‘याेग’ जीवन रुपान्तरणकाे काइदा, यस्ता छन् फाइदै फाइदा – Nepal Press

‘याेग’ जीवन रुपान्तरणकाे काइदा, यस्ता छन् फाइदै फाइदा

घरघरमा बनौं योगी, यसरी रहौं निरोगी

काठमाडौं । नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउँदै आइरहेको छ । वास्तवमा योग दिवस मनाइको व्यापकता भने सन् २०१४ मा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएको भन्दै जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन विश्वसामु आह्वान गरेका थिए । उनको प्रस्तावलाई नेपाललगायत देशले समर्थन गरेसँगै त्यसैको अर्को वर्ष सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन थालियो ।

विसं २०७२ साउन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेसँगै नेपालमा मनाउँदै आइएको छ । हुन त यसअघि २०३६ साल देखि नै उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगमा सरिक रहेकाहरूबाट योग दिवस मनाउन थालिएको थियो ।

एउटा रोचक पक्ष के छ भने विश्वमा नेपाल एउटा यस्तो देश हो जसले एकै वर्षमा दुईवटा योग दिवस मनाउँछ । एउटा राष्ट्रिय र अर्को अन्तर्राष्ट्रिय ।

‘स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने नारासहित यस वर्षको योग दिवस मनाइएको छ । जसमा सरकारका विभिन्न निकायहरूले योगसँग सम्बन्धित विविध कार्यक्रम गरी मनाइएको हो ।

आध्यात्मिक भूमि, तपोभूमिको रूपमा रहेको नेपालमा यसरी दुई पटक योग दिवस नियमित मनाइँदै आएको छ । यद्यपि जीवनशैलीमा रूपान्तरणका लागि दुई पटक कुनै समारोहमा गएर योग मनाउने भन्दा पनि बानी र आफ्नो जिउने कलाको रूपमा योगलाई आत्मसात् गरेको खण्डमा धेरै किसिमका फाइदाहरू हुन्छन् ।

योग अध्यात्मसँग जोडिएको विषय देखिए पनि यो विशुद्ध शारीरिक र मानसिक शुद्धिको सर्वोत्तम साधन हो । महर्षि पतञ्जलिका अनुसार योग भनेको मनको चञ्चलताको शान्ति हो । योगले मनलाई स्थिर राख्नेदेखि खुशी हुने रसायनहरू उत्पादनमा भूमिका खेल्छ । यो भने सांसारिक उपलब्धि हो । योगको नियमित अभ्यासले मानिसको मानसिकदेखि आध्यात्मिक उन्नतिको द्वार समेत उजागर गर्दछ ।

योग गर्नुका फाइदाहरु:

सर्वोत्तम शारीरिक अभ्यास

अन्य प्रायः सबै किसिमका शारीरिक अभ्यास निश्चित उमेर समूह र अवस्थामा मात्रै गर्न सकिने खालका हुन्छन् । विशेष तयारी र आर्थिकरुपमा पनि अलिक भार पर्ने किसिमका हुन्छन् । तर योग यस्तो साधन हो जुन अति सामान्यदेखि अति गाह्रो प्रकारका हुन्छन् । निःशुल्कदेखि सामान्य लगानीले पनि सम्भव हुन्छ ।

जोश, जाँगर, उमेर र शारीरिक तन्दुरुस्ती र बल भएका युवा पङ्क्तिले पनि गर्न सक्छन् भने पाका उमेरका मानिसहरूले पनि सहजै अभ्यास गर्न सक्छन् । तसर्थ यो एक सर्वोत्तम शारीरिक अभ्यास हो । योग गर्नाले शारीरिक र मानिसक स्वास्थ्य सुदृढ हुनुका साथै सकारात्मक सोचको विकास गराउँछ । जेनोडोमा प्रकाशित योग र जीमले शरीरमा पार्ने प्रभावबारेको अध्ययनका अनुसार योगले शारीरिक लचकता, सन्तुलन र तनाव व्यवस्थापनमा भूमिका खेल्ने उल्लेख छ ।

त्यस्तै, सन् २०१३ मा युरोपियन जर्नल अफ क्यान्सर केयरमा प्रकाशित क्रेमरलगायत अनुसन्धानकर्ताको एक अध्ययनले मानिसको सर्वाङ्गीण सुस्वास्थ्य जसमा गुणस्तरीय जीवन, मानसिक स्वास्थ्यदेखि क्यान्सरसम्मका विषयमा योग महत्त्वपूर्ण रहेको देखाएको थियो । त्यस्तै, जर्नल अफ फिजिकल एक्टिभिटी एण्ड हेल्थमा सन् २०१६ मा प्रकाशित अर्को अध्ययनले योगको अभ्यासलाई एउटा पूर्ण अभ्यासको रूपमा चित्रित गरेको जसले तनाव घटाउनेदेखि शारीरिक बनावटमा कार्य गर्छ ।

मानसिक र आध्यात्मिक विकास

योग यस्तो माध्यम हो जसले शारीरिक स्वस्थता प्रदान गर्दै मानिसकरुपमा बलियो बनाउन मद्दत गर्छ । अन्ततोगत्वा आध्यात्मिक चेतनाको स्तर वृद्धिमा समेत भूमिका खेल्छ । इण्डियन जर्नल अफ ट्रडिसनल नलेजमा प्रकाशित टेलेस र सिंह (२०१३) को अनुसन्धानले आत्मजागरण, सचेतना, आत्मिक शान्तिको विकास गर्दै योगको अभ्यासले व्यक्तिलाई उच्च चेतनासँगको सम्बन्ध स्थापित गर्दै आध्यात्मिक विकास गराउने उल्लेख गरेको छ । जर्नल अफ क्लिनिकल साइकोलोजीमा छापिएको लजार लगायतको (२००९) अध्ययनका अनुसार योगले मानिसका मानसिक स्पष्टता र भावनात्मक सुस्वास्थ्यमा वृद्धि गरी आध्यात्मिक विकासका लागि मार्ग खोल्छ ।

शारीरिक प्रणालीलाई सहज बनाउँछ

नियमित योग गर्नाले आन्तरिक शारीरिक प्रक्रिया जस्तै पाचन प्रणाली, रक्त सञ्चार एवम् रोग प्रतिरोधात्मक प्रणालीलाई सहज र मजबुत बनाउँछ । इन्टरनेशन जर्नल अफ योगमा प्रकाशित छाया र नागेन्द्र (२००८)को अध्ययनअनुसार योगको अभ्यासले हाम्रो शारीरिक प्रणालीलाई सहज बनाउँछ । त्यस्तै, भारतमा भएको शर्मालगायत (१९९१) को अनुसन्धानले योगाभ्यासले शरीरमा सुगरको मात्रा घटाउने तथा पाचन प्रणालीलाई सहज बनाउने देखाएको छ ।

खुशी रहन मद्दत गर्छ

मानिसहरूले आजको दुनियाँमा खोजी गर्ने महत्त्वपूर्ण पक्ष भनेकै खुशी हो । जसका लागि विभिन्न आयामहरूले कार्य गरेको हुन्छ । न्यूनतम आधारभूत आवश्यकता पछिका पनि फरक फरक पक्षहरूले भूमिका खेलेको हुन्छ । तर खुशी बाहिर कसैबाट प्राप्त गर्ने विषय होइन । यो आफैँसँग रहेको मस्तिष्कभित्रका सकारात्मक रसायनहरू सक्रिय बनाउँदा प्राप्त हुने विषय हो ।

तसर्थ योगले आफैँभित्र रहेको तिनै मस्तिष्क रसायनहरूलाई सक्रिय बनाउन मद्दत गर्दछ र खुशी रहन सहयोग पुर्‍याउँछ जसका लागि पक्कै पनि पैसा लाग्दैन । योगले स्वास्थ्य रहन मद्दत गर्ने, तनाव व्यवस्थापनमा सहयोग गर्ने, मानसिक अवस्थालाई शान्त बनाउने भएकाले यी विषयले खुशी हुन निश्चित रूपमा सहयोग गर्छन् ।

तसर्थ योगले आफैँभित्र रहेको तिनै मस्तिष्क रसायनहरूलाई सक्रिय बनाउन मद्दत गर्दछ र खुशी रहन सहयोग पुर्‍याउँछ जसका लागि पक्कै पनि पैसा लाग्दैन । योगले स्वास्थ्य रहन मद्दत गर्ने, तनाव व्यवस्थापनमा सहयोग गर्ने, मानसिक अवस्थालाई शान्त बनाउने भएकाले यी विषयले खुशी हुन निश्चित रूपमा सहयोग गर्छन् ।

आत्मविश्वास र सृजनशीलता बढाउँछ

आफूसँग आत्मविश्वास नहुँदा जीवनमा ठूला अवसरबाट वञ्चित हुनुपर्नेदेखि सम्बन्ध टुट्नेसम्मका घटना हुन सक्छन् । रोचक कुरा भने आत्मविश्वास पनि धेरै हदसम्म आफैँभित्र निहित हुन्छ । जसलाई उजागर गर्न योग अभ्यासले कार्य गर्न सक्छ । त्यसका लागि शारीरिक गतिविधिका अभ्याससहित श्वासको अभ्यास प्राणायाम र ध्यान गर्न सकिन्छ ।

त्यस्तै, योग अभ्यास तथा प्राणायाम र ध्यानले मस्तिष्कमा प्रचुर मात्रामा रक्तसञ्चार गराउँछ । जसले गर्दा पर्याप्त अक्सिजन प्रवाह भई मस्तिष्कलाई तरोताजा र सक्रिय बनाउँछ । मस्तिष्कको ऊर्जा चलायमान भएपछि रसायनहरू र न्यूरोनको सञ्जाल सक्रिय हुन्छ । यसरी मस्तिष्कका सम्पूर्ण आन्तरिक प्रणालीमा सकारात्मक परिवर्तन आउनुले मानिसको सृजनशीलतामा नाटकीय वृद्धि हुन थाल्छ ।
जर्नल अफ कग्निटिभ इनहेन्समेन्टमा प्रकाशित कोउत्सुकी र सिआउत्सु (२०२१) को अनुसन्धानअनुसार योग अभ्यासले तनाव घटाएर र स्पष्टता बढाएर मानिसको ज्ञानको लचकता र सोचाइको विविधता सृजनशीलतालाई बढाउँछ ।

एकाग्रता र स्मरण शक्ति बढाउँछ

यस मामिलामा विशेष गरी विद्यार्थीहरूका लागि निकै लाभदायक सिद्ध हुन सक्छ योग । योगको नियमित अभ्यासले व्यक्तिको एकाग्र गर्ने क्षमतामा वृद्धि गर्छ जसले गर्दा विषयवस्तुमा केन्द्रित हुन सजिलो बनाउँछ । अनि जुन विषयमा एकत्रित हुन सकिन्छ त्यो याद गर्न पनि सहज हुन्छ । यसबारेमा पनि निकै अध्ययन भएका छन् । सन् २०१६ मा फ्रन्टियर्स इन साइकोलोजीमा प्रकाशित गोथेलगायतको एक अध्ययनले मस्तिष्कको सम्पूर्ण प्रक्रियालाई सकारात्मक ढंगले बढाएर मानिसको एकाग्र क्षमता र स्मरण शक्ति बढाउने उल्लेख छ ।

त्यस्तै, इन्टरनेशनल जर्नल अफ योग थेरापीमा प्रकाशित रानी र यादव (२०२१) को अनुसन्धानका अनुसार योगले तनाव घटाएर, रिल्याक्सेसन प्रदान गरेर एकाग्रता र स्मरण शक्ति वृद्धि गर्न सहयोग गर्छ । अन्य थुप्रै अनुसन्धान छन् जसमा वृद्धहरूको स्मरण शक्तिमा समेत योग अभ्यासले सकारात्मक परिवर्तन ल्याएको छ ।

मानसिक शान्ति र शारीरिक स्वस्थता कायम राख्छ

अन्ततः योग अभ्यासले थकानलाई विश्राम दिँदै मानसिक शान्ति कायम गराउन भूमिका खेल्छ । यसमा विशेषतः सूक्ष्म व्यायामपछिका श्वासप्रश्वासको अभ्यासले महत्त्वपूर्ण योगदान दिन्छ । त्यस्तै, पेट दुख्ने, ढाड दुख्ने, सामान्य टाउको दुख्ने, नकारात्मक सोच आउने जस्ता जीवनका साधारण समस्याहरूमा योगले सामान्य रहन मद्दत गर्छ ।

जब यस्ता ससाना पक्षहरूमा नियमित योग गर्नाले सकारात्मक भूमिका खेल्छ तब बेग्लै किसिमको मानसिक शान्ति प्राप्त हुन्छ । त्यस्तै, नियमितको अभ्यासले उच्च रक्तचाप, कोलेस्टेरोल, थाइराइड, ग्यास्ट्रिक जस्ता समस्या आउन नदिन समेत भूमिका खेल्छ ।

योग गर्दा ध्यान दिनुपर्ने पक्षहरु:

योग गर्दाका अनगिन्ती फाइदाहरू भए पनि यसका निश्चित विधिहरू हुने गर्छन् । त्यसैले आधिकारिक योग प्रशिक्षकबाट पूर्णरुपमा जानकारी लिएर मात्रै अभ्यास गर्नुपर्छ । अन्यथा उल्टै हानी समेत गर्न सक्छ । त्यसैले कम्तीमा निम्न पक्षलाई ध्यान राखेर योग गर्नुहोला:

– पेट खाली गरेर तर एक दुई गिलास पानी पिएर योग गर्नुपर्छ ।

– शारीरिकरुपमा सफा भएर सकेसम्म नुहाएर योग गर्नु श्रेयष्कर हुन्छ ।

– योगासन र प्राणायाम खाली पेटमा गर्नु पर्छ तर निकै भोक लागेको अवस्था भए हल्का खानेकुरा लिन सकिन्छ ।

– सामान्यरुपमा स्वस्थ हुनुहुन्छ भने आधिकारिक प्रशिक्षकबाट सिकेर जस्तै आसनहरू गर्न सकिन्छ ।

– कुनै पनि किसिमको दीर्घरोग जस्तै उच्च रक्तचाप, मुटु रोग आदि छ भने प्रशिक्षकको निगरानीमा मात्रै गर्नुपर्छ ।

– योग गर्दा बिस्तारै सूक्ष्म व्यायाम हुँदै कठिन आसनको अभ्यास गर्नुपर्छ ।

– सकेसम्म सात्त्विक भोजन लिनु राम्रो मानिन्छ ।

– अलिक खुकुलो किसिमको सहज कपडा लगाउने ।

– स्वच्छ हावा पस्ने कोठा वा प्राकृतिक वातावरणमा गर्न उपयुक्त हुन्छ ।

– आसनअनुसार नै श्वासको गतिलाई मिलाउने ।

– प्रशिक्षकको निर्देशनबाहेक आफैँ श्वास नरोक्ने र नाकबाट मात्र श्वास लिने ।

– धैर्य भएर अभ्यास गर्ने ।

– योगासान पछि शवासन गरेर बिस्तारै प्राणायाम तथा ध्यानको अभ्यास गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *