हैसियतअनुसारको घर, नीति बनाइदेऊ सरकार
एक जना दुई बीस कटेका मेरा मित्रलाई अहिले बडो संकट परेको छ । परिवार र आफन्तबाट कंक्रिट घर बनाउन दबाब छ । दबाबअनुसार घर बनाउने हो भने ऋणमा चुर्लुम्म डुब्ने निश्चित छ । किनकि उनीसँग २०-२५ लाख नगद छ । जसोतसो ३५-४० हजार मासिक कमाए पनि त्यसैबाट परिवार चलाउनुपर्ने बाध्यता छ । ऋण लिएर घर बनाउने हो भने आफूसँग भएकोबाहेक थप ५० लाख खोज्नुपर्छ । घडेरी आफ्नै नाममा भएकाको बैंकले ऋण त जसोतसो पत्याउला, तर त्यसको साँवा-ब्याज कहिले तिरेर भ्याउने ? उनी रनभुल्लमा छन् ।
मसँगको भेटमा उनले दुःखेसो पोखे- ‘हैसियतअनुसारको घर बनाऔं भन्दा परिवार तयार छैन । परिवारले भनेअनुसारको घर बनाउने मसँग पैसा छैन । म बडो द्विविधामा छु ।’
मेरा मित्र प्रतिनिधि पात्रमात्र हुन् । उनको समस्या तमाम युवाहरुलाई छ । रुपन्देही र आसपासका तराईका जिल्लामा अचेल चार-पाँच कोठाको कंक्रिट घर बनाउन ४०-४५ लाख सजिलै लाग्छ । त्यसमाथि डिजाइन, फिनिसिङ, फर्निसिङ, इन्टेरियरलगायतका साजसज्जा गर्दा उत्ति नै खर्च हुन्छ । घडेरी नहुनेहरुका लागि त अर्को समस्या भइगयो । स्वदेशमै काम गरेर आमरुपमा कमाउने भनेको बढीमा ३०-३५ हजार हो । किनकि नेपाल सरकारको अधिकृतस्तरको कर्मचारीको पारिश्रमिक पनि हाल ४४ हजार हाराहारी छ । अनि यो सीमित कमाइबाट कसरी परिवार चलाउने ? कसरी घर निर्माण गर्ने ?
मेरा मित्रले कंक्रिट घरको विकल्पमा अन्य प्रकृतिका घरहरु निर्माण गर्न नखोजेका पनि होइनन् । कोरियनलगायत अन्य प्रविधिका घरहरुमा उनको चासो छ । अचेल सामाजिक सञ्जालमा आउने विज्ञापनको पछि परेर उनी चितवनसम्म पनि घर हेर्न पुगे, तर परिवार र आफन्त त्यसमा सहमत भएनन् । आसपासका आलिशान घरका सामु आफ्नो घर हराउने, आफन्तहरु सबैका ठूल्ठूला घर भएका, सानो घर बनाएमा इज्जत घट्नेलगायतका कारण तेर्स्याएपछि उनले अझैसम्म ऋणमै डुबेर कंक्रिट घर बनाउने कि चिटिक्कको सानो घर बनाउने निर्णय गर्न सकेका छैनन् ।
आसपासका आलिशान घरका सामु आफ्नो घर हराउने, आफन्तहरु सबैका ठूल्ठूला घर भएका, सानो घर बनाएमा इज्जत घट्नेलगायतका कारण तेर्स्याएपछि उनले अझैसम्म ऋणमै डुबेर कंक्रिट घर बनाउने कि चिटिक्कको सानो घर बनाउने निर्णय गर्न सकेका छैनन् ।
मेरा मित्रको किंकर्तव्यविमूढ अवस्थापछि अब लागौं, अस्ट्रेलियाको सिड्नीमा मैले देखेका आवासीय घरको प्रसंगतर्फ । पारिवारिक भ्रमणको सिलसिलामा मैले अस्ट्रेलियाको सिड्नी घुम्ने अवसर पाएको थिएँ । गत भदौदेखि कार्तिकसम्म सिड्नीमा रहें । सिड्नीको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि मलाई लिन भाइ-बुहारी संयोग-पूजा, भाइ गोविन्द र छोरा अभिमन्यू पुगेका थिए । उनीहरुसँग म कारमा घरतर्फ लागें । केही समयसम्म मैले ठूला अग्ला-अग्ला घरहरु देखें । गगनचुम्बी घरहरु देख्दा मलाई अस्ट्रेलिया आएको आभाष भैरहेको थियो, तर केही समयपछि ठूला गगनचुम्बी घरहरु देखिन छाडे । भाइ-बुहारीले पनि आफ्नै घर किनेका थिए । त्यसैले मलाई उनीहरुको घर कस्तो होला भन्ने कौतुहल थियो ।
जब हामीहरु आवासीय क्षेत्रमा प्रवेश गर्यौं, तब घरका आकार साना देखिन थाले । मलाई अस्ट्रेलियामा पनि ‘यस्ता घर’ भन्ने भयो । किनकि मैले आफ्नो गाउँठाउँमा विदेश गएर कमाएका वा पैतृक सम्पत्ति बेचेर घर बनाउनेहरुका ठूला कंक्रिट घर देखेको थिएँ । सम्पन्न व्यक्तिले बनाउने भनेको ठूला कंक्रिट घर हो भन्ने स्कूलिङ थियो । यसर्थ आर्थिक रुपमा सम्पन्न, व्यवस्थित, सुविधासम्पन्न, पढेलेखेका व्यक्तिहरु बस्ने विकसित शहरमा ‘साना चिटिक्क’ का घर देखेर म छक्क परें । बाहिरबाट हेर्दा अत्यन्त सामान्य देखिने ।
भाइ-बुहारीको घर बाहिरबाट देख्दा पनि म छक्क परें । किनकि मैले ठूलो घर किनेका होलान्, सिड्नीमा भनी सोचेको थिएँ, तर उनीहरुको मात्र होइन त्यहाँका सबैका घर उस्तै देखें । बाहिरबाट हेर्दा साना, चिटिक्कका, तर भित्र सम्पूर्ण सुविधा । आकर्षक कोठा, बैठक कोठा, ट्वाइलेट, बाथरुम, एसी, पंखा, तातोचिसो पानी, वासिङ ड्रायर मेसिन, भ्याकुम, झार काट्ने मेसिन, सरसफाइका आधुनिक सामान, फर्निचर, आधुनिक किचन-डाइनिङ हल र साजसज्जा । बाहिरबाट हेर्दा जे देखिन्छ, भित्र ठीक उल्टो । घरमा अधिकांश काठको प्रयोग गरिएको । ढुंगा, इँटा, बालुवा, रडको अत्यन्त कम प्रयोग । छत कंक्रिट ढलान छैनन् । ढुंगाका जस्तो देखिने छानाहरु, एउटा-दुइटाको मात्र होइन, आँखाले देखिने पूरै घरहरु उस्तै प्रकृतिका । हामीहरु एकै ठाउँबाट अलग-अलग समयमा सिड्नी पुगेका डीआर घिमिरे सर र कृष्ण खनाल सरसँग प्रत्येक पटकका भेटमा त्यहाँका घरका बारेमा चर्चा हुन्थ्यो । किनकि नेपालका आवासीय घर र त्यहाँका आवासीय घरमा ठूलो भिन्नता थियो ।
केही समयपछि ठूला गगनचुम्बी घरहरु देखिन छाडे । भाइ-बुहारीले पनि आफ्नै घर किनेका थिए । त्यसैले मलाई उनीहरुको घर कस्तो होला भन्ने कौतुहल थियो । जब हामीहरु आवासीय क्षेत्रमा प्रवेश गर्यौं, तब घरका आकार साना देखिन थाले । मलाई अस्ट्रेलियामा पनि ‘यस्ता घर’ भन्ने भयो ।
म सिड्नीको ब्ल्याकटाउन सिटीमा बस्दा धेरै जना नेपालीहरुको घरमा पुगें । सबैका घर उस्तै पाएँ । मेरा मित्रहरु नन्दलाल घिमिरे, नवीन अधिकारीलगायत सबैको घर उस्तै प्रकृतिका थिए । न जग हालिएको छ न त छाना ढलाइ तर पनि सबैलाई घरको आवश्यकता पूरा भएकै छ । स्थानीय पालिका अर्थात् त्यहाँको काउन्सिलले नक्सापास गरेको छ । यही घरजग्गा धितो राखेर ऋण लिएका छन् । घरको बीमा छ । कुनै व्यक्तिले आवासीय क्षेत्रमा मनलाग्दो ठूलो, कंक्रिट घर बनाउन नपाइने नीति रहेछ । नियमत यस्तोसम्म कि आफ्नो घरको रुख काट्न पनि स्थानीय पालिकाको अनुमति चाहिने । सिड्नीका घर देखेपछि मलाई लाग्यो- नेपालका आवासीय क्षेत्रमा किन यस्ता घर बनाइँदैन त ? किन विदेशका यस्ता घरमा बसेर कमाएको पैसा नेपाल पठाइदिएपछि कंक्रिट घर बनाउनुपर्ने ?
हाम्रो मुलुकको सन्दर्भमा स्थानीय स्रोत र साधनको प्रयोग गरेर निर्माण गरिने घरलाई राज्यको तर्फबाट प्रोत्साहन वा त्यसप्रकारको नीति नहुँदा कंक्रिट घर बनाउने प्रवृत्ति बढेको हो जस्तो मलाई लाग्छ । घर निर्माण महँगो हुँदै जाँदा नेपाली युवाहरु विदेशिने प्रवृत्ति पनि बढेको प्रस्ट छ । किनकि सानोतिनो रकमले घर बन्दैन अचेल । अलि ठूलो घर बनेको देखेमा अधिकांशको मनमा आउने एउटै कुरा हो कि यो परिवारका मान्छे विदेश छन् ? कि यो परिवारका मान्छे ठूला उद्योगी-व्यवसायी हुन्, कि यो परिवारले पैतृक सम्पत्ति बेचबिखन गरेको छ, कि यो परिवारका सदस्य दायाँबायाँ गर्ने सरकारी कर्मचारी हुन् वा जग्गाको कारोबार गर्ने व्यक्ति हुन् । सामान्य व्यक्तिका लागि यस्ता घर पहुँचमैत्री बन्न नसक्ने भएकाले यस्ता अड्कलबाजी हुनु अस्वाभाविक होइन ।
अहिले एउटा परिवारमात्र बस्न बनाइने एक तले घरका लागि पनि आधा रकम जगमा जाने गरेको छ । एकाध तला घर बनाउन ठूल्ठूला रड राख्नुपरेको छ । घरहरु हल्का छैनन्, असाध्यै गह्रौ छन् । कुनै भवितव्य आउँदा पनि घरकै कारण ज्यान जाला भन्ने जोखिम छ । सानोतिनो, हल्का घर बनाउँदा नक्सापास नहुने, बैंकले ऋण नपत्याउने समस्या । सरकारले आवासीय घरका लागि सरल नीति र त्यसप्रकारको प्रोत्साहन गर्ने हो भने नेपालमा पनि साना, चिटिक्कका घरहरु बन्न सक्छन् । यसका लागि खासगरी इञ्जिनियरहरुले बहस चलाउनुपर्छ । हामीकहाँ इञ्जिनियरहरुको साझा संगठन क्रियाशील छ । यस्ता संगठनले स्थानीय साधनस्रोतको प्रयोग गरेर साना, चिटिक्कका हल्का घर कसरी बनाउन सकिन्छ र राज्यले कस्तो नीति बनाउनुपर्छ भनेर सरकारलाई सुझाव वा दबाब दिन ढिलाइ गर्नुहुँदैन ।
घरमा गरिने खर्च छोराछोरीको शिक्षादीक्षा, स्वास्थ्योपचार वा ज्येष्ठ नागरिकको सेवामा लगाउन सकिन्छ । यसो गर्दा अहिले समाजमा आर्थिक समस्याका कारण देखिएका धेरै समस्या हट्नेछन् । घर आवश्यकताका आधारमा बनाउने हो, अरुलाई देखाउन होइन भन्ने कुरा बुझाउन आवश्यक छ ।
एउटा सामान्य व्यक्तिले कंक्रिट घर बनाउँदा खर्चिने रकम अरु क्षेत्रमा लगाउन सक्छ । घरमा सुविधाका साधन बढाउन सकिन्छ । नेपालमा घर निर्माणमा लाखौं खर्चिन्छ, तर परिवारको जनजीवनलाई सजिलो बनाउने सवारीसाधन, उपकरण, औजार, मेसिन कमै घरको देख्न पाइन्छ । घरमा गरिने खर्च छोराछोरीको शिक्षादीक्षा, स्वास्थ्योपचार वा ज्येष्ठ नागरिकको सेवामा लगाउन सकिन्छ । यसो गर्दा अहिले समाजमा आर्थिक समस्याका कारण देखिएका धेरै समस्या हट्नेछन् । घर आवश्यकताका आधारमा बनाउने हो, अरुलाई देखाउन होइन भन्ने कुरा बुझाउन आवश्यक छ ।
कंक्रिट घर बनाउँदा प्रयोग हुने अधिकांश सामानको लागि नेपालको रकम विदेशिने गरेको छ । आवासीय क्षेत्रमा साना घरहरुमात्र बनाउन दिने सरकारी नीति हुनुपर्छ । व्यवसायिक वा बजार केन्द्रित क्षेत्रमा मात्र ठूल्ठूला घर बनाउन दिने नीति ल्याउनुपर्छ । अहिले जसले जहाँ पायो त्यही, जत्रो पायो त्यत्रो घर बनाउँदा एकातिर शहरी सौन्दर्य घटेको छ भने अर्कोतिर समाजमा अप्रत्यक्ष विभेद बढेको छ ।
युरोप, अस्ट्रेलिया, अमेरिकामा आज पनि आवासीय क्षेत्रमा एकदुई तलाका घर स्थानीय स्रोतसाधनबाट बनाइएका छन् । यस्ता घर १०० वर्षसम्म मज्जाले प्रयोग गर्न सकिने बताइन्छ । त्यसपछि घर निर्माणमा प्रयोग भएका सामग्रीलाई पुनः प्रयोग गर्न सकिन्छ, तर कंक्रिटमा यो सम्भव छैन । अपार्टमेन्टबाहेक आवासीय घरहरु विकसित मुलुकमा चिटिक्कका साना हुन्छन् । घरभित्रका फर्निचर काठकै छन्, गार्डेनका पर्खालहरू काठकै छन् । पार्कहरूमा बस्ने बेञ्चदेखि खेल्ने सामग्रीसम्म अधिकांश काठका नै छन् । नेपालको परम्परागत रुपमा निर्माण हुने घरको शैलीलाई आधुनिकता दिइएको जस्तो आभाष हुन्छ- विकसित मुलुकका आवासीय घरहरु देख्दा ।
हामी कहाँ एकाध तला घर बनाउनलाई पनि विशाल पिलर चाहिने, हात्तीपाइले जग राख्नुपर्नेलगायतका कारण आज गरिबले घर बनाउन नसक्ने अवस्था सिर्जना भएको छ । एकातिर राज्यले संविधानमा आवासलाई मौलिक हकको रुपमा लिएको छ, अर्कोतर्फ घर बनाउनै नसक्ने नीति छ । गरिबले घर बनाउन नसक्ने अवस्थाको जिम्मेवार राज्य हुनुपर्छ कि पर्दैन ? स्थानीय सामग्री र डिजाइनकै घर बनाउन सकिने परिस्थिति हुन्थ्यो भने आज सायद घर बनाउन नै युवाहरु विदेशिनु पर्दैनथ्यो ।
(गौतम दुई दशकदेखि रुपन्देहीमा रहेर पत्रकारितामा क्रियाशील छन् ।)
गज्जबकाे शिर्षक अनि विवरण
वास्तविकता यहि हाे.. तर नेपाली हामी एक आपस मै कस्ले ठुलाे घर बनाउने कस्ले धेरै कमाउने,अझ आजकल कस्ले धेरै खर्च गर्ने मै पुस्ताै बिताउने मा कम्मर कसेका छाै