सरकार ढल्ने चर्चा बजार हल्ला, अध्यादेश कांग्रेससँगको सहमतिमै ल्याइएको हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि चलेको सरकार ढल्ने चर्चाको खण्डन गरेका छन् । बालुवाटार पुगेका उद्योग व्यवसायीसँग कुरा गर्दै उनले त्यो बजार हल्लामात्र भएको जिकिर गरे ।
उनले भने, ‘अध्यादेश ल्याएपछि कांग्रेस र एमालेको नीति नमिलेर अब सरकार छिट्टै ढल्दैछ भन्ने बजार हल्ला छ । सरकार चाहिँ आपसमा बसेर सकारात्मक दूरगामी महत्वका नीति निर्माण गर्दैछ । प्रभावकारी ढंगले कदम चाल्दैछ ।’
उनले एमाले र कांग्रेसका नेताहरू देश बनाऊँ भन्ने भावनाका साथ अघि बढेको सुनाए ।
उनले थपे, ‘केही मान्छेमात्रै हुँदा रहेछन्, आफ्ना स्वार्थका लागि देशको कुनै मतलब छैन । जतिबेला अन्टसन्ट बोल्ने, विरोध गर्ने । तीनलाई आफ्नो पिठो बिकाउनुछ । तर, आम मानिसको चाहना सुशासन र विकाससँग सम्बन्धित हुन्छ ।’
हिजो सिन्धुपाल्चोकको सुकुटे पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसका संस्थापन पक्षका नेताहरूले पनि असन्तुष्टि जनाउन थालिसकेकाले ओली सरकार चाँडै ढल्ने दाबी गरेका थिए ।
अध्यादेशलाई लिएर कांग्रेकै केही नेताले पनि असन्तुष्टि व्यक्त गरेका छन् । सरकारको ६ महिनाको कामको समीक्षा गर्न देउवाले भोलि पार्टीका मन्त्रीहरूलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएका छन् ।