यु-१९ महिला विश्वकपमा नेपाल : पूजाको भर, फिटनेसको डर

काठमाडौं । आइसिसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेट शनिवारदेखि मलेसियामा सुरु हुँदै छ । दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशले सहभागिता जनाएका छन् । नेपाल विश्वकपमा छनोट हुने अन्तिम टोलीले हो ।
गत कात्तिकमा भएको एसिया क्षेत्र छनोटमा युएईलाई रनरेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो । नेपाली महिला क्रिकेटमा पहिलो पटक विश्वकप खेल्न लागेको हो । नेपालले पहिलो खेल बङ्गलादेशसँग शनिवार खेल्नेछ । उक्त खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट सुरु हुनेछ । नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ ।
विश्वकप खेल्ने जानुअघि नेपालकी कप्तान पूजा महतोले नेपालको लक्ष्य सुपर–६ मा पुग्ने बताएकी थिइन् । विश्वकपमा डेब्यु गर्न लागेको नेपालले सुपर–६ मा पुग्न कम्तीमा एउटा टोलीलाई हराउनुपर्छ ।
विश्वकपमा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, आयोजक मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका हुँदा समूह ‘सी’ न्यूजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् ।
समूह ‘डी’ मा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । समूह चरणमा प्रत्येक टोलीले ३ खेल खेल्नेछन् । एक समूहबाट शीर्ष ३ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा समूह ‘ए’ ले समूह ‘डी’ र समूह ‘बी’ ले समूह ‘सी’ मा रहेका देशसँग प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइलन खेल माघ २० गते हुनेछ ।
पूजाको भरमा नेपाली टोली
नेपाली सिनियर टोलीबाट खेलिसकेकी पूजा महतोले विश्वकपमा नेपाली टोलीको नेतृत्व गर्ने छिन् । पछिल्लो समय उत्कृष्ट लयमा रहेकी पूजाबाट नेपालले विश्वकपमा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । उनी बलिङ, ब्याटिङ, फिल्डिङमा उत्कृष्ट छिन् । युएईमा भएको विश्वकप एसिया क्षेत्र छनोटमा पुजाले कुवेतविरुद्ध शतकसँगै ५ विकेट लिएकी थिइन् । उनले नेपाली सिनियर टोलीबाट २० टी–२०आई खेल खेलेकी छन् ।
उक्त खेलमा १८५ रनसँगै १६ विकेट लिएकी छन् । एसिया कपमा पाकिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्दा कप्तान पुजाले ४७ रनको संयमित अविजित इनिङ खेलेकी थिइन् । उनले आवश्यक परेको बेला ब्याटिङ टिकेर खेल्ने अथवा हिटिङ गर्ने क्षमता राख्छिन् । आवश्यक परेको बेला विकेट लिन पनि उनी खप्पिस छिन् ।
विश्वकपमा नेपालले आफ्नो लक्ष्य पूरा गर्न पूजाको प्रदर्शनमा भर पर्नुपर्ने हुन्छ । त्यसबाहेक उपकप्तान सोनी पाख्रिन, सना प्रवीण, सिमाना केसी, रचना चौधरी जस्ता खेलाडीको प्रदर्शन उत्कृष्ट हुन आवश्यक हुन्छ ।
फिटनेसको डर
नेपाली महिला क्रिकेटमा सधैको डर हो फिटनेस । अधिकांश अन्तर्राष्ट्रिय खेलमा नेपाली महिला टोलीको फिटनेसको अभाव देख्न सकिन्छ । गत कात्तिकमा खेलेको विश्वकप छनोट र गत पुसमा भएको एसिया कपमा यु–१९ टोलीको प्रदर्शनमा फिटनेस खड्किएको थियो । दौडन नसक्दा धेरै खेलाडी रन आउटको शिकार भएका थिए ।
फिल्डिङमा पनि केही टाढा रहेका बाउन्ड्री रोक्नदेखि क्याच समाउन नेपाली खेलाडी चुकिरहेको देख्न सकिन्थ्यो ।
यस विश्वकपमा पनि नेपाली टोलीलाई फिटनेसको अभाव देखिने डर छ । नेपाली टोलीको बन्द प्रशिक्षण १२ दिन चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा गरिएको थियो । अभ्यास राम्रो रहेकाले विश्वकपमा फिटनेसको अभाव नखड्किने नेपाली टोलीको विश्वास छ ।
टोलीको बिदाइ कार्यक्रममा नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काले धेरै सुविधा सम्पन्न राष्ट्रसँग लगानी कम भएको राष्ट्रले प्रतिस्पर्धा गर्न लागेकाले क्यानबाट कुनै दबाब नहुने बताएका थिए ।
नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, चना चौधरी, सिमाना केसी, स्नेहा महरा, अनु कडायत र कृश्मा गुरुङ ।