रवि अदालत लगिँदै, छवि भन्छन्- ‘अलिक पछि जान्छु’
काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेकको बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा पेश गरिँदै छ ।
जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका उनलाई कार्यालय समय शुरु हुनासाथ लगिने जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
सोही मुद्दाका अर्का प्रतिवादी तथा प्रहरीका भूपूडीआईजी छविलाल बन्जाडे जोशी भने केही समयपछि अदालतमा हाजिर हुने भएका छन् । नेपाल प्रेसले सम्पर्क गर्दा जोशीले भने, ‘अलिक पछि जान्छु, आजै गइहाल्नुपर्ने त्यस्तो केही छैन ।’
आफूले अनुसन्धान तथा अदालती प्रक्रियामा सहभागी हुने कुरामा कुनै कन्जुस्याइँ नगर्ने उनले बताए । ‘ममाथि अन्याय भएको छ, आफ्नो निर्दोषिता प्रमाणित गर्ने प्रक्रियालाई मैले गम्भीरताका साथ पालना गर्नैपर्छ’, उनले भने ।
पहिला रुपन्देही जिल्ला अदालतमा हाजिर हुने कि काठमाडौंमा भन्ने कुरामा आवश्यक कानुनी परामर्श गरिरहेको उनले बताए । ‘म काठमाडौंमै छु, साथीहरूसँग सरसल्लाह गर्दैछु’, उनले भने ।
आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका रविको सो दिन बयान सकिए पनि थुनछेक बहस नहुँदा न्यायिक हिरासतमा पठाइएका थिए । सोमबार थुनछेक बहस भयो । तर, जाहेरवाला पक्षका कानुन व्यवसायीको बहस सकिएन । अदालतले कार्यालय समयभन्दा बढी बहस नगराएपछि रवि पुनः न्यायिक हिरासतमा पठाइए । मंगलबार सार्वजनिक बिदा भएकाले उनी हिरासतमै राखिए । आज पुनः थुनछेक बहस निरन्तर हुँदैछ ।