फेरि नेपाल आइपुगिन् देवी प्रतिभा
काठमाडौं । कथावाचिका देवी प्रतिभा नेपाल आइपुगेकी छिन् । मंगलबारबाट सुरू हुन लागेको देवघाट महामहोत्सवका लागि उनी आएकी हुन् ।
आइतबार भारतबाट हिँडेकी उनी १५ जनाको सदस्यसहित नेपाल आइपुगेको आयोजक कमिटीका सदस्य नारायण भण्डारीले जानकारी दिए । देवी प्रतिभाले सोमबार दिउँसो भरतपुर महानगरपालिका-१ को ठिमुरा रिसोर्टमा प्रेस मिट आयोजना गर्ने बताइएको छ ।
‘प्यार से बोलो ना’ थेगोमार्फत चर्चामा पुगेकी उनी १० दिनसम्म नेपालमा नै बस्ने कार्यक्रम छ । यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेकी थिइन् ।
देवघाट महामहोत्सवमा देवी प्रतिभाका अलावा ईश्वरकृष्ण महाराजजी, ओमप्रकाश गुरु, यशोदा कौडिन्य र अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
महामहोत्सवबाट उठेको सहयोग रकम निर्माणाधीन मातापिता सेवा आश्रमका लागि खर्च गरिने बताइएको छ ।
माघ महिनाघर चल्ने मकर स्नान माघ महामहोत्सकको अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै विश्वकै नमूना मन्दिर देवघाट दिव्य धाम मन्दिरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ ।