ओली र विष्णु पौडेलको ‘ड्रिम प्रोजेक्ट’ सिद्धबाबा सुरुङमार्ग- एक वर्षमै कसरी सम्भव भयो ‘ब्रेक थ्रु’ ?
‘मृत्यु मार्ग’लाई सुरुङमार्गमा परिणत गर्ने परियोजनाको प्रधानमन्त्रीको उपस्थितिमा छिचोलिँदै,बुटवल–गोरूसिंगे–चन्द्रौटा सडक खण्डको पनि शिलान्यास हुँदै

रुपन्देही । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको सिद्धबाबा सुरुङ मार्ग अन्ततः काम थालेको छोटो समयमै ‘ब्रेक थ्रु’को चरणमा आइपुगेको छ । २०८० साल माघ ४ गतेदेखि खन्न थालिएको सुरुङ मार्गको ब्रेक थ्रु’ माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।
ब्रेक थ्रु कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत सहभागी हुने कार्यक्रम छ ।
सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डअन्तर्गत निर्माणाधीन १ हजार १२६ मिटरको सिद्धबाबा सुरुङ मार्ग एक वर्षमा ‘ब्रेक थ्रु’को अवस्थामा ल्याइएको इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् । ब्रेक थ्रु गर्ने दिनको लागि एक मिटरको ब्लास्ट बाँकी राखेर अरु काम सकिएको उनको भनाइ छ ।
आयोजनाले पुस मसान्तमै ब्रेक थ्रु गर्ने गरी काम सकेको थियो, तर प्रधानमन्त्रीको समय नमिलेका कारण ढिलाइ भएको हो । सुरुङ मार्गमा आपतकालीन उद्धारको लागि दुई वटा हेलीप्याड हुने इन्जिनियर ज्ञवालीको भनाइ छ ।
हालसम्म सुरुङ मार्गको भौतिक र वित्तीय प्रगति ४० प्रतिशत भएको छ । अहिले टनेलको ढलान र लाइटिङको काम भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका योजना प्रमुख कृष्णराज अधिकारीले माघ ११ गते प्रधानमन्त्रीबाट अन्तिम ब्रेक थ्रु गर्ने कार्यक्रमको सबै तयारी भएको जानकारी दिए ।
सिद्धार्थ राजमार्गको दोभानदेखि चिडिया खोलासम्म चार किमि अत्यधिक पहिरो आउने क्षेत्रभित्र पर्छ । यस खण्डलाई ‘मृत्युमार्ग’ का रूपमा समेत परिचय दिन थालेपछि सरकारले सुरुङ मार्गको अध्ययन गरेर बजेट व्यवस्था गरेको थियो ।
सिद्धबाबा सुरुङका लागि २०७७ साल मंसिर १ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेको थियो । २०७८ साल जेठ ९ मा सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको छ । यसको निर्माणपछि सोही कम्पनीले ५ वर्षसम्म मर्मतको कामसमेत गर्ने सर्त रहेको छ ।
सिद्धबाबा सुरुङ आयोजनाको ठेक्का प्रक्रिया २०७८ सालमै सम्पन्न भएको थियो । सीएससीईसीले इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङ मार्गको चाइना कम्पनीले ठेक्का पाएको हो । नारायणगढ-बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्गको काम गरिरहेको छ ।
नारायणगढ-बुटवल सडक खण्डको काममा ढिलाइ गर्दा आलोचना खेपेको कम्पनीले ठेक्का सम्झौताअनुसार दुई वर्षभित्र सुरुङ मार्ग निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुबैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइनेछ । सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइनेछ । यसले सडक माथिबाट खस्ने ढुंगाहरुलाई सीधै तल झार्नेछ । यसरी कुल ३ किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ ।
यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्याएसँगै सरकारले यहाँ सुरुङ मार्ग निर्माणको निर्णय गरेको थियो ।
२०२२ सालमा सिद्धार्थ राजमार्ग निर्माण सुरू भएको थियो । २०२८ सालमा पोखरासम्म पूरा भए पनि सरकारलाई २०३५ सालमा बुझाइएको थियो ।
रुपन्देहीको सिमाना चिडिया खोलादेखि झुम्सासम्मको ९ किलोमिटर क्षेत्र अत्यन्तै जोखिमपूर्ण मानिन्छ । त्यसमा पनि झण्डै चार किलोमिटर क्षेत्रमा हिउँद होस् वा वर्षा जहिले पनि ढुंगा तथा पहिरो झर्ने गरेको छ ।
सडक निर्माण गर्दा कमजोर भौगर्भिक स्थानबाट रेखांकन भएकाले पनि अहिले समस्या भएको बताइन्छ । जसले गर्दा सडक मर्मतसम्भार गर्नसमेत चुनौतीपूर्ण हुने गरेको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्र अन्यत्रभन्दा बढी जोखिमपूर्ण मानिन्छ । झण्डै चार किलोमिटर क्षेत्रमा पछिल्लो १४ वर्षमा ९८ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा छ । यस अवधिमा ६७ दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । १८ वर्षको तथ्यांकमा तानसेन-बुटवल ३८ किलोमिटर सडकमा २०० बढीको ज्यान गएको छ । ७०० बढी घाइते र अंगभंग भएका छन् ।
बजेटमा सिद्धबाबा सुरुङ मार्ग
आ.व. २०७३/०७४ : प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल
- सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरूङ मार्ग निर्माणको विस्तृत अध्ययन तथा परियोजना प्रस्ताव तयार गर्न बजेट विनियोजन । यी स्थानहरूमा अध्ययन सम्पन्न भई विस्तृत परियोजना प्रस्ताव तयार हुनासाथ सुरूङ मार्ग निर्माण कार्य प्रारम्भ गरिनेछ ।
आ.व. २०७५/७६ : प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडा
- सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकको सिद्धबाबा खण्डमा सर्भेक्षण गरी सुरूङ मार्ग निर्माण प्रारम्भ गरिनेछ ।
आ.व. २०७६/०७७ : प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडा
- बुटवल-पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरूङ मार्ग निर्माण सुरू गर्ने ।
आ.व. २०७७/०७८ : प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडा
- सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरूङ मार्ग निर्माण सुरू गरिने ।
आ.व. २०७८/०७९ : प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल
- सिद्धार्थ राजमार्गको सिद्धबाबा-दोभान खण्ड निर्माण प्रारम्भ गर्न बजेट व्यवस्था ।
आ.व. २०७९/०८० : प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा
- सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकमा पर्ने सिद्धबाबा खण्डमा सुरूङ मार्ग निर्माण कार्य सुरू गरिनेछ ।
आ.व. २०८०/८१ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महत
- सिद्धबाबा सुरूङ मार्गको निर्माण कार्यलाई तीब्रता दिइनेछ ।
आ.व. २०८१/०८२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुन
- मुख्य सुरूङ खन्ने कार्य सम्पन्न गरिनेछ ।
कहिले पूर्ण हुन्छ सिद्धबाबा सुरुङ मार्ग ?
सुरुङ मार्ग छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्ने भएको छ । जसले गर्दा सवारीसाधन गुडाउन एक वर्ष अझै लाग्ने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ मार्गको उत्तर र दक्षिणतर्फको बाहिरी सडकको स्तरोन्नतिको काम र रकनेट गर्ने काम बाँकी छ । रकनेटका लागि पहाडको थोरै भाग काट्ने र नेट बिछ्याउने काममा केही ढिलाइ भएको छ ।
योजना प्रमुख अधिकारीका अनुसार रक सेड, पहुँच सडकको निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी छ । बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर, स्लोप प्रोटेक्सनको काम हुनेछ । त्यसबाहेक सडकमा ९०० मिटर लामो ढुंगा रोक्ने छानो (रक सेड) पनि बनाउनुपर्नेछ । त्यसबाहेक करिब एक किलोमिटर क्षेत्रमा ढुंगा खस्नबाट रोक्न जाली पनि बाँधिनेछ । यस खण्डमा सडकलाई दुई लेनको बनाउने गरी काम हुने आयोजनाले जनाएको छ ।
यस्तै सम्झौता शर्तअनुसार सुरुङ मार्गको वारेन्टी, सञ्चालन तथा मर्मतसम्भारको लागि ५ वर्ष तोकिएको छ । यो ५ वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्ने जिम्मेवारी ठेक्का पाउने कम्पनीकै हुनेछ । निर्माणकै क्रममा रहेकाले यो सुरुङ मार्ग प्रयोग गरी सवारीसाधन गुडाउनेले शुल्क तिर्नुपर्ने वा नपर्ने विषयमा अहिले मोडालिटी तयार भएको छैन । सुरुङ मार्गमा ६० किलोमिटर प्रतिघण्टाको दरले सवारीसाधन गुडाउन पाइने व्यवस्था छ ।
अर्को महत्वपूर्ण आयोजना शिलान्यास गरिँदै
यसै दिन रुपन्देही र कपिलवस्तु जोड्ने मुख्य राजमार्ग स्तरोन्नतिको शिलान्यास गरिने भएको छ । प्रधानमन्त्री ओलीले बुटवल-गोरूसिंगे-चन्द्रौटा सडक खण्डको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको हो ।
सडक आयोजनाका प्रमुख कुशलता न्यौपानेले प्रधानमन्त्री सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सेलिब्रेसन गर्न आउँदा त्यही मौकामा सडकको औपचारिक शिलान्यास कार्यक्रम राखिएको बताइन् । बुटवल जीतगढीमा सडक शिलान्यास कार्यक्रम रहेको उनले बताइन् ।
‘सडकको काम शुरू भइसकेको छ, पहिला पुलहरू बन्नेछन्, अहिले बुटवल-नारायणगढ जस्तो जताततै भत्काइँदैन । जति बनाउने हो, त्यति भत्काउँदै अघि बढ्ने हो’, उनले भनिन् ।