सिरहामा किसानहरुद्वारा खुटी नहर कब्जा गरेको घोषणा – Nepal Press

सिरहामा किसानहरुद्वारा खुटी नहर कब्जा गरेको घोषणा

लहान । खुटी नहर संरक्षणका लागि लहान नगरपालिकाविरुद्ध आन्दोलन गर्दै आएको खुटी खोला सिंचाइ संघर्ष समितिले आज लहानमा विशाल जनप्रदर्शन गरेको छ ।

ऐतिहासिक खुटी नहरको अस्तित्व मासेर नगरपालिकाले ढल बनाउन थालेपछि किसानहरुले लहान नगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् । दोस्रो चरणको आन्दोलनअन्तर्गत किसानहरुले आज जनप्रदर्शन गरेका हुन् ।

लहान नगरपालिकाका मेयर र सिंचाइ डिभिजन कार्यालय सिरहा प्रमुखविरुद्ध पुतलासहित किसानहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनपछि उनीहरुले खुटी नहरमा किसान संघर्ष समितिको झन्डा गाडेका छन् । नहर आफूहरुले कब्जा गरेको किसानहरुले घोषणा गरेका छन् ।

आज प्रदर्शनकारीले पूर्वघोषित चक्काजाम कार्यक्रमलाई खुकुलो बनाएर सडकको दायाँबायाँबाट यातायात सञ्चालन गर्न दिएका छन् । किसानहरुले सडकको बिच भाग भने कब्जा गरेका छन् ।

चार महिनादेखि आन्दोलन गरे पनि आफूहरुको आन्दोलनलाई बेवास्ता गरेको भन्दै किसानहरुले मेयर चौधरीको पुतलालाई पटक पटक पिटेर आक्रोश पोखेका थिए ।

पशुपति आदर्श उच्च माध्यमिक विद्यालय लहानको प्रांगणबाट शुरु भएको जनप्रदर्शन घन्टाघर, खुटी नहर हुँदै बजार परिक्रमापछि शहीद चौकमा कोणसभामा परिणत भएको थियो ।

आन्दोलनका अगुवा हेमन्त यादवले कोणसभालाई सम्बोधन गर्दै केही माडवारी समुदायका व्यापारीको कमिसनमा परेर किसानहरुलाई मेयर चौधरीले लात हानेको आरोप लगाए ।

संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीले आफूहरुले मात्र पानीका लागि आन्दोलन गरेकाले सबैलाई साथ दिन आग्रह गरे ।

पानी किसानलाई मात्रै नभएर मानवदेखि पशुपक्षीका लागि पनि आवश्यक रहेकाले आन्दोलन गर्नुपरेको चौधरीले जिकिर गरे ।

आन्दोलनमा पार्टीका सांसद तथा नेताहरुले साथ नदिएकोमा चौधरी आक्रोश पोख्दै किसानहरुको आन्दोलन उत्कर्षमा पुगे पनि किसानको मतले जितेर गएका सांसदहरुले सदनमा एक पटक पनि आवाज नउठाएकाले मेयरसँगै उनीहरुलाई अब कालोमोसो दल्ने चेतावनी दिए ।

किसानहरुले पहिलो चरणअन्तर्गत धर्ना जुलुस, अन्तरक्रिया, विरोध प्रदर्शन, सार्वजनिक, सुनुवाइ कार्यक्रम गरेका थिए । त्यसैगरी दोस्रो चरणमा किसानहरुले गत आइबार साँझ मसाल जुलुस प्रदर्शन गरे । सोमबार शान्तिपूर्ण प्रदर्शन, मंगबार इलाका प्रशासन कार्यालय लहान र जिल्ला उद्योग वाणिज्य संघमा ध्यानाकर्षण पत्र बुझाए । बुधबार नगरपालिका घेराउ, शुक्रबार पुतला दहन र आज जनप्रदर्शन गरेका छन् ।

खेतमा पानी जाने नहरलाई मेयर चौधरीले कमिसनको लोभमा ढल बनाएको किसानहरुको आरोप छ । नहर सञ्चालन हुँदा लहान नगरपालिका वडा नम्बर १, २, ३, ११, १२, १९, २०, २१, २२ र २३ सहित सखुवा नन्कारकट्टी, भगवानपुर गाँउपालिकादेखि बोर्डरसम्मका किसानहरुको खेतमा सिंचाइ सुविधा पुग्थ्यो ।

नहर सञ्चालनका लागि खुटी नहरको मुहानमा दुई वर्षअघि प्रदेश सरकारको १० करोड लगानीमा हेडबक्स निर्माण भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *