लुम्बिनीमा माघीको रौनक : बडघर र ककन्दार चुन्दै थारू समुदाय
रुपन्देही । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायमा आज माघी पर्वको चहलपहल सुरू भएको छ । थारू समुदायको प्रमुख पर्व माघी (माघ) पुस मसान्तदेखि सुरु भई एक सातासम्म विविध कार्यक्रमसहित उल्लासमय ढंगले मनाइन्छ ।
नयाँ वर्षको स्वागत, पुरानो वर्षको समीक्षा र आगामी योजनाहरूको निर्माण गर्ने यस पर्वले सामाजिक, सांस्कृतिक र आर्थिक महत्व बोकेको छ । थारू समुदायले माघलाई सांस्कृतिक र सामूहिक उत्सवको रूपमा मनाउँदै आएको छ ।
नयाँ वर्ष, सबै नातापाताबीचको भेटघाट, नयाँ कामको शुभारम्भ पुरानो वर्षको समीक्षासहित समुदायमै खुसीयाली साटासाट गरेर यो पर्व मनाइन्छ । पुस मसान्तदेखि यो पर्व मनाइने भए पनि पश्चिम तराईका विभिन्न स्थानमा केही दिनयता यसलाई विभिन्न कार्यक्रम गरेर मनाउन सुरु गरिएको छ ।
लुम्बिनी प्रदेशका थारु बाहुल्य क्षेत्र दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, बाँके र बर्दियामा यो पर्व विशेष रुपमा मनाइन्छ । खानपिन, खुसीयाली साटासाटसँगै साँस्कृतिक पर्वका रुपमा यसलाई यो समुदायले मुख्य पर्वको रुपमा मनाउने थारु पत्रकार समाजका निवर्तमान केन्द्रीय अध्यक्ष सन्तोष दहित बताउँछन् ।
माघीको सांस्कृतिक महत्व र गीत-संगीत
माघ पर्वले सामूहिक मेलमिलापको अवसर प्रदान गर्छ । पुस मसान्तदेखि थारू वस्तीहरूमा माघ विशेष गीतहरू- ‘मघौटा’, ‘ढमार’, र ‘ढुम्रु’ गुञ्जिन थाल्छन् । यी गीतहरूले माघ पर्वको आगमनको संकेतमात्र गर्दैनन्, विगतका पीडाहरू भुलाउँदै साथीभाइ र इष्टमित्रबीचको सम्बन्धलाई प्रगाढ बनाउँछन् । समयसँगै गाउँमा गरिने नाचगान अहिले मञ्चीय कार्यक्रम र विदेशमा बस्ने थारू समुदायले मनाउने महोत्सवमा केन्द्रित भएको छ ।
मूलतः पश्चिमी थारू समुदायमा यो पर्वलाई ‘माघ’ भनिन्छ, तर पछिल्लो समय ‘माघी’ शब्दको प्रयोग बढेको छ, जसले पर्वको लोकप्रियतालाई व्यापक बनाएको छ । थारू जातिका जानकारहरूका अनुसार यो शब्द काठमाडौं उपत्यकामा आयोजना गरिएका कार्यक्रममा सुरु भएको हो । माघ पर्व थारू समुदायमा नयाँ वर्ष र आर्थिक वर्षको रूपमा मानिन्छ । यस अवसरमा नयाँ रीति-नीति बनाउने, घर-गाउँको अगुवा चयन गर्ने र सामूहिक सुख-दुःख साटासाट गर्ने परम्परा रहेको छ ।
माघे सङ्क्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गर्ने र नुहाउने बेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छोड्ने गरिन्छ । त्यसपछि नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्ट्याइएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्ट्याउने प्रचलन छ । त्यसपछि घरमा भएका पुर्खा तथा आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने परम्परा रहिआएको छ ।
तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकैका बजारमा जाने परम्परा रहेको छ ।
थारू समुदाय बसोबास गर्ने गाउँ, बस्ती अहिले माघीमय भएका छन् । यतिमात्र नभएर थारू जातिको परम्परा, लोक संस्कृति झल्कने मघौटा नाच, लोक गीतसँगै डफ र मादलको आवाज पनि गाउँघरमा गुञ्जिन थालेको छ ।
माघको तयारी र मनाउने शैली
माघको तयारी पुसको अन्त्यतिर नै सुरु हुन्छ । पात टिप्ने, दाउरा ल्याउने, जाँड-रक्सी पार्ने र माछा मार्न कुलो चिनो राख्ने जस्ता काम सम्पन्न गरिन्छ । पुस मसान्तको दिनलाई ‘सुवर मर्ना’ भनिन्छ । यस दिन माछा मार्ने र सुँगुर काट्ने चलन छ । साँझ ‘ढमार’ गीत गाउँदै माघको प्रारम्भ हुन्छ । गाउँभरिका मानिसहरूले मादल र डफ बजाएर मनोरञ्जन गर्छन् ।
माघ १ गतेको दिन माघे स्नान, जलदेवीलाई पुज्ने, नयाँ कपडा लगाउने र ‘निस्राउ’ (चामल, मासको दाल, नुन) निकालेर आशीर्वाद लिने परम्परा रहिआएको छ । ढिक्री, सुँगुरको मासु र अन्डीको जाँड विशेष परिकारका रूपमा तयार गरिन्छ ।
माघ २ गतेको दिनलाई खिच्रहवा ‘खिच्रहवा’ भनिन्छ, जसमा मासको दाल र चामल मिसाएर खिचडी पकाइन्छ । यो दिन जमिनदार र रैतीबीच छलफल गरेर वर्षभरिका कामको समीक्षा र नयाँ सम्झौताहरू गरिन्छ ।
माघ ३ गतेको तेस्रो दिन ‘भुराखेल’ अर्थात् गाउँको भेला हुन्छ । यस अवसरमा गाउँको अगुवा (बरघर, ककन्दार) चयन गरिन्छ । बैठकमा विकासका कामहरूको समीक्षा, नयाँ नियमको निर्माण र दण्ड-जरिवानासम्बन्धी निर्णयहरू गरिन्छ ।
माघ पर्वका स्वास्थ्य र सांस्कृतिक पक्षहरू
माघे स्नानले स्वच्छता र स्वास्थ्य सुधार गर्छ । पुराना कपडा फेर्ने, तीलको आगो ताप्ने र जलदेवीसँग दुःख-सुख बाँड्ने चलनले मानिसहरूलाई शारीरिक र मानसिक स्फुर्ति प्रदान गर्छ ।
पहिले घरघरमा मनाइने माघ अब शहर र विदेशमा पनि मञ्चीय कार्यक्रमका रूपमा मनाउन थालिएको छ । बालबालिकाले घरघरमा ढिक्री माग्ने परम्परा घट्दै गएको छ । गाउँमा ‘ढमार’ गाउने चलन पनि कम भएको छ ।
बाबाकी सगर गैनु हाँ, मुरिया लहाने
सखि ए हो, सेंडुर छुटल पानीघाट, सखि ए हो ! …….
केही दिनयता थारू वस्तीहरूमा यी र यस्तै गीतहरू सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघ पर्वमा मघौटा, ढमार र ढुम्रु विशेष गीतको रूपमा लिइन्छ । माथिको गीतले माघ आगमनको संकेत गर्छ र मनभित्र गुम्सिएर रहेका पीडाहरूलाई पनि बिर्साउँछ । अनि धेरै दिनदेखि छुट्टिएर बसेका साथी, भाइ, इष्टमित्रहरूसँग भेटघाटमा जोडिदिएको अनुभूत गराउँछ । यसरी सद्भावपूर्ण महत्वका साथ गाइने यस गीतले माघको वास्तविक सांस्कृतिक झल्को पनि दिन्छ । समयसँगै अहिले माघ मनाउने शैली फेरिँदै गएको छ ।
त्यसो त माघ पर्वलाई ठाउँअनुसार थारु समुदायले माघ, खिचरा, तिला संकराइत भन्ने गरिन्छ । मगर समुदायले माघे सकराती र अन्य समुदायहरूले माघे संक्रान्ति अथवा मकर संक्रान्ति भन्ने गर्छन् ।
थारू समुदायमा यसलाई नयाँ वर्षको रूपमा मान्ने गर्छन् । कसैले यस पर्वलाई आर्थिक वर्षको रूपमा पनि लिने गर्छन् । जसले जे भने पनि माघ पर्व थारु समुदायको मौलिक पर्व हो र यसलाई नयाँ वर्ष र आर्थिक वर्षको रूपमा लिने गरिन्छ । केही वर्ष पहिले अथवा कमैयाँ, कम्लहरीहरू मुक्त हुनुभन्दा पहिले हलिया, मुक्त कमैयाहरू विशेष छुट्टी पाउँथे भने रैती या अन्य व्यक्तिहरूले केही समयको लागि छुट्टी पाउँथे ।
यसरी कामबाट मुक्त भएर अथवा स्वतन्त्र रूपमा मनाइने भएकाले यसलाई मुक्ति दिवसको रूपमा पनि लिने गरिन्थ्यो । यस अवसरमा नयाँ रीति-थिति, नयाँ गणनेता र नीति-नियम निर्माण हुने गर्छ । गाउँको अगुवा ककन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने, लेनदेन घरसल्लाहलगायतका छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षको रूपमा पनि लिइने थारु अगुवा तुलसी चौधरी बताउँछन् ।
उनका अनुसार ठाउँ विशेषमा यसको नाम अलग भए पनि पर्वलाई एकै प्रकारले मनाउने गरिन्छ । माघी पर्वकै अवसर पारेर संघीय सरकारले माघ १ र प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिएपछि लुम्बिनीमा दुई दिन सार्वजनिक बिदा हुँदै आएको छ ।
तस्विरहरु सौजन्य: सन्तोष दहित