पुसको चिसो हाइकिङ
४३,७०७ । यो नम्बर मोबाइलमा देखें । यो कसैको फोन नम्बर थिएन । नेताको भोटको नम्बर थिएन । पैसाको अंक पनि थिएन । संसार उलटपुलट पार्ने नम्बर पनि थिएन । यो थियो दिनभर हिँडेको पाइला । किलोमिटरमा गएर हेरे २७.८ देखायो । बाफ रे बाफ ! यत्रो हिँडिएछ झैं लाग्यो । दुःखले हिँडेको भए यो पाइला गणना नै हुने थिएन । सुखले हिँडेकाले मोबाइलमा हेर्ने भइयो भन्ने लाग्यो ।
हामीले भन्ने पैदल यात्रालाई संसारले अहिले हाइकिङ भन्दैछ । यो चर्चित हुँदै गएको छ अहिले । कामविना मनोरञ्जनको लागि हिँड्ने यो हाइकिङ धेरै हिँडियो । आज यसको इतिहास बुझ्न मन लाग्यो । आवश्यकभन्दा बढी मनोरञ्जनको लागि हिँड्नुलाई नै हाइकिङ भनिँदोरहेछ भन्ने चाल पाएँ । यसको सर्वप्रथम प्रयोगमा ल्याउने श्रेय इटालियन कवि पेट्रोकलाई दिइँदोरहेछ । उनलाई बारम्बार पहिलो हाइकरको उदाहरणको रुपमा लिइँदो रहेछ । सन् १३३६ अप्रिल २६ मा भाइ र दुई सेवकको साथमा उनले मनोरञ्जनको लागि माउन्ट भेन्टक्स चढे । जुन १,९१० मिटर अग्लो थियो । सान सेपोल्को नामक भिक्षुलाई चढेको जानकारीस्वरुप लिखित पत्र पठाए । यसपछि नै उनलाई पहिलो हाइकरको रुपमा लिइयो । कतिपयले यो कविको काल्पनिक चढाइ हुनसक्छ भनेका पनि रहेछन् ।
हामी सुखभन्दा बढी दुःख गन्छौं । शब्दहरु त सुखतिर पनि ढल्कने रहेछन् । भारी बोक्ने भरियाहरुले कति हिँडेका हुन्छन् । त्यो गणनामै आउँदैन । राजा, महाराजा र कविहरुभन्दा अघि पनि त हिँडिरहने थिए र रहनेछन्, तर कवि र राजा, महाराजाहरुले शब्दमा बुने र हाइकिङ, ट्रेकिङ शब्द सुखतिर ढल्कियो । बाध्यताको लागि नभई मनोरञ्जनको लागि पहाड चढ्ने, हिँड्ने, घुम्नेहरुलाई हाइकर्स र ट्रेकर भन्न थालियो । संसारभरका राजा, महाराजाहरुले मनोरञ्जनको लागि हिमालपहाड चढे, गरिबले चढेको कुरा कहीँ इतिहासमा आएन । रोमन सम्राट हेड्रियनले १२५० मा ग्रीसबाट फर्कंदा माउन्ट एटेना चढेको भनिन्छ । १४औं शताब्दी, १६औं शताब्दीमा पनि राजाहरुले हिमालपहाड चढेको इतिहास छ ।
ग्रामीण क्षेत्रमा पदयात्रा गर्ने विचार युरोपमा १८औं शताब्दीमा विकसित भयो । १८औं शताब्दीमा युरोपमा आनन्दको लागि हिँडने तरिका विकसित भयो । क्यानडा र संयुक्त राज्यले हाइकिङ शब्द रुचाए । १९औं शताब्दीमा हाइकिङ लोकप्रिय बन्यो । पहिले पदयात्रा गरिबी थियो, अब सौख र धनीको लागि मानिन थाल्यो । कवि विलियम वर्डस्वर्थले फ्रान्स, स्वीट्जरल्यान्ड र जर्मनीको यात्रा सुरु गरेर आफ्नो आत्मकथामा लेखे ।
आवश्यकभन्दा बढी मनोरञ्जनको लागि हिँड्नुलाई नै हाइकिङ भनिँदोरहेछ भन्ने चाल पाएँ । यसको सर्वप्रथम प्रयोगमा ल्याउने श्रेय इटालियन कवि पेट्रोकलाई दिइँदोरहेछ । उनलाई बारम्बार पहिलो हाइकरको उदाहरणको रुपमा लिइँदो रहेछ ।
श्रुति परम्परामा हुर्केको छ हाम्रो समाज । हिजोदेखि नै हाम्रा बावुबाजे, बराजुका कथा लेखिएनन् । हिमालयको छेउमा जन्मेका हाम्रा पुर्खाहरु हिँडेरै त उतिबेला संसारभर पुगे होलान्, तर नलेखेपछि इतिहास मर्दाेरहेछ । मान्छेले आफ्नो कथाको इतिहास लेख्नुपर्दछ । मान्छेको मरणपछि पनि स्मरण हुनुपर्दछ । मान्छे मरे पनि कर्मको कथा मर्नुहुँदैन भनेर घोस्ट राइटिङ नेपालको यात्रा हुँदै लेखनकुञ्जमा आइपुगेको छु । मेरो पनि यात्रा नै हो यो । मान्छेहरु भेट्दै किताब लेख्ने यात्रा ! नत्र पदयात्राको इतिहास हाम्रो पूर्वले नै भन्नसक्ने थियो होला । लिखित प्रमाण नभएपछि अहिले १२औं र १३औं शताब्दीबाट हाइकिङ शब्द सुरु भएको मान्न पर्यो । लेखनकुञ्जको कर्ममा यो यात्राले अझ रोचकता र रोमाञ्चकता थपेको छ ।
०००
प्राचीन समयमा मानिसहरु मुख्यतः व्यवहारिक कारणले धार्मिक तीर्थयात्राका लागि हिँड्थे । त्यो लेखिएन, गणना भएन । आज धेरै आधुनिक हाइकर्सले त्यही प्राचीन मार्गहरु अनुसरण गर्दछन् र क्या हिडियो वा ! भन्छन् । प्रकृति र शरीर जोड्ने सरल माध्यम हो हाइकिङ । एउटा झोलामा पानी एक बोतल, बाटोको खाजा, पसिना पुस्ने रुमाल, एक भेस्ट भए हाइकिङ चलि’गो । शारीरिक लाभ र मानसिक शान्ति र मन प्रशन्न पार्न हाइकिङ जाने गरेको छु । आफैंले आफैंलाई दुःख दिँदाको आनन्द खोज्न जाने गरेको छु ।
पुस २७ को चिसोमा तात्न ह्याप्पी हाइकर्स टोलीसँग हाइकिङमा थिएँ । टोलीमा २१ जना थियौं । टोली नेता उहीँ बालसखा राजाराम फुयाँल थियो, जसले यो टोलीको नेतृत्व गरिरहेको थियो । उसले सामाजिक सञ्जालमा पोस्ट गरेपछि यो ग्रुपमा मान्छे सलबलाउँछन् । नाम लेख्छन्, फेरि हटाउँछन् । जाने दिन शुक्रबार रातिसम्म पनि घट्ने र बढ्ने भैरहन्छ । ऊलगायत ह्याप्पी हाइकर्सका प्रदीप कँडेल, निराकार श्रेष्ठ, राम श्रेष्ठ टोखा, जसुना श्रेष्ठ, प्रकाश आचार्य, राधिका ढकाल, भोला खनाल धापासी, दीपेन महर्जन, रामेश्वर फैंजू, मनोज प्याकुरेल, नमन फुयाल, बृन्दा चौलागाईं घिमिरे, बाबुकाजी महर्जन, राम थापा, सजिता कटुवाल, हेमन्त ढकाल, तेम्बा शेर्पा, ओमप्रकाश गुरुङ र बद्री अर्याल गरी २१ जना भयौं । सदा झैं सखारै(५ः२०)मा श्रीमती सिर्जनाले उनकै गाडीमा लगेर चप्पल कारखाना छाडिदिइन् । त्यहाँबाट ह्याप्पी हाइकर्सको गाडीले चक्रपथ परिक्रमा गर्दै, मान्छे टिप्दै तीनपाने पुर्याउँदा बिहानको ७ बजेको थियो । त्यहाँ रोटी, तरकारी, एक अण्डा र चिया खाएर लाग्यौं उकालो ।
तीनपाने-इकुडोल-माझखण्ड पदयात्रा थियो । बिहानको चिसो थियो । सूर्य निधारमा आइसकेको थिएन । दृश्यले दृष्टिकोण बदल्छ भन्दै प्रकृतिको छटा हेर्दे सुस्ताउँदै, सुयेल हाल्दै उकालो उक्लियो ।
तीनपानेबाट नयाँ गाउँ हुँदै उक्लियो झाँक्री डाँडा । बाटो नभेटेपछि भालु खोला हुँदै उक्लियो, फेरि ओर्लियो । जताततैबाट हेर्दा पनि भट्टे डाँडाको टावर देखिन्थ्यो । पहिले गएको भट्टे डाँडाले आँखालाई आनन्द दिइरहेको थियो । हिँड्दै जाँदा भैंसे घौबारी हुँदै महाँकाल खोल्सा भन्ने ठाउँ आयो । त्यहाँ कृष्णकुमारी दुलालसँग भेट भयो । उहाँको पसल रहेछ । गाउँको पसल भनेको कमुनिकेशन सेन्टर हो । सब सूचना थाहा हुन्छ । उहाँले नजिकै रहेको महाँकाल देवी माध्यमिक विद्यालयलाई लक्षित गरेर पसल खोल्नुभएको रहेछ । २०१९ सालमा स्थापना गरेको त्यो स्कुलको भवन भव्य थियो । पढ्ने मान्छे हरे रामराम थिए । कृष्णकुमारी आमाले कथा हाल्नुभयो- ‘कक्षा कोठा धेरै भए, पढ्ने मान्छे थोरै भए । सुकुल हुँदा टन्नै मान्छे थिए, डेस्क बेन्च बन्यो, मान्छे छैनन्, गाउँका मान्छे सब काठमाडौं शहर लागे बाबु । त्यसमाथि पनि स्कुलले नै क्यान्टिन राखेपछि मेरो पसल चल्न छाड्यो बा ।’
श्रुति परम्परामा हुर्केको छ हाम्रो समाज । हिजोदेखि नै हाम्रा बावुबाजे, बराजुका कथा लेखिएनन् । हिमालयको छेउमा जन्मेका हाम्रा पुर्खाहरु हिँडेरै त उतिबेला संसारभर पुगे होलान्, तर नलेखेपछि इतिहास मर्दाेरहेछ । मान्छेले आफ्नो कथाको इतिहास लेख्नुपर्दछ ।
गाउँपालिकाले शिक्षाको बारेमा फरक ढंगले सोच्नुपर्ने समय आएको त्यो दृश्यले दृष्टिकोण दियो । गाउँबस्तीमा जहाँ जाउँ, सरकारी स्कुल भव्य बनिरहेका छन् । पढ्ने मान्छे भने सुकेनास लागेको रोगी जस्तै भएको छ । कमिसनको चक्करमा भवन बनिरहेका छन् कि लाग्ने ! मान्छे घटिरहेका छन् । पैसाले भवन बनाउनेभन्दा पनि संस्कार बनाउनेमा लगाउनुपर्ने सोच र सभ्यता गाउँपालिकाहरु, वडाहरुले गर्नसके कत्ति जाती हुन्थ्यो भन्ने लाग्यो । ह्याप्पी हाइकर्सले पहिल्यै बाटो कहिल्यै हेर्दाे रहेनछ । हिँड्दै जाने र बाटो बनाउँदै जाने चलन रहेछ । कता बाटो भन्दै सोध्दै हिँड्दै जाँदा बाटोमा टन्नै भोगटे मलाई खाउँ, मलाई खाउँ भनेर बसेका थिए । साना तर रसिला भोगटे सबैले छोडाउँदै खाँदै गरियो ।
शरीर पनि एक ब्रह्माण्ड हो । हाम्रो शरीरका हरेक अंग विशिष्ट र अनुपम छन् । कुरा कानको गर्न खोजेको ! कान पनि गजब यन्त्र छ बा ! हामी खोला पुगेकै छैनौं, खोला आयो है भन्छ कानले । एकै छिनमा त दुई खोलाको दोभान भेटियो । मकर खोला र ठोस्टे खोलाको पानी एकै ठाउँमा मिसिन आउँदा आएको आवाज रहेछ । पानीको कलकल आवाजसँगै फोटो क्याचक्याच पारियो । खोलापार गर्दै खोलैखोला पहाड उकालो लागियो । खोलाका आवाज सुन्दै हरियाली हेर्दै उकालो हिँड्दा पसिना आइरहेको थियो । बिहान ७ः२६ मा तीनपानेबाट उक्लँदै ओर्लंदै गरेर हिँडेका हामीलाई भोक लागिसकेको थियो ।
अब पालो थियो आफूले लगेको खाजा खाने ! रमाइलो समय हो यो हाइकर्सको । खुला चउरमा पुगिन्छ र पुरानो समयको वनभात जस्तै गरी सबै बसेर लगेको पानी, खाजा, नट्स, फलफूल कसले के ल्याएको छ, सबैले बाँड्दै खाने गर्छन् । सबैले एक अर्काेलाई बाँडेर खाने, मैले यो ल्याएको छु लिनुस् भन्दै बाँडेर खानुको पूर्वीय सौन्दर्य त्यहाँ झल्कन्छ । एक चउरमा बसेर दृश्यपान गर्दै खानपानमा लागियो ११ः२४ मा । प्लास्टिक च्याँतेको सर्याकसुरुक आवाज र खाना खाइरहेको खर्याकखुरुक आवाजले रमाइलो अनभूति भइरहेको थियो । थप रमाइलो भयो राम श्रेष्ठजीले अनुहारभर सनब्लक भनेर श्याम अनुहारलाई श्वेत बनाएको देखेर ! सब उहाँलाई हेर्दै हाँस्ने, उहाँ अरुलाई हेर्दै हाँस्ने भयौं । एक-दुई भिडियो र टिकटक बनाएर हिँड्नु थियो । ह्याप्पी हाइकर्सले बाटो भुलेछ । आएकै बाटो फर्कंदै जानुपर्यो ।
त्यहाँ भएका २१ जना नै कोही कहाँको लिडर, कोही कहाँका छौं । ह्याप्पी हाइकर्सको हेडसर अर्थात लिडर उही प्यारो साथी बालसखा राजाराम थियो । तल उसको गाइडले गरेको फोन उसैलाई थाहै भएन । फोनले गर्दा सब आधा घन्टा जाने र आउनेमा परियो ।
प्राचीन समयमा मानिसहरु मुख्यतः व्यवहारिक कारणले धार्मिक तीर्थयात्राका लागि हिँड्थे । त्यो लेखिएन, गणना भएन । आज धेरै आधुनिक हाइकर्सले त्यही प्राचीन मार्गहरु अनुसरण गर्दछन् र क्या हिडियो वा ! भन्छन् ।
इकुडोल आइसकेको थियो । चारबाजे घिमिरे कुलायन मन्दिर लेखेको देखें । विसं १९८० मा स्थापना गरिएको रहेछ । हामीसँगै गएका घिमिरेहरुले फोटो खिच्नुभयो त्यहाँ । हामी विस्तारै उकालो लाग्यौं । नानुमैंया स्याङ्दान भेटियो । इकुडोल जान लागेको सहकारीमा हामी माझखण्डदेखि आएको भन्नुभयो । उकालो लाग्दै गयौं । मान्छेहरु भेटिदै गए । जंगलमा, सडकमा सबैले सहकारीमा जान लागेको बताउनुभयो । गाउँमा सहकारीको विकास देखेर शहरमा सहकारीको विनाश सम्भिmएँ । नियतले नियति बनाउने रहेछ । गाउँका मान्छेको नियत चोखो छ, उनीहरु सहकारीको मिटिङ भनेर गर्वले हिँडेका छन् । शहरमा सहकारी भन्यो भने राजनीति र सहकारी ठग दुबै देखिने ! इकुडोलको उकालो उक्लिइसकेपछि आयो बेतिनी । एक घन्टा उक्लेपछि अहा ! टन्नै तोरीबारी भेटियो र भेटिए प्रेमबहादुर जिम्बा तामाङ । बागमती गाउँपालिका वेतिनी माझखण्डका जिम्बा साधारण किसान रहेछन् । गाई चार वटा, नौदश वटा बाख्रा, केही कुखुरा पालेर तीन बच्चा हुर्काइरहेका रहेछन् । भन्दैथे- ‘घाँस काट्ने, वस्तु पाल्ने, दुःखी जीवन छ हजुर मेरो ।’
मलाई भन्न मनलाग्यो । कम्तीमा तपाईंलाई खोज्दै अख्तियार आउँदैन । तपाईं भ्रष्टाचारमा संलग्न हुनुहुन्न । झूटो बोल्नुहुन्न आफ्नो कामसँग । खुशी हुनुहुन्छ । मस्त निदाउनु हुन्छ । म आएको ठाउँमा त मान्छेहरु रातभर निदाउँदैनन् । पैसा अगाडि आएपछि सत्य पाँच पाइला पछि पर्दछ । पावर आएपछि पैसा पाँच पाइला पछाडि सर्दछ । तपाईंलाई खाने लगाउने चिन्ता छैन, तपाईं सुखी मान्छे हो, तर भनिनँ ।
छोरासँगै कुरा गर्दा निस्के चन्द्रबहादुर जिम्बा । ८१ वर्षका उनी तगडा रहेछन् । घाँस भारी बोक्ने, दाउरा भारी बोक्ने, खेतीपाती गर्ने उनी आफ्नो बुढी १४ बेत ब्याएको भनेर गर्व गर्दैथे । भन्दैथे- ‘१४ मा पाँचमात्रै बाँच्यो । तीन छोरा र दुई छोरी छान्, छेपारी डाँडा दलबाहादुरको छोरी हो मेरी बुढी, तगडा छ ।’
फुर्तीले बोल्ने उनी आफू दुई माना पीठो आज पनि खाने बताउँदैथे । उनकै तोरीबारीमा फोटो खिचियो र लागियो ठाडो बेतिनीको उकालो । बेतिनीको उकालोले त ज्यानै खायो । हिँड्नै गाह्रो ठाडोको ठाडै । लगभग भट्टे डाँडाको हाराहारीमा थियो त्यो उकालो । उक्लेको उक्लेयै, उक्लेको उक्लेयै गर्दा असिनपसिन भइयो । चोपट्टै गाह्रो भयो । थकाई, भोक र पसिनाले आलस्य छाए पनि हिँड्नुको विकल्प थिएन । समय जुन बेला पनि सुन्दर रहन्छ । जब उकालो क्रस गरियो, आहा भन्ने ठाउँ आयो ।
फराकिलो बागमती नदी बगेको देखियो । शहरमा साँघुरिएको बागमती त्यहाँ मस्त फैलिएको थियो । स्थानीय जीतबहादुर वल बागमती हेर्दै डाँडामा प्रशन्न मुद्रामा थिए । हामीलाई देख्नेबित्तिकै मुस्कुराए । उनले आस्राङ जाने बाटो देखाउँदै थिए । हामीलाई पूर्व हैन पश्चिम जानु थियो ।हामी घर नजिकैबाट बग्ने बागमतीलाई फराकिलो बागमतीमा हेर्दै थियौं । माझखण्डमा पुगेपछि बागमतीले ठूलो आकार लिएको देखेर खुशी लाग्यो ।
नदीको बारेमा चिन्तन गरें । ओहो कति महान रहेछ नदी झैं लाग्यो । पहाडबाट निस्कन्छ नदी, तर नदीले कहिल्यै सोध्दैन समुन्द्र कहाँ पर्छ भनेर । उसले मात्र सिकाउँछ हिँडिराख, हिँडिराख । जति अवरोधका बीच पनि बग्न नछोड, एक दिन गन्तव्य आइहाल्छ । हजारौंहजार वर्षदेखि बगेका नदीका नाममा कविले कति कविता, कथा, उपन्यास लेखे, जुन उसैलाई थाहा छैन । बागमती सभ्यतामा हुर्केका हामी कतिले बागमतीको लागि कति के लेख्यौं, उसलाई थाहै छैन । निरन्तर बगिरहेछ । कसले के भन्यो भनी गुनासो नगरी हिँडिराख्न पनि नदीले त सिकाएछ । नदीले कहिल्यै कसैसँग गुनासो गरेन, बगिराख्यो । जबकि हामी मान्छे कसले के भन्यो भनेर खोज्न थालिहाल्छौं । नदीको विवेक छैन भन्छौं । अनि हामी विवेकशील भएर नदी जत्ति छौं त ? यो प्रश्न आयो र महान नदीलाई प्रणाम गर्दै हामी आयौं माझखण्ड बुद्ध विहार ।
जंगलमा, सडकमा सबैले सहकारीमा जान लागेको बताउनुभयो । गाउँमा सहकारीको विकास देखेर शहरमा सहकारीको विनाश सम्भिmएँ । नियतले नियति बनाउने रहेछ । गाउँका मान्छेको नियत चोखो छ, उनीहरु सहकारीको मिटिङ भनेर गर्वले हिँडेका छन् । शहरमा सहकारी भन्यो भने राजनीति र सहकारी ठग दुबै देखिने !
२०५८ सालमा नयाँ बनेको बागमती गाउँपालिका वडा नं ५ माझखण्ड बुद्ध विहारको प्रख्याति राम्रै छ । थेरवादी संस्कारमा बनेको यो विलकुल नेपाली बुद्ध विहार रहेछ । इकुडोल माझखण्डको यो विहारमा बेला बेलामा साह्रै राम्रा कार्यक्रम हुने रहेछ । यहाँ बुद्धको फोटो मुनि राखेको पञ्चशील फेरि एक पल्ट पढें । लेखिएको थियो- पञ्चशील सभ्य समाजको आधार हो ।
- १) म प्राणी हिंसा नगर्ने शील पालना गर्छु ।
- २) म चोरी नगर्ने शील पालना गर्छु ।
- ३) म व्यभिचार नगर्ने शील पालना गर्छु ।
- ४) म झूटो नबोल्ने शील पालना गर्छु ।
- ५) म जाँड रक्सी, नशालु पदार्थ सेवन नगर्ने शील पालना गर्छु ।
पञ्चशीलमा बसेर फोटो खिचे पनि हामी कतिले पञ्चशील प्रतिदिन पालना गर्दछौं, यो मुख्य कुरा हो । मान्छे हिंसा, चोरी, व्यभिचार, झूटो नबोल्ने, जाँडरक्सी, नशालु पदार्थ सेवन नगर्ने भनिरहे पनि त्यो गरिरहेको छ त ? प्रश्न उठिरह्यो मनमा । कायिक, वाचिक, मानसिक रुपले पनि मान्छेले शील पालना गर्नसक्छ । शरीरले नगरे पनि वचनले र मानसिक रुपमा भित्रभित्रै हामी कत्ति पञ्चशीलको नियम मान्छौं, यो मुख्य कुरा लाग्यो मलाई । पञ्चशीलका तीन शीलमात्रै पनि मान्छेले शरीर, वचन र मनले पालन गर्नसके कत्ति जाति हुन्थ्यो होला मानव जाति भने झैं लाग्यो । धातु विहारबाट फोटो खिचेर बाहिरिँदा ३ः४४ भएको थियो । चिसो हावाले हानेर एकछिनै बसेर फोटो खिची हिँडिहालियो ।
एकै छिन अगाडि बढेपछि भेटियो शारदा शिक्षा सदन माध्यमिक विद्यालय । २०२२ सालमा यो स्कुलमा पढेका मान्छे को कहाँ पुगे होलान् जस्तै लाग्यो । स्कुल भवन भव्य थियो । गाउँमा एक तला त अहिले स्कुल नै हुँदैन । यो पनि तीन तले स्कुल थियो । ४ बजे हामी खाना खाने ठाउँमा पुग्यौं । स्थानीय रस्मिता तामाङ, त्यो गाउँमा बाहिरी मान्छेलाई खाना खुवाउनेमा प्रख्याती रहिछन् । उनले हामी सबैलाई खाना खुवाइन् । स्थानीय चामलको भात, लोकल कुखुरा, लोकल तरकारी, दाल, अचार सबैले मस्तले खाइयो । दिव्यसिंह बम्जनले बुद्ध विहारको बारेमा बताउँछु भने, तर जाडाले भित्रैबाट तातेर बसेका उनले बुद्ध विहारको बारेमा उति बताउन सकेनन् । ल राम्रो भन्दै हामीले बाटो ततायौं ।
यति बेला ४ः४४ भएको थियो । बाटो नराम्रो भएकाले हामी हिँडेर गाडीमा जानुपर्ने थियो । सूर्य लुक्दै थियो । हामी लम्कँदै थियांै । बाटो ओरालैओरालो झर्नुपर्ने रहेछ । अब रात पर्यो । मोबाइलको टर्च बाल्दै ठाडो ओरालो झरियो । ओरालो र अँध्यारोमा बाटो फेरि हरायो । तल गएका हामी माथि उक्लनुपर्ने भयो । सबै हिँडन नसक्ने भइसकेका थियौं । राम श्रेष्ठजीले धन्न ज्यान बचाउनुभयो, खुत्रुक्कै खसेर एक रुखको हाँगो समातेर । नत्र के हुन्थ्यो भन्न सकिन्नथ्यो । खुट्टाले हिँड्न मानिरहेका थिएनन् । बृन्दा चौलागाईं डङ्ग्रङगै दुई पल्ट लडेर हाँसिरहनु भएको थियो । सबै हिँड्न नसक्ने भएका थियौं । वामे सर्दै सर्दै हिँड्दै हामी ७ बजे आइपुग्यौं कलबन । कलकल बगिरहेको खोला नजिकै गाडी थियो । ४० किमि फर्कनुपर्ने थियो । बाटो सानो, धूलो र अँध्यारोले केही देखिँदैनथ्यो ।
कसले के भन्यो भनी गुनासो नगरी हिँडिराख्न पनि नदीले त सिकाएछ । नदीले कहिल्यै कसैसँग गुनासो गरेन, बगिराख्यो । जबकि हामी मान्छे कसले के भन्यो भनेर खोज्न थालिहाल्छौं । नदीको विवेक छैन भन्छौं । अनि हामी विवेकशील भएर नदी जत्ति छौं त ?
भैसे, घैबारी, मकर खोल्सा, माझखण्ड, बसेरी, कलवन, दुरी तय गर्दा लगभग २८ किमि सडक यात्रा भयो । २१ पात्र, २१ प्रवृत्ति र प्रकृतिका कुरा भए । ह्याप्पी हाइकर्सले १८ किमि भने पनि २८ भएर लखतरान भएपछि यो लापरबाही भयो भन्दैथे मान्छेहरु । साँझ पर्दै गएपछि महिला दिदीबहिनीहरुलाई घरबाट फोन आइरहेको थियो । फोनमै घरबाट यति ढिला किन भनिरहेको सुनिन्थ्यो । लामो बाटो भोकै हिँड्दा कुनै दिन कसैलाई साह्रै पर्न सक्छ भन्दै थिए । हिँड्दै जाँदा जहाँ पुगिन्छ पुगिन्छ, के भयो हिँड्ने त हो, दुःखमै रमाइलो मान्ने त हो, तालले हाइकिङ हिँडनु हुँदैन भनिरहेका थिए । अरु हाइकर्सहरुले यसो यसो गर्दछन्, यहाँ यसो भनेर भनिरहेका थिए । कम्तीमा बाटो नहराउने र समयमा खुवाउने र पु¥याउने गर्नुपर्दछ भनिरहेका थिए । कति कुरा जायज थिए, कति अनावश्यक थिए ।
ह्याप्पी हाइकर्समा अरु हाइकर्सले लापरबाही गरेकाले यहाँ आएको भन्दै थिए । यहाँ पनि खन्दै जाने बाटो बनाउँदै जाने हुँदै गयो भनेर भनिरहेका थिए । प्रिय मित्र राजाराम मेरो बालसखाले ग्रुप लिड गरेको देखेर म खुशी छु । दंग छु । हिँडिरहेको छु । हिँडिरहने छु । ह्याप्पी हाइकर्सको सबैभन्दा राम्रो कुरा हरेक हाइक नयाँ हुनु हो । नयाँ भनेको आफैंमा उत्सव हो । उपयुक्त सुझाव लिँदै परिमार्जन गरी उत्सवमय जीवन बनाउन ह्याप्पी हाइकर्सले सहयोग, साथ देओस् मेरो पनि चाहना छ । मुडो काटेर किलो बनाउन ताछ्नै पर्दछ । प्रकृतिले यो सिकाएको छ । केही कुरा ताछ्नै पर्ने रहेछ ह्याप्पी हाइकर्सको । यो बनिसक्यो । यत्रो यात्रा गरिसक्यो । यसको लागि राजारामलाई बधाई दिँदै सुझाव, सल्लाहले सुगन्धित हुन मेरो आग्रह छ । बाल सखालाई अरुले भनेको कानले सुन्न सक्दो रहेनछ । बरु आफैंले भने हुने, अरुले नभने हुने जस्तो लाग्दोरहेछ ।
पुसको चिसो । रातको चिसो । बिहानको चिसो । साथीहरु लडेको देखेर मनमा परेको चिसो । देशको विकासको ताल देखेर मनमा परेको चिसो । देश देखेर दुःखेको चिसो । रात पर्दै जाँदा मान्छेहरुको मनमा परेको चिसो । पुसको अन्तिम हाईकिङ समग्रमा रमाइलो चिसो हाइकिङ भयो । यारहरुसँगको यादगार दिन भयो । सम्झनाको लागि यसलाई चिसो हाइकिङ नामकरण गरे । कलवन आइपुग्दा खाएको खाना सकिँदै थियो । हामी शहर आउन ४० किमि आउनुपर्दथ्यो । आउनेबित्तिकै साँझ ७ः१९ मा गाडीमा बस्यौं । सानो बाटो र मोडहरुमा गाडी बिस्तारै हिँड्दै थियो । सबै थकित थियौं । चुप थियौं । कोही गाडीमै निदाए । बिहानको जस्तो होहल्ला सुनिएन ।
सम्झें, विहान शहरबाट गाउँ जाँदै गर्दा पनि मान्छे देखिएन । बेलुका गाउँबाट शहर आउँदै गर्दा पनि मान्छे देखिएन । लाग्यो, आँखा भएर त देखिने भए त ती हिँडिरहेका मान्छे सबै देखिन्थे । आँखा त छ नि ! यी मान्छेहरु हिँडेका किन देखिएनन् ? आँखाले हैन उज्यालोले पो मान्छे देखिने रहेछ । जीवनमा उज्यालो कति महत्वपूर्ण रहेछ भन्ने लाग्यो । हामी सबै उज्यालोको खोजीमा यो पृथ्वीमा छौं । कतिले भेट्छौं । कतिले भेट्दैनौं । प्रश्न यही झैं लाग्यो । अँध्यारोको कारण बस कहाँ आइपुगेछ भन्ने हेर्न गुगल म्याप हेर्नुपर्दछ । बसमा परिचितहरुको हल्ला हुन्छ बिहान । अपरिचितहरु चुप बस्छन् । बेलुका अपरिचित सबै परिचित भैसकेका हुन्छन् ।
प्रकृतिका रङ्गहरु हेरेर फर्केपछि मलाई लाग्यो । हाइकिङको मुख्य रङ्ग मान्छेको हाँसो हो । संसारकै सबैभन्दा राम्रो रङ्ग नै हाँसो हो । त्यो रङ्ग लगाउन मान्छे संसारमा कहाँकहाँ कुदिरहेका छन् । आफैंसँग भएको रङ्ग अर्केसँग खोज्दै हामी हिँडिरहेका हुन्छौं । हाइकिङ पनि खुशीको रङ्ग हो । अब फेरि यो खुशीको रङ्ग खोज्दै कहाँ जाने हो ? चरैवेति चरैवेति । उपनिषदले भने झैं जानै पर्दछ । हिँड्नै पर्दछ नदीले भने झैं । हाइकिङले भने झैं ।