योग र ध्यान : स्वस्थ समाज र समृद्धिको आधार
बुटवल । आज १० औँ राष्ट्रिय योग दिवस । यद्यपि अन्तर्राष्ट्रिय योग दिवस भने जुन २१ मा मनाइन्छ । सन् २०१५ देखि प्रत्येक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरी अधिकांश सदस्य राष्ट्रले मनाउँदै आएका छन् । भने नेपालले भने माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको हो ।
योगले व्यक्तिगत र सामूहिक स्वास्थ्यका लागि विश्वव्यापी महत्त्व प्राप्त गरिसकेको छ तर, नेपालले भने यसको व्यावसायिक लाभ लिन सकिरहेको छैन । नेपालबाटै सिकेर पछि नेपालीलाई नै सिकाएर नेपालबाटै आम्दानी गर्ने कैयन विदेशीहरू अहिले अन्तर्राष्ट्रिय गुरु बनिरहेको अवस्था छ । नेपाल नै हो योगको उत्पत्ति स्थल योगको उत्पत्ति नेपालबाट भएको ऐतिहासिक मान्यता छ । नेपाललाई प्राचीनकालदेखि नै हिमवत्खण्डका रूपमा चिनिन्छ, जहाँ शिव–पार्वतीले योगको साधना र शिक्षाको आरम्भ गरे। शिवलाई ‘आदिनाथ’ वा ‘योगका आदि गुरु’ पनि मानिन्छ । सप्तऋषिहरूले शिवबाट योग शिक्षा ग्रहण गरेको मान्यता छ । पछि तिनै ऋषिहरुले योगलाई विस्तार गरेको बताइन्छ ।
नेपालको हिमवत्खण्ड क्षेत्रमा तपस्या गर्ने ऋषि–मुनिहरूले हजारौँ वर्षसम्म योगको अभ्यास र अनुसन्धान गरे । खास गरी अगस्त्य ऋषिले योग शिक्षालाई नेपालबाट भारततर्फ विस्तार गरे । यस आधारमा नेपाललाई योगको पहिलो प्रादुर्भाव स्थल मानिन्छ । दक्षिणपूर्वी एसियामा बौद्ध र हिन्दू साधकहरूले योगका सिद्धान्त फैलाएको पाइन्छ । १९औँ शताब्दीमा स्वामी विवेकानन्द जस्ता व्यक्तित्वहरूले योगलाई अमेरिका र युरोपमा प्रवर्द्धन गरेका थिए । संयुक्त राष्ट्रसंघले सन् २०१४ जुन २१ को दिन अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेपछि यो विश्वभर विस्तार भई लोकप्रिय बनिरहेको छ ।
नेपालमा विगत १० वर्षदेखि मात्रै योग दिवस मनाउन थालिएको हो । आजको योग दिवस ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ मनाइँदै छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधता भएको नेपालका लागि योग र ध्यान केवल स्वास्थ्य विधि मात्र होइन, समृद्धि र शान्तिका लागि एक सुनौलो अवसर पनि हो । विश्वको नम्बर वान पत्रिका न्यूयोर्क टाइम्सले विश्वभरका सबैभन्दा राम्रा घुम्ने गन्तव्यको नवौँ नम्बरमा नेपालको लुम्बिनीलाई पनि समावेश गरेको छ । यो लुम्बिनीबासीका लागि मात्रै नभई सारा नेपालीका लागि एउटा सकारात्मक सन्देश हो । यो अवसरलाई सदुपयोग गर्नुपर्ने छ ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई बनाउन सकिन्छ विश्वको ध्यान केन्द्र लुम्बिनी यस्तो ठाउँ हो जसलाई शान्तिको विश्वव्यापी केन्द्र मानिन्छ । यहाँ अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभा हलको समेत निर्माण भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सुरुको कार्यकालमा गरिएको एउटा संकल्प स्वरूप एउटा भव्य र व्यवस्थित संरचनासहितको ध्यान केन्द्र निर्माण भएको हो । यहीँ ध्यान केन्द्रमा बुद्ध जयन्तीका समारोह मनाइँदै आएको छ । अब यहीँ केन्द्रमा विश्वभरबाट बौद्ध अनुयायीमध्येका केहीलाई मात्रै भए पनि ल्याएर ध्यान गर्न सक्ने बनाउने हो भने समृद्धिको आधार साकार बन्ने निश्चित छ ।
नेपालको पर्यटकीय पहिचान सगरमाथा, गौतम बुद्ध र यहाँको सांस्कृतिक सम्पदासँगै योग र ध्यानलाई पनि जोड्न सकिन्छ । ध्यान र योगका लागि उपयुक्त संरचना विकास गर्दै अन्तर्राष्ट्रिय योग प्रशिक्षक उत्पादनमा जोड दिनुपर्ने योगका प्रशिक्षकहरू बताउँछन् ।
व्याप्त निराशालाई कम गर्ने माध्यम हो योग अहिलेको परिवेशमा समाजमा अभाव, बेरोजगारी, महँगीले धेरैजसो घरपरिवारमा समस्या निम्त्याएको छ । मानसिक स्वास्थ्यमा समस्या बढिरहेको छ । मानसिक स्वास्थ्यको समस्या भएकाहरुको ठूलो हिस्सालाई तत्कालै उपचार गर्नुपर्ने मानसिक रोग विशेषज्ञहरूको हालैको अध्ययनले औँल्याएको पनि छ ।
युवाहरूमा व्याप्त नैराश्य, तनाव र मानसिक विक्षिप्तताका समस्या समाधान गर्न योग र ध्यान प्रभावकारी साधन हुन् । यसले मानिसलाई शारीरिक र मानसिक स्वास्थ्य प्रदान गर्दै, आपसी द्वन्द्व र नकारात्मकता कम गरी शान्तिपूर्ण र समावेशी समाज निर्माणमा सहयोग पुर्याउँने योग गुरु ऋषिराम न्यौपानेको दाबी छ । सैनामैनाको मुर्गियाका बासिन्दा न्यौपाने हाल योगका अन्तर्राष्ट्रिय गुरु बनेका छन् ।
उनले नेपालकै अतिरिक्त विभिन्न मुलुकमा पुगेर योग र ध्यान सिकाइरहेका छन् । न्यौपानेले विगत १५ वर्षदेखि योग सिकाउँदै आएका छन् । विगत १० वर्षदेखि विदेशमा समेत गएर हजारौँलाई योग सिकाएर योगका प्रशिक्षक बनाएको लाखौँलाई योग सिकाएको अन्तर्राष्ट्रिय प्रशिक्षक न्यौपानेले बताए । उनले अनलाइनबाट समेत योग सिकाइरहेका छन् । योगले वातावरणीय, भावनात्मक र आत्मिक शान्तिलाई प्रवर्द्धन गर्दै हिंसावाद र विभेदलाई समाप्त गर्न भूमिका खेल्ने उनी दाबी गर्छन् ।
विश्वले २०२५ सम्म स्वास्थ्य र ‘फिटनेस’मा २१५ अर्ब डलर खर्च गर्ने प्रक्षेपणले पनि नेपालका लागि यस क्षेत्रमा लगानी गर्ने उत्तम अवसर देखाएको योग गुरु दीपककुमार अधिकारीको भनाइ छ । नेपालमा भने योगलाई व्यावसायिक बनाउन नसकिएको बताउँदै उनी अवसरहरू खेर गइरहेको दुखेसो गर्छन् ।
नेपालमा योगको प्राचीन परम्परालाई पुनर्जीवित गर्दै विसं. २०३८ सालमा माघ १ लाई योग दिवसका रूपमा मनाउन सुरु गरियो । विसं. २०७२ सालदेखि औपचारिक रूपमा राष्ट्रिय योग दिवस मनाइँदै आएको छ । योग र ध्यानले शारीरिक स्वास्थ्य, मानसिक शान्ति र आध्यात्मिक चेतनाको विकास गर्छ । आधुनिक जीवनशैलीले सिर्जना गरेका तनाव, प्रदूषण र अस्वस्थ्य आहारको समस्यालाई समाधान गर्न योग प्रभावकारी माध्यम बनेको छ ।
नेपालले आफ्नो भौगोलिक र सांस्कृतिक विविधताका कारण ध्यान र योगका लागि अद्वितीय गन्तव्यको सम्भावना रहेको अर्घाखाँचीको डेहोंटेमा रहेर यस क्षेत्रमा लामो समयदेखि योग सिकाउँदै आएका बाबा योगीराजको भनाइ छ । खास गरी योगसँगै पञ्चगब्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका बाबा योगिराजले नेपाल प्राकृतिक चिकित्साको खानी रहेको तर, यसको लाभ लिन नसकिरहेको भन्दै खिन्नता प्रकट गर्छन् ।
नेपालले अन्तर्राष्ट्रियस्तरका योग शिक्षक उत्पादन, योगका लागि आवश्यक संरचना निर्माण र पर्यटनसँग यसको संयोजनलाई प्राथमिकतामा राख्न जरुरी रहेको योगका अर्का प्रशिक्षक अधिकारीको सुझाव छ । योग अभियन्ता, ध्यान केन्द्रहरू र शिविरहरूको स्तरोन्नति गरी विदेशी पर्यटक आकर्षित गर्ने योजनाहरू विकास गरी तीनै तहका सरकार र निजी क्षेत्रको समेत सहकार्यमा साकार पार्न सकिने सम्भावना रहेको अधिकारीको भनाइ छ ।
योगको प्रचारप्रसारले समाजमा शान्ति, सद्भाव र समृद्धि ल्याउन योगदान पुर्याउँछ । योग, ध्यान र पर्यटनलाई एकै सूत्रमा बाँधेर नेपाललाई विश्वव्यापी शान्तिको केन्द्र बनाउन सकिने सम्भावना रहेको योगका प्रशिक्षकहरू बताउँछन् ।