एमाले नेता भन्छन्- ठूला नेतासँगको सेल्फी फेसबुकमा राखेको भरमा अब मूल्यांकन हुँदैन
एमालेले कोशी प्रदेशमा सुरू गर्यो ३ महिने 'जरा अभियान'
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले जनताका घरसम्म नेता कार्यकर्ता परिचालन गर्ने गरी ‘जरा अभियान’ सञ्चालन गर्ने भएको छ । माघदेखि चैतसम्म ३ महिना चल्ने अभियान २०८४ मा को चुनाव केन्द्रित हुने नेताहरूले बताएका छन् । सँगै पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न जनस्तरमै परिचालित हुने बताइएको छ ।
प्रदेश कमिटी बैठकले जरा अभियान गर्ने निर्णय गर्दै प्रदेशस्तरीय अभिमुखीकरणसमेत सम्पन्न गरेको छ । कार्यक्रममा कोशी प्रदेश कमिटीका २५७ जना, भूगोलमा रहेका ५६ जना केन्द्रीय नेतृत्व, १४ वटै जिल्लाका पदाधिकारी, जनसंगठनका केन्द्रीय पदाधिकारीसहित ४४५ जनाको सहभागिता थियो ।
आगामी २५ वर्षमा नेपाललाई समृद्ध राष्ट्रि निर्माणका लागि २०८४ र त्यसपछिका हरेक निर्वाचनमा तीनवटै तहमा एमालेको बहुमतको सरकार निर्माण गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको नेकपा (एमाले) संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए ।
अभियानको औचित्य प्रष्ट्याउँदै यस अभियानमा पार्टी सदस्यता विस्तार र सुदृढीकरण गर्ने, बाँकी रहेका स्थानीय अधिवेशनहरु सम्पन्न गर्ने, कमिटी जीवनलाई सुदृढ पार्ने, विकास निर्माण तथा जनसरोकारका काममा पार्टी परिचालन गर्ने, किसान, मजदुर, विद्यार्थी, भूमिहीन, सुकुमबासी, महिलालगायतका समस्यासँग जनसंगठनलाई जोड्नेलगायतका काममा पार्टीलाई परिचालन गर्ने विषय प्रस्तोता अधिकारीले बताए ।
त्यस्तै नेता कार्यकर्तामाझ प्रशिक्षण सञ्चालन गर्ने, पार्टी र नेताविरुद्धका साइवर हमलाको संगठित प्रतिवाद गर्ने, युवा नेतृत्व विकासका लागि आधार निर्माण गर्दै लैजाने काम अभियानमा गरिने जनाइएको छ ।
अभिमुखीकरणमा पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले ठूला नेतालाई भेटेर सेल्फी खिचेर सामाजिक सञ्जालमा हालेर दुनियाँलाई देखाएको भरमा अब पार्टी कामको मूल्यांकन नहुने बताए । संगठनात्मक सिद्धान्तअनुसार पिरामिड आकारको संरचनामा बनाउन आवश्यक रहेको जानकारी दिए ।
कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायतले अनुशिक्षण गरेका थिए ।
पार्टी केन्द्रीय कमिटीका उपाध्यक्ष गुरु बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रको अध्यक्षता पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सञ्चालन सचिव राजकुमार भण्डारी र स्वागत मन्तव्य उपाध्यक्ष टिकाराम चेम्जोङले गरेका थिए ।