राष्ट्र बैंकले २ अर्ब ५५ करोड मुद्दती निक्षेपमा लगानी गर्ने – Nepal Press

राष्ट्र बैंकले २ अर्ब ५५ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २ अर्ब ५५ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ४ करोड, ‘ख’ वर्गका बैंकले ३८ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १२ करोड ७५ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

बैंकले माघ २ गते साँझ ७ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने लगायत सर्त राखिएको छ ।

खुद तरल सम्पत्ति बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको लगायतका सर्त राखिएको छ । बैंक तथा वित्तीय संस्थाले अन्य थप सर्त राखी प्रस्ताव पेश गर्न पाउने छैनन् ।

यदि थप शर्त राखेर प्रस्ताव भएको अवस्थामा त्यस्तो सर्त मान्य हुने छैन । कोषको रकम लगानी गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिले गरेको निर्णय अन्तिम हुने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *