सरकारी विद्यालयको सुधार: किन कोही कसैप्रति विश्वास गर्न लायक छैनन् ? – Nepal Press

सरकारी विद्यालयको सुधार: किन कोही कसैप्रति विश्वास गर्न लायक छैनन् ?

सरकारी विद्यालयमा पढाउने शिक्षकहरुमध्ये कति प्रतिशतले आफ्ना विद्यालयमा सन्तान पढाउँदै आएका होलान् ? सायद यकिन तथ्याङ्क राज्यसँग छैन । न यसबारेमा गहिरो रुपमा शिक्षा तथा प्रविधि मन्त्रालयले खोजेको होला । पढाउने शिक्षकहरुमध्ये कति प्रतिशत आफ्ना सन्तानका नतिजा हेरेर सन्तुष्ट होलान् ? यस्तो तथ्याङ्क हुने कुरै भएन झन् ।

धेरै शिक्षकले आफ्नो विश्वास आफैंले नगरेका हुन् वा विश्वास गर्ने आधार आफैंले सिर्जना गर्न नसकेका हुन् ? हुन त नेपाली भनाइ नै छ- ‘हेर्दा अर्काको बारीको मूला ठूलो देखिन्छ’ । सरकारी एवं सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले संस्थागत विद्यालयको पढाइलाई प्राथमिकता दिने गर्छन् । नतिजाका आधारमा मान्नुपर्ने अवस्था पनि छ । यस्तो किन भयो ?

सरकारी शिक्षकसरह तलब, भत्ता प्रायः संस्थागत विद्यालयका शिक्षकले प्राप्त गर्दैनन् । उनीहरुमध्ये तालिम प्राप्त कम छन् । योग्यताकै हिसाब गर्दा पनि कमै भेटिन्छन् । स्थायी हुने कुरै भएन । शुद्ध तलबबाहेक कमै शिक्षकहरुले अतिरिक्त सेवा प्राप्त गर्छन् । ग्रेड, भत्ता पाउने अवसर छैन भन्दा हुन्छ । तर पनि मानक नतिजा संस्थागत विद्यालयकै राम्रो छ भन्ने कुरामा कुनै द्विविधा छैन । यस्तो किन हुन पुग्यो भन्ने कुरामा जिज्ञासा राख्दा आफूप्रति आफ्नै विश्वासको अभाव ठानिन्छ र मानिन्छ ।

विद्यालय व्यवस्थापन समितिमा रहेका पदाधिकारी र सदस्यहरुले आफ्नै व्यवस्थापनमा सञ्चालित सामुदायिक विद्यालयहरुमा आफ्ना सन्तानहरु पढाउँछन् ? पढाउँछन् भने कति प्रतिशतले ? सायद यसको एकिन उत्तर प्राप्त गर्न सकिँदैन पनि ।

उसो भए, शिक्षकमा विश्वास कसरी जागृत गर्न सकिन्छ ? विश्वास सिर्जना गर्ने आधारहरु केके हुन् ? कसरी विश्वास खडा गर्न सकिन्छ ? विश्वास कसले पैदा गर्न सक्छ ? यावत प्रश्नमा घोत्लिने हो भने यसको जवाफ पक्कै प्राप्त हुन सक्नेछ । त्यसका लागि शिक्षकहरुले खोज, अध्ययन र अनुसन्धानमा निकै मेहनत गर्नुपर्ने देखिन्छ । त्यतिमात्र होइन, विद्यालय व्यवस्थापन समितिमा रहेका पदाधिकारी र सदस्यहरुले आफ्नै व्यवस्थापनमा सञ्चालित सामुदायिक विद्यालयहरुमा आफ्ना सन्तानहरु पढाउँछन् ? पढाउँछन् भने कति प्रतिशतले ? सायद यसको एकिन उत्तर प्राप्त गर्न सकिँदैन पनि । समितिका पदाधिकारी र सदस्यहरुले शत प्रतिशत आफ्नै विद्यालयमा आफ्ना सन्तान पढाउने सामुदायिक विद्यालय कुन होला ? छ कि छैन होला ?

यसरी हेर्दा जसले विद्यार्थीको भविष्यको जिम्मेवारी लिएका हुन्छन्, उनीहरुले नै विद्यार्थीका नतिजाप्रति विश्वास गर्न सकिरहेका छैनन् । व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरुले शिक्षक र आफूप्रति नै विश्वास आर्जन गर्न नसकेपछिको परिणाम नै सामुदायिक विद्यालयहरुमा देख्न सकिन्छ ।

अर्को कुरा, शिक्षकहरुप्रति अभिभावकहरुको विश्वास कमजोर देखिन्छ । उनीहरु भन्छन्- शिक्षकहरु आफ्ना सन्तानलाई बोर्डिङमा पढाउँछन् । अनि हाम्रा सन्तानलाई उनीहरुले किन र कसरी राम्रो पढाऊन् ? उनीहरु थप्छन्- सरकारी सामुदायिक विद्यालयको व्यवस्थापन समिति गठन हुने बेला चरम राजनीति हुने गर्छ । जसका विद्यार्थी नै विद्यालयमा पढ्दैनन् र पढाउँदैनन्, उनीहरु नै विद्यालय व्यवस्थापन समितिको डाडुपन्यु समाउन आइपुग्छन् । अनि कसरी सामुदायिक विद्यालयको नतिजा उपलब्धिमूलक बन्न सकोस् ?

जसले विद्यार्थीको भविष्यको जिम्मेवारी लिएका हुन्छन्, उनीहरुले नै विद्यार्थीका नतिजाप्रति विश्वास गर्न सकिरहेका छैनन् । व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरुले शिक्षक र आफूप्रति नै विश्वास आर्जन गर्न नसकेपछिको परिणाम नै सामुदायिक विद्यालयहरुमा देख्न सकिन्छ ।

सबैतिर चोर औंला देखाउने बानी परेको हाम्रो समाजमा शिक्षकले भौतिक कुरातिर तेर्स्र्याएर शैक्षिक गुणस्तरमा आँखा चिम्लिएका छन् । अभिभावकहरु नै अनपढ छन्, गँवार छन् । स्टेशनरी सामान नदिई विद्यार्थीलाई विद्यालयमा पठाउँछन् भनेर उनीहरुमाथि आरोपका भारी बोकाउँछन् । यता शिक्षकहरुले राजनीति गर्छन् । कक्षाकोठामा ४५ मिनेट टिकेर पढाउनेहरु औंलामा गन्न सकिने छन् भनेर उनै अभिभावकहरु भन्छन् । तयारी नगरी शिक्षकहरु कक्षाकोठामा जान्छन् । शिक्षकसँग, शैक्षिक सामग्रीका रुपमा लौरोबाहेक अरु केही भेटिन्न भन्ने अभिभावकहरु हामीले नदेखेका र नभेटेका पनि होइनौं, तर आज यसको सत्यतथ्य जवाफ दिने कसले ?

‘शिक्षक सुध्रिएमा पढाइ सप्रन्छ’, अभिभावक र व्यवस्थापन समितिले यही भन्छन् । विद्यालय वर्षमा २२० दिन खुल्नुपर्ने र १८० दिन त पढाइ हुनुपर्थ्यो, तर शिक्षाविद् डा.भोजराज काफ्लेको अध्ययनले नेपालका सामुदायिक विद्यालयहरुमा सबै बिदा काटेर ७९ दिनमात्र पढाइ भएको प्रमाण दिएका छन् । यो बिदालाई घटाउने वा व्यवस्थापन गर्नसक्ने अधिकार वा क्षमता शिक्षकहरुमा मात्र छ । शिक्षकहरु धेरै किन अनुपस्थित छन् ? यस्तै कुराले नतिजा राम्रो आउन सकेको छैन र शिक्षकहरुकै विश्वास घटिरहेको छ । अभिभावक र विद्यार्थीका नजरमा शिक्षक, शिक्षकका नजरमा अभिभावक र व्यवस्थापन समिति अनि व्यवस्थापन समितिका नजरमा शिक्षक, अभिभावक र विद्यार्थी सबै दोषी छन् । सबैतिर चोर औंला ठड्याइएका छन् । यसो हुनुको एउटै अर्थ हो- कोही कसैप्रति विश्वास गर्न लायकका छैनन् ।

नतिजामा सफलता प्राप्त गर्ने नै हो भने ५० प्रतिशत विद्यार्थी जिम्मेवार हुन्छन् । २० प्रतिशत जिम्मेवारीको भागीदार अभिभावक, विद्यालय व्यवस्थापन समिति, घरपरिवार हुने गर्छन् । त्यसैगरी ३० प्रतिशत जिम्मेवारी प्रअ र शिक्षकले लिनुपर्ने देखिन्छ । विभिन्न कालखण्डमा विभिन्न व्यक्तिहरुले गरेका अनुसन्धानको निचोड नै यो तथ्याङ्क हो, तर हामीलाई यो तथ्याङ्कप्रति विश्वास नै छैन । हामीलाई आरोप र दोषप्रति भने पूर्ण विश्वास छ ।

सरकारी सामुदायिक विद्यालयको व्यवस्थापन समिति गठन हुने बेला चरम राजनीति हुने गर्छ । जसका विद्यार्थी नै विद्यालयमा पढ्दैनन् र पढाउँदैनन्, उनीहरु नै विद्यालय व्यवस्थापन समितिको डाडुपन्यु समाउन आइपुग्छन् । अनि कसरी सामुदायिक विद्यालयको नतिजा उपलब्धिमूलक बन्न सकोस् ?

देशकै नमुना सामुदायिक विद्यालय बन्न सफल बुटवलमा रहेको कालिका मानवज्ञान माविका पूर्वप्रअ घनश्याम पाठक भन्छन्- शिक्षक नियुक्तिमा पारदर्शिता, विद्यालय व्यवस्थापन समितिको दबाब कम, शिक्षकहरुमा मैले नै शैक्षिक गुणस्तर कायम गर्न सक्छु भन्ने दृढ संकल्प, नेतृत्व गर्ने खुवी, व्यवस्थापकीय क्षमता र योजना निर्माण एवम् कार्यान्वयन गर्नसक्ने दक्षता भएका प्रअ हुन सकेमा विद्यालयले सोचेको प्रगति र शैक्षिक उपलब्धि हासिल सम्भव छ । त्यसका लागि सबैसँग सबैको विश्वास कायम रहनुपर्छ ।

आरोप-प्रत्यारोप र अविश्वासले विद्यालयको नतिजा सकारात्मकतातिर उन्मुख हुन सक्दैन । शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी र शिक्षासँग सरोकार राख्ने सबै पक्षहरुसँग विश्वासको धरोहर उँचो हुनुपर्छ । एकापसमा विश्वासको डोरी कसिलो हुुनुपर्छ । विश्वासको वातावरण तयार गर्न सबैको भूमिका विश्वसनीय हुनुपर्छ ।

आज सरकारी विद्यालयमा गरिएका लगानी कति प्रतिफलमुखी छ ? कति उपलब्धिपूर्ण छ ? सबैका निम्ति विश्वासिलो छ ? यिनीहरुको जवाफ खोज्नुपर्ने बेला आएको छ । एकले अर्कालाई दोष थुपारेर पानीमाथिको ओभानो हुनु बेकारका कुरा हुन् । बरु हामीले हाम्रो शैक्षिक गुणस्तरका लागि कसले कसरी विश्वासिलो वातावरण तयार गरेर अघि बढ्न सकिएला ? त्यतैतिर चिन्तन गरौं । चिन्ता गरेर सफलता प्राप्त असम्भव नै छ । चिन्तन गरौं, छलफल गरौं, योजनाबद्ध रुपमा लागौं र कार्यान्वयन गर्दै सफलताका सोपान चढौं । यसैमा सबैको हित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *