एप्पलका सह–संस्थापक स्टिब जब्सकी पत्नी लरेन बनिन् साधवी–नाम कमला,गोत्र अच्युतम
काठमाडौं । एप्पलका सह–संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्स सनातन धर्मको अनुयायी बनेकी छन् ।
बुधबार सम्पन्न महाकुम्भमा आफ्ना गुरु निरञ्जनी पीठधेश्वर स्वामी कैलाशानन्द गिरीबाट उनले आध्यात्मिक दीक्षा(गुरु मन्त्र) लिएकी हुन् ।
मन्त्र लिएसँगै उनी सनातन धर्मको अनुयायी भएको भारतीय सञ्चारमाध्यमले बताएकाे छ। गिरीले अनुष्ठान गरेपछि उनको नाम कमला राखिएको छ भने गोत्र अच्युतम रहेको छ । उनलाई गिरीले गंगाजल छर्केर माँ कालीको गुरुमन्त्र दिएर आशीर्वाद दिएको बताइएको छ ।
उनले आध्यात्मिक मार्गदर्शकबाट गुरु मन्त्र ग्रहण गरेर र यज्ञ गरेर भुटान जानुअघि सनातन धर्मको अनुयायी भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । उनी सनातन धर्मकाे अनुयायी बनेसँगै भुटान गएकी छन् । उनी सनातनी बनेकाे खबर भारतीय सञ्चारमाध्यमले प्राथमिकतासाथ प्रकाशित गरेकाे छ ।
अमेरिकाको टेन्ट सिटीमा रहँदा उनले आफ्ना गुरु निरञ्जनी पीठधेश्वर स्वामी कैलाशानन्द गिरीको मार्गदर्शनमा सनातन धर्मको मूल्य र आध्यात्मिकताको अनुभव गरेको बताएकी छन् ।
स्वास्थ्यको कारणले जनवरी १४ मा पहिलो ‘अमृत स्नान’ लिन नसकेकी लरेनले फेब्रुअरी ३ मा बसन्त पञ्चमीको तेस्रो तथा अन्तिम ‘अमृत स्नान’ अघि मेलामा पुनः संगमको जल स्नान गर्न आउने बताएकी छन् ।