पठनपाठनमै रमाइरहेकी मन्त्राणी शिक्षिका – Nepal Press

पठनपाठनमै रमाइरहेकी मन्त्राणी शिक्षिका

सरिता हुमागाईं भन्छिन्- श्रीमानको मन्त्री पद अस्थायी हो, मेरो शिक्षण पेशा स्थायी

काठमाडाैं । प्रसंग हो गत पुस १३ गतेको । काठमाडौंस्थित दशरथ रंगशालामा हजारौं युवायुवतीको खचाखच भीड थियो । सबैका अनुहार उत्साह र उमंगले भरिएका थिए । अवसर थियो, त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह ।

विद्यार्थीहरुले वर्षौंदेखि अहर्निष संघर्षको प्रतिफलस्वरूप प्राप्त गरेका स्नातक र त्यसउपरका विभिन्न तहगत शैक्षिक उपलब्धिलाई सार्वजनिक ‘शो अप’ साथै ‘सेलिब्रेट’ गर्ने सुखद क्षण थियो त्यो । त्रिभुवन विश्वविद्यालयका ७४ हजार १४९ विद्यार्थी यस वर्ष दीक्षित हुँदै थिए । तीमध्ये सशरीर उपस्थित भई सो अवसरलाई प्रत्यक्ष अनुभूत गर्न पाउने भाग्यमानी विद्यार्थीहरुको संख्या थियो १४ हजार ३०८ । उनीहरूका अभिभावकहरुको समेत संख्या जोड्दा झण्डै ३० हजार उत्साहित अनुहार उपस्थित थिए सो दीक्षान्त समारोहमा ।

यो भीडमा मिसिएकी एक पृथक अनुहार थिइन् सरिता हुमागाईं । उनलाई चिन्ने जान्नेहरुका निम्ति उनी भीडमै भएर पनि भीडभन्दा भिन्न थिइन् ।

सरिता हुमागाईंका लागि दीक्षान्त समारोहमा सहभागिता कुनै नौलो प्रसंग थिएन । केही वर्ष पहिले नै उनी स्नातक र स्नातकोत्तर उपाधिको निम्ति आयोजित प्राज्ञिक प्राधिकारको परेडमा दुई पटक सहभागी भइसकेकी थिइन् । यस पटक भने उनी लाइब्रेरी साइन्समा स्नातकोत्तर उपाधि प्राप्तिको पंक्तिमा उभिएकी हुन् । त्यसैले उनको निम्ति त्यो दीक्षान्तको ह्याट्रिक थियो । हाल पीएचडी गर्दै गरेकी हुमागाईंका निम्ति केही वर्षपछि ग्रहण गर्ने विद्यावारिधि अर्थात् पीएचडी उपाधिका निम्ति उभिने ‘वार्म-अप’ पनि थियो त्यो ।

तथापि सरिताको उपस्थितिलाई यस पटक विशेष बनाउने ‘एक्स फ्याक्टर’ भने अर्कै छ । संघीय सरकारको बहालवाला मन्त्रीकी पत्नी विद्यार्थीको रूपमा दीक्षान्त ग्रहण गर्दै थिइन् । उनको शैक्षिक र पेशागत जीवनको निम्ति अघिल्ला दुई दीक्षान्त समारोहका आआफ्नै महत्व थिए, तर यस पटकको दीक्षान्तमा भने उनले बेग्लै रोमाञ्चकता र केही असहजता अनुभव गरिरहेकी थिइन् । कोही कोही परिचितले सँगै सेल्फी लिन गरेको आग्रहबाट उनी स्वयम् मुग्ध पनि देखिइन् ।

को हुन् सरिता हुमागाईं ?

सरिता हुमागाईं पेशाले एक शिक्षिका हुन् । काठमाडौंको नक्सालस्थित नन्दी रात्री माध्यमिक विद्यालयमा स्थायी अध्यापक छिन् उनी । दिनभरि विभिन्न काममा व्यस्त हुन बाध्य र बाल्यकालमा विद्यालय अध्ययनको अवसर गुमाएका साना-ठूला सबै उमेर समूहका विद्यार्थीहरुकी प्रिय शिक्षक हुन् सरिता । उनी एक असल अध्यापकका अतिरिक्त मेहनती विद्यार्थी पनि रहेको बताउँछन् सोही विद्यालयका प्रधानाध्यापक राजेश हुमागाईं ।

उनी भन्छन्, ‘सरिता हुमागाईं मिसको सिनियर सहकर्मी भएर काम गरेको झण्डै २५ वर्ष भयो । यस अवधिमा मैले उहाँलाई एक मेहनती र मिलनसार शिक्षकको रूपमा पाएको छु ।’

रात्री माविकै सहायक प्रधानाध्यापक शिव सिवाकोटी भन्छन्, ‘उहाँ अध्यापनमा त अब्बल हुनुहुन्छ नै, विद्यार्थीहरुसँग निरन्तर सम्पर्कमा रहने, उनीहरूसँग घुलमिल हुने र उनीहरूको विभिन्न समस्या समाधानमा क्रियाशील भैरहन रुचाउने शिक्षकको रूपमा पनि चिनिनुहुन्छ ।’

आफू कार्यरत नन्दी रात्री माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा शिक्षकहरुको प्रतिनिधित्वको जिम्मेवारीसमेत पाएकी सरिता हुमागाईं भन्छिन्, ‘नन्दी रात्री माविका सबैजसो विद्यार्थीका आआफ्नै खालका विशेष समस्या छन् । उनीहरू बिहान र दिउँसोको समयमा अन्तै कतै काम गर्छन् । साँझको समयमा विद्यालय आउँछन् । पढाइमा धेरै समय दिन नसकेकाले उनीहरूमा आत्मविश्वासको अभाव देखिन्छ ।’

उनीहरूले भोगेका मनोवैज्ञानिकलगायतका समस्याहरुलाई गहिरिएर बुझ्न र तिनको समाधानका लागि आफू उनीहरूसँग घुलमिल हुने गरेको बताउँछिन् सरिता ।

उनी थप्छिन्, ‘त्यसको आधारमा उनीहरूको समस्यालाई व्यक्तिगत र विद्यालयको स्तरबाट समाधान गर्ने प्रयास गर्ने गरेको छु ।’

उनले आफ्नो व्यक्तिगत, सहकर्मी शिक्षकहरुसँगको सहकार्य र समाजका अन्य दातामार्फत त्यस्ता समस्यामा परेका थुप्रै विद्यार्थीलाई सहयोग गर्न सकेको पनि बताइन् ।

शिक्षक प्रतिनिधिको रूपमा विद्यार्थीहरुलाई गरिरहेको सहयोग सम्बन्धमा उनले भनिन्, ‘विद्यार्थीहरुको शिक्षण इतरका समस्या समाधानमा विद्यालय व्यवस्थापन समितिको तर्फबाट पनि सम्बोधन गराउने मेरो प्रयत्न रहने गरेको छ ।’

प्रधानाध्यापक राजेश हुमागाईं भन्छन्, ‘सरिता मिसले विद्यार्थीहरुका भावना अनुकूल नन्दी रात्री माविको गरिमा बढाउनमा ठूलो सहयोग गर्नुभएको छ ।’

विद्यार्थी क्लबका अध्यक्ष नरेश बुढाथोकी भन्छन्, ‘सरिता हुमागाईं मिसले अत्यन्तै मेहनत गरेर पढाउनुहुने र सबैखाले विद्यार्थीसँग घुलमिल भएर विशेष माया दर्शाउने कारण उहाँप्रति आमविद्यार्थीको उच्च सम्मान रहेकोे छ ।’

निकट विगतदेखि सरिता हुमागाईंको नामसँग जोडिएको अर्को पहिचान हो- मन्त्रीपत्नी वा मन्त्राणी । उनी नेपालको संघीय सरकारका पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेकी धर्मपत्नी हुन् । नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका मन्त्री पाण्डेको नामसँग जोडिएर बनेको पहिचानप्रति उनी गर्व गर्छिन्, तर पछिल्लो पटकको यस पहिचानलाई अस्थायी मान्छिन् ।

‘तत्कालीन अवस्थामा वाल्मीकि क्याम्पसका छात्र नेता बद्रीप्रसाद पाण्डेसँगको परिचयले दिएको परिचयमार्फत थपिएको हो वर्तमानको पहिचान, जुन स्वयम्मा स्थायी छैन’, उनी तर्क गर्छिन्, ‘स्थायी त मैले परिवार, पेशा र समाजमा पूरा गर्नुपर्ने कर्तव्य र जिम्मेवारीहरु छन् । त्यसैले मैले वर्तमानमा मेरा पतिको कारणले प्राप्त भएको पहिचानप्रति गर्व गर्दै आफ्नो पेशा र पारिवारिक एवम् सामाजिक दायित्व र जिम्मेवारीलाई बढी महत्व दिएको छु ।’

प्रतिबद्धता र व्यवहार

सरिता हुमागाईंले आफ्नो प्रतिबद्धतालाई यथार्थमा पनि आकार दिएको देखिन्छ । मन्त्रीपत्नीको पहिचानपश्चात् पनि आफ्नो पेशागत जिम्मेवारीप्रति उनी पहिले जसरी नै दृढ रहेको बताउँछन् हुमागाईंका सहकर्मीहरु ।

उनले आफ्नो शिक्षण पेशाप्रति प्रदर्शन गरेको जिम्मेवारीपन गत असार ३१ गते देखिएको बताउँछन् सहकर्मी शिक्षक अमृत थापा मगर ।

बेलीविस्तार लगाउँदै उनी थप्छन्, ‘गत असार ३१ गते उनका पति बाजुराका प्रतिनिधिसभा सदस्य बद्रीप्रसाद पाण्डे नेपाल सरकारको पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्रीमा नियुक्त भए । त्यही दिन उनले शपथ पनि लिए र मन्त्रालयमा पदभारसमेत ग्रहण गरे । त्यस साँझ स्वाभाविक रूपमा उनीहरुको निवासमा शुभेच्छुकहरुको घुइँचो थियो । नवनियुक्त मन्त्रीज्यूलाई बधाई दिन पुष्पगुच्छासहितका शुभेच्छुकहरू उनको आँगनमा आइपुगेका थिए । भ्याएसम्म आगन्तुकहरुको स्वागत गरेर सरिता मिस निर्धारित समयमै आफ्नो कार्यथलो नन्दी रात्री मावि नक्साल पुग्नुभयो ।’

प्रअ राजेश हुमागाईं पनि यसमा सहमत छन् । विद्यालयको हाजिरी पुस्तिकाले पनि सरिताको प्रतिबद्धतालाई पुष्टि गरेको उनी बताउँछन् ।

हुमागाईं भन्छन्, ‘सरिता मिसले मन्त्रीपत्नी भएर पनि विद्यालय र विद्यार्थीप्रतिको आफ्नो जिम्मेवारीलाई उच्च महत्व दिनुभएको छ । जुन उदाहरणीय छ ।’

नाम उल्लेख नगर्ने सर्तमा सरिता हुमागाईंका एक सहकर्मीले भने, ‘मैले सरिता मिसलाई मन्त्रीपत्नीको रूपमा व्यस्त रहनुपर्ने कारण काजमा बिदा बस्ने सल्लाह दिएको थिएँ, तर त्यो सल्लाह उहाँले अस्वीकार गरेर नियमित विद्यालय आउनुभएको छ ।’

त्यसको पुष्टि गर्दै सरिता भन्छिन्, ‘मलाई मेरै सहकर्मीहरुले काजमा घर बस्ने सल्लाह दिनुभएको थियो, तर त्यो कार्य मैले आफ्नो नैतिक विरासत र पेशाप्रति वफादारीको विरुद्ध हुने ठानेर नियमित विद्यालय आउने गरेको छु ।’

पारिवारिक पृष्ठभूमि र पतिको राजनीति

काभ्रे कुशादेवीका कट्टर कांग्रेसी शिवप्रसाद हुमागाईंकी नातिनी र विष्णुप्रसाद हुमागाईंकी तीन वटी छोरीमध्ये कान्छी हुन् सरिता । हुनेखाने थिए पिता विष्णुप्रसाद । पनौतीमा एक पसल र बोर्डिङ स्कुल सञ्चालन गर्दै तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्धमा सक्रिय थिए ।

सरिताले कुशादेवीकै स्कुलमा प्रारम्भिक तहको अध्ययन गरिन् । २०४६ सालको जनआन्दोलनकै समयमा थप शिक्षाको लागि विष्णुप्रसादले छोरी सरितालाई काठमाडौंको नयाँ बानेश्वरस्थित घरमा बसोबासको प्रवन्ध गरे । भानु संस्कृत मावि रानीपोखरीमा कक्षा ६ मा भर्ना गरिदिए, तर त्यसलगत्तै पञ्चायती व्यवस्थाको विरुद्धमा आन्दोलन शुरु हुने भयो ।

कांग्रेसी विष्णुप्रसादले आफू आन्दोलनमा लाग्नुपर्ने र त्यसक्रममा पक्राउ पनि पर्नसक्ने अनुमान गरे । परिणामतः छोरी सरिताले अनेक समस्या झेल्नुपर्ने बुझेर उनलाई काठमाडौंबाट फिर्ता लगी कुशादेवीकै एक विद्यालयमा भर्ना गरिदिए । सरिताले त्यसको दुई वर्षमा उच्च अंकसाथ कक्षा ८ उत्तीर्ण गरेकी थिइन् । पिता विष्णुप्रसाद छोरीले काठमाडौंमै बसेर अध्ययन गरुन् र संस्कृत नै पढून् भन्ने चाहन्थे । त्यसैले उनले सरितालाई फेरि भानु मावि रानीपोखरीमै भर्ना गरिदिए, तर कक्षा ७ मा । सरिताले त्यसमा असहज मानेर आफू कक्षा ९ मा पढ्ने जिद्दी गरिनन्, तर उनको जिद्दीको तुलनामा पिता विष्णुप्रसादको रहर बलियो थियो । त्यही रहरले जित्यो ।

सरिताले कक्षा ७ देखि विधिवत रूपमा संस्कृत अध्ययन गरिन् । पिताजीको रहरको पृष्ठभूमि सरिताले अलि पछि मात्रै थाहा पाइन् । त्यसले सरिताको जीवन दृष्टि झन् फराकिलो बनायो ।

उनी भन्छिन्, ‘पिताजी संस्कृत अध्ययनले व्यक्तिमा आत्मविश्वास र कर्तव्यबोध बलियो बनाउने र जीवनलाई सार्थक ढंगले जिउन एक उच्चतम दृष्टिकोण विकसित गराउने कुरामा गहिरो विश्वास गर्नुहुँदो रहेछ । त्यसैले उहाँले मलाई संस्कृत पढाउन बल गर्नुभएको रहेछ ।’

सरिताका पिता विष्णुप्रसादले दुई छोरा प्रदीप र प्रकाशलाई माध्यमिक शिक्षा अध्ययनका लागि भारतको केरला पठाएका थिए ।

उच्च शिक्षाको क्रममा वाल्मीकि विद्यापीठ क्याम्पसमा नेपाल विद्यार्थी संघका प्रतिनिधिको रूपमा स्ववियु सभापतिमा बद्रीप्रसाद पाण्डे र सदस्यमा सरिता हुमागाईं निर्वाचित भएर सँगै काम गरेका थिए । त्यस क्रममा पाण्डेप्रति आकर्षित भएकी थिइन् सरिता । सञ्चारकर्मी काका लक्ष्मण हुमागाईं र काकी रोजी हुमागाईंको पहलमा २०५६ फागुन १३ गते उनै बद्री पाण्डेको पत्नी बनिन् ।

श्रीमानबारे सरिता भन्छिन्, ‘उहाँले साधारण जीवन शैलीमा बसेर समाजको निम्ति असाधारण काम गर्न सकिन्छ, केवल मनस्थिति बलियो बनाउनुपर्छ भन्दै मलाई उत्प्रेरित गरिरहनुभयो ।’

राजनीतिमा अरुचि, पठन संस्कृतिमा जोड

 

हजुरबुबा, पिता र पति दुबैतर्फबाट राजनीतिलाई विरासतमा पाएको भए पनि सरितालाई राजनीतिमा पूर्णतः अरुचि छ । विद्यार्थीकालमा भएको स्ववियु सदस्य आफ्नो रुचिले भन्दा महिला उपस्थितिको निम्ति बाध्यात्मक रूपमा आइपरेको दाबी गर्छिन् । अहिले पनि उनी राजनीतिक विषय र विवादमा पर्नै चाहँदिनन् ।

उनी भन्छिन्, ‘राजनीति गर्ने मानिसलाई सम्मान गर्छु, तर आफैंले राजनीति गर्न चाहिँ रुचाउन्न ।’

निःसन्देश उनको रुचि रहेको क्षेत्र हो- अध्ययन अध्यापन र मुलुकभरि पठन संस्कृतिमा जोड । विद्यार्थी वयमा इच्छामुताविक पढ्न नपाएकाले उनी फुर्सद मिलेको अवस्थामा अध्ययन नै गर्न रुचाउँछिन् । सधैं माया, हौसला दिने उज्यालो भविष्यका मार्गदर्शक दूरदराजमा रहेका वृद्ध अवस्थाका सासू-ससुरालाई समय दिन नपाएकोमा दुःख लाग्ने बताउँछिन् ।

राजनीति गर्ने श्रीमान्, एक छोरी र जुम्ल्याहा छोराको पढाइलगायत हेरचाह, घरमा आउने अतिथिलाई अटेन्ड अनि विद्यालयको जागिर एवम् दुबै भाइ विदेश भएकाले वृद्ध मातापिताको रेखदेख जस्ता सबै पक्षको व्यवहारिक व्यवस्थापनको उनको काँधमा छ । यस बावजुद दुई विषयमा स्नातकोत्तर, एक विषयमा एमफिल सकेर हाल एलएलबी र नेपाली विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्दैछिन् सरिता ।

पति मन्त्री भएपछि पनि उनले आफ्नो अध्ययनमा अवरोध आउन दिएकी छैनन् । भन्छिन्, ‘मन्त्रीज्यूलाई भेट्ने उद्देश्यले आउने अतिथिको स्वागतलगायतका काममा दिनभरि व्यस्त हुनुपर्ने भएकाले प्रायःजसो बिहानै ३-४ बजे नै ब्युँझेर अध्ययन गर्न थालिहाल्छु । दिउँसो पनि मौका मिल्नासाथ अध्ययन शुरू गर्छु ।’

अध्ययनको निम्ति श्रीमानको पनि राम्रो साथ पाएको बताउँदै उनी भन्छिन्, ‘म वाल्मीकिको विद्यार्थी छँदा ज्योतिष अध्ययन गर्ने एक मेहनती विद्यार्थी रहेकोे कुरा उहाँलाई थाहा छ । र, उहाँ स्वयं विद्यावारिधि गर्दै गर्नुभएको एक विद्यार्थी रहेकोे हुनाले मलाई पढ्नमा सधैं सहयोग नै गर्नुहुन्छ ।’

सरिता आफ्नो अध्ययन कार्यमा यति धेरै लिप्त हुन्छिन् कि मोबाइलमा फेसबुकसमेत चलाएकी थिइनन् । श्रीमान् मन्त्री बनेपछि मात्रै उनी मोबाइल फेसबुकमा सक्रिय हुन थालिन् । फुर्सदको समयमा उनी मोबाइलमा डाउनलोड गरिएका अध्ययन सामग्रीमा घोत्लिन्छिन्, तर देख्नेलाई उनी सोसल मिडियामा मग्न भए जस्तो लाग्छ ।

आखिर किन अध्ययनमा यति धेरै व्यग्र भन्ने प्रश्नमा उनी दुई कारण देखाउँछिन् । प्रथमतः उनी आफ्नो पीएचडी यथासक्य छिटो सक्न चाहन्छिन् । दोस्रो कारण उनी मुलुकमा पठन संस्कृतिलाई एउटा अभियानको रूपमा अघि बढाउन चाहन्छिन् । उनको बुझाइ के छ भने हाल सबै उमेर समूहका मानिसमा देखापरेको चिड्चिडाहट, डिप्रेसन, एक्लोपन, अल्जाइमर्स, आत्महत्या जस्ता बिकराल समस्यालाई पठन संस्कृतिको विकासमार्फत धेरै कम गर्न सकिन्छ ।’

त्यसका साथै गाउँदेखि शहरसम्म मानिसमा बढ्दै गएको डिजिटल डिपिन्डेन्सीलाई कम गर्दै उनीहरूमा सघन अन्तरक्रियात्मकता, सामाजिकता बढाउन पठन संस्कृतिले बल पुर्‍याउने उनको विश्वास छ । उनको थप विश्वास के छ भने पठन संस्कृतिको विस्तृतीकरणमार्फत हाम्रो मौलिक परम्परागत ज्ञान, संस्कार, संस्कृति, इतिहास र विरासतलाई जीवन्त राख्न र विश्वको विभिन्न जानकारीलाई तथ्यात्मक रूपमा बुझ्न ठूलो सहयोग गर्नेछ ।

पठन संस्कृतिको बढावाको लागि राज्यले नीतिगत सुधार गर्नुपर्ने दलिल छ सरिता हुमागाईंको । श्रीमान स्वयं नै संस्कृतिमन्त्री भएकाले उहाँलाई सल्लाह दिनुभएन भन्ने प्रश्नमा उनी भन्छिन्, ‘नेपाल सरकारले प्रत्येक वडामा सामुदायिक पुस्तकालय स्थापना गरेर त्यहाँका सबै उमेर समूहका मानिसहरूबीच अन्तरक्रिया गर्ने वातावरण तयार गर्नुपर्ने सल्लाह संस्कृतिमन्त्रीज्यूलाई दिएको छु ।’

त्यसमा उहाँको कस्तो प्रतिक्रिया छ त भन्ने अर्को प्रश्नमा उनले पुलकित बन्दै जवाफ दिइन्, ‘यो सल्लाहमा मन्त्रीज्यूले खुशी व्यक्त गर्नुभयो । यसलाई असाध्यै महत्वपूर्ण अभियानको रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । यसको लागि मन्त्रालयले यथासम्भव छिटो कारबाही शुरु गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *