कार्यसमितिका सदस्य तथा कर्मचारीहरु बिहानदेखि उनलाई पर्खिरहेका छन्, तर उनी विवाद मिलाउनुको साटो सम्पर्कविहीन भएर बसेका छन् । स्काउट जस्तो संस्थामा यस्तो विवाद आउँदा स्काउटकै इमेजमा असर पर्ने अधिकृत चौहानको भनाइ छ ।

दुई निर्देशकको अवस्था कसरी आयो ?

शुक्रबार मध्याह्न १२ बजेतिर प्रमुख आयुक्त रञ्जितले कार्यालय प्रमुख रामप्रसाद भट्टराईको कार्यकक्षको कुर्सीमा नयाँ कार्यालय प्रमुख भन्दै अजित लामालाई राखे ।

लगतै भट्टराई विरोध जनाउँदै प्रमुख आयुक्त रञ्जितले अवैध र गैरकानूनी रुपमा लामालाई आफनो जिम्मेवारी रहेको कार्यालय प्रमुखको कुर्सीमा बसालेर कार्यालय कब्जा गरेको आरोप लगाए ।

उनले आफूमाथि अन्याय भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेलगतै तीन महिनाको लागि निलम्बनमा परेको खबर पाए ।

यता स्काउट प्रमुख आयुक्तले भने भट्टराईमाथि आरोप नै आरोप थुपारेर प्रमुख आयुक्तस्तरीय निर्णय गर्दै तीन महिनाको लागि निलम्बनमा राखेका छन् । भट्टराईमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाइएको छ ।

बैठकमा छलफलै नभएको विषयमा नेपाल स्काउटलाई दीर्घकालीन आर्थिक भार पर्नेगरी विभिन्न व्यक्तिलाई राष्ट्रिय परिषद् बैठकको निर्णयको हवाला दिई नियुक्त गरेकाले उनलाई निलम्बन गरिएको प्रमुख आयुक्त रञ्जितले उल्लेख गरेका छन् ।

निर्देशक भट्टराईले अधिकृतस्तरमा दुई जनालाई चार वर्ष र कार्यालय सहयोगीमा एक जनालाई एक वर्ष आफूखुसी नियुक्त गरी नियुक्ति पत्र उपलब्ध गराएको आरोप छ ।

त्यतिमात्र नभई आफैंले हस्ताक्षर गरी तलबसमेत भुक्तानी दिएको, पटक-पटक कार्यसमितिलाई जानकारी नगराई विदेश जाने तथा विदेश जाँदा आफूले सम्हाली आएको जिम्मेवारी कोही कसैलाई नतोकी भट्टराईले नेपाल स्काउटको प्रशासनिक कार्यलाई आफ्नो हातमा लिएको आरोप लगाइएको छ ।

राष्ट्रिय परिषद्को हवाला दिई पत्राचार गरेका विषयमा पटक-पटक लिखित जवाफ पेश गर्न समय प्रदान गर्दा अटेर गरेकाले भट्टराईलाई निलम्बन गरिएको जनाइएको छ ।

निर्देशक नियुक्तिबारे नै बेखबर मन्त्रालय

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको नेपाल स्काउटको निर्देशक विवादबारे मन्त्रालय नै बेखबर छन् । मन्त्री तेजुलाल चौधरीले निर्देशक नियुक्ति गरेको हुनसक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

मन्त्रालयका उपसचिव लेखनाथ न्यौपानेले आफूलाई स्काउटमा नियुक्त गरेको विषयमा जानकारी नै नभएको बताए ।

उनले भने, ‘मन्त्रीज्यूको सचिवालयलाई थाहा होला, हामीलाई नियुक्ति र विवादको विषयमा थाहा छैन । सचिवालयसँग कुरा गर्नुस् न, उहाँहरुले नै मिलाउनुहोला विवाद पनि ।’

उपसचिव न्यौपानेले स्काउटको विवादको बारेमा जानकारी नभएको र मिलाउने जिम्मा पनि नभएको भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *