रवितर्फबाट आज २ जना पूर्वमहान्यायाधिवक्ताले बहस गर्दै – Nepal Press
स्वर्णलक्ष्मी सहकारी प्रकरण

रवितर्फबाट आज २ जना पूर्वमहान्यायाधिवक्ताले बहस गर्दै

काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसम्बद्ध सहकारीको बचत अपचलनसम्बन्धी मुद्दाको थुनछेक बहसमा अहिले सरकारी वकिलको तर्फबाट फणीन्द्र कटुवालले बहस गरिरहेका छन् ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको थुनछेक बहस सुरू भएको हो । इजलासले २ घण्टामा बहस सिध्याउने गरी कानून व्यवसायीहरुलाई आग्रह गरेपछि लामिछानेको तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय सुशीलकुमार पन्त र रमणकुमार श्रेष्ठले मात्रै बहस गर्ने भएका छन् ।

तर, उनीहरू अहिलेसम्म अदालत पुगिसकेका छैनन् । उनको तर्फका वकिलहरू संयोजन गरिरहेका अधिवक्ता यज्ञमणि न्यौपानेले दुवै पूर्वमहान्यायाधिवक्ता अदालतबाट नजिकैको दूरीमा रहेकाले पालो आउनासाथ इजलासमा उपस्थित हुनेछन् । ११ सरकारी वकिल र जाहेरवालाका केही वकिल पनि वकालतनामा पेश गरेका कारण आफूहरूले धेरैलाई बहस गराउन नचाहेको न्यौपानेले बताए ।

‘तर, दुई घण्टामा सकिन्छ्जस्तो लाग्दैन’, उनले भने ।

आज बहस लम्ब्याएर फेरि लामिछानेलाई प्रहरी हिरासत पठाउने चालबाजी नहोला भन्न नसकिने उनले बताए ।

‘जे पनि गर्न सक्छन्, त्यसैले हामी आजै आदेश आउने कुरामा सिरियस छौं’, उनले भने ।

कामपा- १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा रविका विषयमा थुनछेक बहस चलिरहेको हो । उनी आइतबार बयानका निम्ति आफैं अदालतमा उपस्थित भएका थिए ।

बयान सकिए पनि थुनछेक बहस नभएपछि अदालत प्रशासनले उनलाई न्यायिक हिरासतमा पठाएको थियो ।


प्रतिक्रिया

One thought on “रवितर्फबाट आज २ जना पूर्वमहान्यायाधिवक्ताले बहस गर्दै

  1. रवि लामिछानेलेकाे समाचार बाहेक अन्य केही खबरनै पाउँदैनन् कि कसाे पत्रकारहरुले ? दैनिक सबै पत्रिकाले त्यहि बिषयमा लेख्छन् वा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *