किन पक्राउ परे एमाले युवा नेता मल्ल, अदालतको अनुमतिमा मिलापत्रको छ अवसर – Nepal Press

किन पक्राउ परे एमाले युवा नेता मल्ल, अदालतको अनुमतिमा मिलापत्रको छ अवसर

काठमाडौं । बैंकसँग अनधिकृत रूपमा रकम भुक्तानी माग गरेबापत एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।

उनी विभिन्न युरोपेली तथा अमेरिकी मुलुकमा मानिस पठाउने नाममा आर्थिक संकलनकार्यमा सक्रिय भएको प्रहरीले जनाएको छ । भनेको मुलुक पठाउन नसकेपछि लिएको रकम फिर्ता गर्ने क्रममा उनले मौज्दात रकम नभएको खाताको चेक काटेका थिए ।

उनले २० लाख ५० हजार रुपैयाँ ठगी गरेका छन् ।

मल्ललाई सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरी काठमाडौं पठाएको थियो । काठमाडौं प्रहरीले आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाएको जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन- २०६४ को दफा ३ (ग) अनुसार मुद्दा अगाडि बढ्ने प्रहरीले जनाएको छ । उक्त दफामा ‘कसैले पनि बैंक वा वित्तीय संस्थामा खाता खोल्दा वा रकम भुक्तानी माग गर्दा आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काट्न नपाइने उल्लेख छ ।

उनले महाराजगञ्जमा शाखा कार्यालय रहेको बैंकको चेक जारी गरेका कारण प्रहरीले त्यहीँबाट थप कारबाही अगाडि बढाएको हो । उक्त मुद्दा जिल्ला अदालतको क्षेत्राधिकारभित्र पर्छ । पहिला यस्तो मुद्दा उच्च अदालतको वाणिज्य इजलासले हेर्थ्यो ।

प्रहरीका अनुसार मल्ललाई पीडितसँग छलफल गर्ने र फिर्ता गर्नुपर्ने रकम फिर्ताका निम्ति मौका दिइन्छ । रकम फिर्ता गरेमा अदालतको अनुमतिमा दुई पक्षबीच मिलापत्र हुने सुविधा दिने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर