यातायात व्यवसायीको आक्रोश- भारतीय ओभरलोडका सवारी साधनले नेपाली सडक ध्वस्त,
जरिवाना तिराएर ओभरलोडलाई वैध गराउँदा नेपाली व्यवसायी संकटमा
रुपन्देही । भारतीय ओभरलोड सवारी साधनले नेपाली सडक पूर्वाधारलाई विगतदेखि नै ध्वस्त पार्दै आएको छ। अत्यधिक भारका कारण सडक बिग्रनुका साथै दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ।
यस्तै, भन्सार बिन्दुमा पल्ट्रीको व्यवस्था पूर्णरूपमा कार्यान्वयन नहुँदा नेपाली ट्रक व्यवसायीहरूले व्यवसाय गुमाउनुपरेको र निजी क्षेत्रको करोडौँ लगानी जोखिममा परेको यातायात व्यवसायीहरूले बताएका छन् ।
यस विषयमा जानकारी गराउन सोमबार भैरहवामा लुम्बिनी प्रदेशका यातायात व्यवसायीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेका छन् ।
गत शुक्रवार बुटवल-नारायणगढ सडकको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित विनय खोलाको पुल भारतीय ओभरलोड गाडीले भासिएको थियो। एनएल ०१ एएच ५१७९ नम्बरको भारतीय ट्रकले हेभी जेनेरेटर मेसिन बोकेको अवस्थामा पुलबाट पास गर्ने क्रममा पुल भाँचिएको बताइएको छ।
दुई वर्षअघि सोही सडकको रुपन्देहीको खेरेनीमा रहेको पुल पनि ओभरलोडकै कारण भासिएको थियो।
नवनिर्मित बुटवल-बेलहिया सडकको भैरहवा खण्ड पनि ओभरलोडका कारण धसिएर बिग्रिएको छ। केही समयअघि मात्रै बेलहियादेखि भैरहवाको बुद्धचोकसम्मको सडक पुनर्निर्माण गरिएको थियो।
ओभरलोडबाट नेपाली व्यवसायीलाई ठूलो असर
लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलका अनुसार, भारतीय ओभरलोड सवारी साधनले नेपाली व्यवसायीलाई विस्थापित गर्ने खतरा ल्याएको छ।
ट्रक व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेलका अनुसार, नेपाली सडकको भारवहन क्षमता ४० टन मात्र भए पनि भारतीय सवारी साधनहरूले ९० टनसम्म बोकेर सडकमा दबाब सिर्जना गरिरहेका छन्।
यातायात व्यवस्था ऐनमा भन्सार बिन्दुमै ओभरलोड गाडीहरू रोक्नुपर्ने र भार खनाएर मात्र लैजानुपर्ने व्यवस्था भए पनि कार्यान्वयनमा आएको छैन।
लुम्बिनी प्रदेश यातायात व्यवसायी समितिका संयोजक यम प्रसाद पाण्डेले भन्सार प्रशासन र प्रहरी प्रशासनको उदासीनताका कारण समस्या थप जटिल बनेको बताए।
यस्तो छ व्यवसायीहरूको माग
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले ओभरलोड नियन्त्रण गर्न, कडाइका साथ अनुगमन र कारबाही गर्न, तथा भन्सार बिन्दुमै पल्ट्रीको व्यवस्थालाई कार्यान्वयन गर्न माग गरेका छन्।
यो अभियानमा बाँणगंगा यातायात व्यवसायी समिति कपिलवस्तु, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी संघ दाङ, भेरी ट्रक व्यवसायी संघ नेपालगञ्ज, साना तथा मझौला ढुवानी व्यवसायी समिति बुटवल, रुपन्देहीको ऐक्यवद्धता जनाएका छन्।
भारतीय ओभरलोडका सवारी साधनले नेपाली सडक बिगार्नुका साथै व्यवसायीहरूको पेशालाई संकटमा पारेको भन्दै समस्या समाधानका लागि सरोकारवाला निकायले तत्काल कदम चाल्नुपर्ने उनीहरूको माग छ।
ओभरलोडलाई पूरै निषेध गर सरकार । भारतीयसँग अलिकति खान पाए इमान जमान नै बेच्ने छन् देशमा ।