मुक्कुमलुङ- चोत्लुङ अफ याक्थुङ : सांस्कृतिक अतिक्रमणविरुद्ध कलात्मक प्रतिरोध

काठमाडौं । लिम्बूहरूको मुन्धुमले मुजिङ्ना खोयङ्नालाई पहिलो मानव मान्छ । यी पहिलो मानव हावासँगको संसर्गबाट गर्भवती भएपछि सुसुवेन लालावेन भन्ने छोरा जन्मन्छ । मुजिङना खोयङ्नाकी यी छोरा सिकारी हुन्छन् । ऊ सिकार गर्न घर छाडेर निस्कन्छ ।
घर छाडेर निस्कँदा पाँचवटा कुकुरसहित निस्कन्छ । सिकारकै क्रममा चारजना महिलासित सुसुवेन लालावेनको प्रेम हुन्छ, फरक फरक समयमा । ऊ प्रेममा पर्ने महिला पात्रहरू चाहिँ थोसोलुङमा फयिमलुङमा, फान्दारी, योसोलुङमा मुकुप्लुङमा, तुसाङ्लिना हुन् । अन्त्यमा सुसुवेन लालावेन अरुको बारीको पिँडालु खाएकाले श्राप लागेर मर्छ । तर, उसका सन्तानहरू जन्मिसकेका हुन्छन् । तिनै सन्तानहरू अहिलेका लिम्बूहरू हुन् भन्ने मुन्धुमले भन्छ ।
मण्डला थिएटरमा चलिरहेको नाटक ‘मुक्कुमलुङ : चो-त्-लुङ अफ याक्थुङ’ले मुन्धुमको यही सृष्टि कथालाई दर्शकमाझ देखाइरहेको छ । नाटकले यो कथालाई केन्द्रमा राख्नुको एकै उद्देश्य देखिन्छ,- फाक्ताङलुङ हिमाललाई शीर बनाएर बसोबास गर्ने पहिलो मानिसहरू नै लिम्बू थिए । उनीहरूले नै माटो खोस्रिएर पहिलो बिउ गाडेका थिए फाक्ताङलुङको काखमा ।
मानवशास्त्रीहरूका अनुसार काठमाडौंमै हजारौं वर्षअघि मंगोलहरू आइपुगेका थिए । डिएनएहरूको अध्ययन गर्दा १५/१५ हजार वर्ष पहिला मंगोलहरूको पुर्खा काठमाडौं आइपुगेको प्रमाण भेटिन्छ । पूर्वी नेपालको सन्दर्भमा पनि सबैभन्दा पहिला ठूल्ठूला पहाडका गह्राहरू फाँडेर वस्ती बसाल्नेहरू मंगोल थिए । तिनै मंगोलहरूमध्ये सुदूरपूर्वी नेपालमा बसोबास गर्ने लिम्बूहरूको मुन्धुमले भन्छ, ‘मुजिङ्ना खोयङ्नापछि मात्रै मानवहरूको बसोबास सुरू भएको हो ।’ त्यसैले नाटक ‘मुक्कुमलुङ’ ले यो मिथकलाई प्रतीकात्मकरूपमा देखाएको छ ।
कलात्मक तरिकाले दर्शकलाई मुद्दा भनिरहेको नाटक अचानक राजनीतिक बन्न जाँदा दर्शकलाई अलि असहज महसुस हुन सक्छ । झ्याप्पै पहिचानको मुद्दा प्रत्यक्ष रुपमा उठाइँदा दर्शकलाई पढाउन पनि खोजे झैं देखिन्छ । यद्यपि, सायद यसरी भनिनु पनि आवश्यक थियो होला कि !
अहिले मुक्कुमलुङमा केवलकार बन्दैछ । मुक्कुमलुङमा केबलकार बनाइँदै गर्दा आफूहरूको सांस्कृतिक विश्वासमा आघात पुग्ने भन्दै सांस्कृतिककर्मीहरूले विरोध गरिरहेका छन् । राज्य भने जबरजस्ती केवलकार बनाइछाड्ने बाटोमा अग्रसर भइरहेको छ । तर, त्यहाँ किन केबलकार बनाउनुहुन्न ? यही प्रश्नको कलात्मक जवाफ हो, नाटक ‘मुक्कुमलुङ’ ।
नाटकको सुरूवात नाटकघरको प्रांगणबाट सुरू हुन्छ । त्यहाँ तङसिङ गरिन्छ । तङसिङ मूलभूत उद्देश्य नै गाउँको शान्तिका लागि हो । अनि तङसिङ गर्दै यवाहरू(धामीहरू)ले फाक्ताङलुङमा पुगेर शिर उभ्याएर फर्कने हो ।
त्यसरी यवाहरू जाँदा तलबाट बोट बिरुवा जगाउँदै, सबैको शीर उभ्याउँदै, मरेको आत्मालाई घरबाट छुट्याएर लगेर पुर्खासँग भेटाइदिने ठाउँ हो, मुक्कुमलुङ । त्यहाँ पुगेपछि आशिष माग्दै यवाहरू फर्कन्छन् ।
तङसिङबाट सुरू भएको नाटकले मुन्धुम अध्येतालाई नै व्यंग्य गर्दै जान्छ । फान्दारी नामक पात्रलाई कतिपय अध्येताले मान्छे नै मान्छन् भने कतिपयले चरा हो भन्ने दाबी गर्छन् । मुन्धुममै भएको कन्फ्युजनलाई समेत ईंगित गर्दै नाटकको सुरूवात भएको छ ।
नाटकले सांस्कृतिक अतिक्रमणको मुद्दासँगै आदिवासी जनजातिको प्रकृतिसँगको अन्तरघुलन पनि देखाएको छ । जीवजन्तुसँगको अन्तरसम्बन्धलाई पनि खोतल्ने कोसिस गरेको छ ।
तङसिङ सकिएपछि भित्र स्टेजमा मुजिङ्ना खोयङ्ना पात्रको कथाबाट नाटक सुरू हुन्छ । तर, नाटक अलि स्लो छ । दर्शकलाई अलि छटपटी सृजना गर्छ । यसरी स्लो बनाउनुको पनि सायद सांस्कृतिक अर्थ हुन सक्छ । लिम्बूहरूको धान नाच नै पनि अलि सुस्त हुन्छ ।
तर, बिस्तारै नाटकले लय पक्रँदै जान्छ । सुसुवेन लालावेनको मृत्युसँगै मिथक सकिन्छ । नाटकको मुख्य भाग पनि सकिन्छ । यसवेलासम्म नाटकले मूल उद्देश्य भने पूरा गरिसकेको हुन्छ,- ‘मुक्कुमलुङ फगत ढुंगोमात्रै होइन, यो ढुंगोमा लिम्बूहरूको सांस्कृतिक विश्वास अडिएको छ ।’
अनि यस्तो ठाउँमा सांस्कृतिक अतिक्रमण ? निर्माणाधीन केवलकारको औचित्यलाई लिएर दर्जनौं प्रश्नहरू तेर्सिन्छन् ।
नाटकको सबैभन्दा बलियो पक्ष हो, प्रकाशको सुन्दर संयोजन र ब्याकग्राउण्डमा बज्ने बाजाहरू । प्रकाशको कलात्मक संयोजनले स्टेजलाई मर्न दिएको छैन भने ब्याकग्राउण्डमा बज्ने बाजाहरूले कथाको मर्मलाई झनै गज्जबले दर्शकसम्म पुर्याइरहेको छ । प्रकाश परिकल्पनाका लागि सुरज तमु र मानहाङ लावती, प्रकाश परिचालक संजय विश्वकर्मा, प्रत्यक्ष संगीतमा प्रवृत्ति राई, युकेश राई, आशिष माझी र तृष्णा नेम्वाङ धन्यवादका पात्र छन् । संगीत संयोजनका लागि अनिल सुब्बा र संजीत थुलुङ राईको काम प्रशंसालायक छ ।
तङसिङबाट सुरू भएको नाटकले मुन्धुम अध्येतालाई नै व्यंग्य गर्दै जान्छ । फान्दारी नामक पात्रलाई कतिपय अध्येताले मान्छे नै मान्छन् भने कतिपयले चरा हो भन्ने दाबी गर्छन् । मुन्धुममै भएको कन्फ्युजनलाई समेत ईंगित गर्दै नाटकको सुरूवात भएको छ ।
नाटकले सांस्कृतिक अतिक्रमणको मुद्दासँगै आदिवासी जनजातिको प्रकृतिसँगको अन्तरघुलन पनि देखाएको छ । जीवजन्तुसँगको अन्तरसम्बन्धलाई पनि खोतल्ने कोसिस गरेको छ । प्रकृतिलाई चोट नपुर्याइकन बाँच्ने आदिवासी जीवन पद्दतिलाई पनि देखाएको छ । अहिले जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी बनिरहेको बेला रुख काट्दा कसरी काट्ने,क ति संख्यामा काट्दा प्रकृतिलाई हानी हुन्न भनेर भन्नका लागि नाटकले सामाजिक, सांस्कृतिक विश्वासको सहारा लिएको छ ।
तङसिङको अन्त्य चाहिँ बढी नै राजनीतिक बनेको छ । पहिचानको मुद्दाहरू तड्कारो रुपमा उठाइएको छ । कलात्मक तरिकाले दर्शकलाई मुद्दा भनिरहेको नाटक अचानक राजनीतिक बन्न जाँदा दर्शकलाई अलि असहज महसुस हुन सक्छ । झ्याप्पै पहिचानको मुद्दा प्रत्यक्ष रुपमा उठाइँदा दर्शकलाई पढाउन पनि खोजे झैं देखिन्छ । यद्यपि, सायद यसरी भनिनु पनि आवश्यक थियो होला कि !
नाटकको सबैभन्दा राम्रो पक्ष भनेको यसले नाटकले जसरी नै मुद्दाहरूलाई पस्कने कोसिस गरेको छ । रंगमञ्चमा नाटक कम, राजनीतिक आन्दोलन ज्यादा भइरहेको समयमा अनिल सुब्बा निर्देशित नाटकले बडो गज्जबले मुद्दालाई दर्शकसमक्ष पेश गरेको छ ।
गीलु रातोस, अनिल सुब्बा र विष्णु मोक्तानको लेखन रहेको यस नाटकको अर्को बलियो पक्ष हो कलाकारहरूको अभिनय । विष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बू, सौजन सेनेहाङ, भूमिका थारु लगायत कलाकारको अभिनयले नाटकलाई समृद्ध बनाएको छ । तर, सेन्ट बर्नार्ड, ग्रेट डेन, स्कटिस डियरहन्ड जस्ता थरीथरीका विदेशी कुकुर पक्कै पनि सिकारी सुसुवेन लालावेनको कुकुर थिएनन् होला त्यो समयमा । नेपाली रैथाने कुकुरकै टाउको प्रयोग गरेको भए पनि हुने थियो ।
नाटक आउँदो २७ गतेसम्म थापागाउँस्थित मण्डला नाटकघरमा नियमित मञ्चन हुनेछ ।