पाथीभराको गोलीकाण्ड: अस्पतालकाे बेडबाट घाइतेहरु के भन्छन् ? – Nepal Press

पाथीभराको गोलीकाण्ड: अस्पतालकाे बेडबाट घाइतेहरु के भन्छन् ?

काठमाडौं । गत माघ १२ गते ताप्लेजुङको बलु डाँडामा प्रहरीले चलाएको गोली लागेर घाइते भएकाहरु अहिले काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत छन् । गत मंगलबार पाथीभरामा केवलकार निर्माण कम्पनीले काम सुरु गरेपछि प्रतिराेधमा उत्रिएको समूहमाथि प्रहरीले गोली चलाएको थियाे ।

गाेली लागेर घाइते भएका सगुन लावती (१८) को अवस्था गम्भीर भएको बताइएको छ । पारिवारिक स्रोतका अनुसार  लावतीलाई आइतबार राति साढे एक बजे पुनः आईसीयुमा सारिएको छ । लावतीको देब्रे भागबाट छातीभित्र छिरेको गोलीले दुईवटा करङ पनि भाँचेको छ ।

अर्का घाइते यामबहादुर सुक्वाबा (३३) को देब्रे तिघ्राको हड्डी फोरेर गोली वारपार भएको छ । सुक्वाबाको हिजो राति शल्यक्रिया सम्पन्न भयाे । अर्का घाइते धनपाल पालुङ्वा (२०) को काँधको हड्डी नै भाँचिएकाे छ । उनलाई प्रहरीले बन्दुककाे कुन्दाले हानेका थिए । अब दुई तीन दिनमा मात्रै पालुङ्वाको शल्यक्रिया हुने डाक्टरहरुले बताएका छन् ।

पालुङ्वा पाथीभरा दर्शनमा आएका वृद्धवद्धा, अशक्तलाई त्यहाँ पुर्याउने भरिया हुन् । मान्छेलाई बोकेर पाथीभरा दर्शन गराएर पाँच जनाको परिवार पालिरहेका थिए उनले । काँधको हड्डी भाँचिएपछि फेरि मान्छे बोक्न सक्लान् कि नसक्ने चिन्तामा छन् उनी ।

कुराकानीकै क्रममा उनले भने, ‘अब फेरि काममा नफर्किई सुख छैन । हड्डी भाँचिएको छ, अब कसरी मान्छेलाई बोकेर आफ्नो र परिवारको पेट पाल्नु कुन्नि !’

पालुङ्वाकाे बयान- यसरी चल्याे गाेली

त्यस दिन सुरुमा त हामी आठ-नौ जनामात्रै बसिरहेका थियौं । हामी पसलमा बसेर खाजा खाइरहेका थियौं । हामीसँगै बुढा बाजेहरु पनि हुनुहुन्थ्यो । उहाँहरु ७०-७२ वर्षका हुनुहुन्थ्यो ।

अचानक सशस्त्र प्रहरीहरु आए । उनीहरु ३०-४० जना थिए । उनीहरुले ‘गुलेली कहाँ छ, झिक्’ भन्दै हामीलाई बाहिर घिसारे, न्याकनुक पारे। अनि कुट्न थाले । बुढा बाजेहरुलाई पनि लौरोले कुटे ।

पिटेपछि उनीहरुले हामीलाई छाडिदिए । अनि भएभरका सबै घरमा आफैं पसे । घरमा भएका सामानहरु खोतलखातल पारे । आन्दोलनकारीहरु खोजे ।

सशस्त्र प्रहरीहरुले घरहरु खोतलखातल पारेर घाँस दाउरा काट्ने खुकुरी, हँसियाहरु सबै उठाएर लिएर गए । पछि संघर्ष समितिका मान्छेहरु आउनुभयो । उहाँहरुले सोधीखोजी गर्नुभयो । यसपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी फेरि आउनुभयो । साइँसाइँ सुइँसुइँ पार्दै आउनुभएको थियो । १२-१३ चोटी बन्दुक पड्काउनुभयो । हवाई फायर भन्छन् क्यार त्यसलाई ।

यसपछि फेरि एकछिन शान्त भयो । एक जना दाइ हुनुहुन्थ्यो, मलाई नाम त याद छैन । उहाँ हाम्रो समूहमा सबैभन्दा अगाडि हुनुहुन्थ्यो । उहाँले ‘अब केही हुँदैन, शान्तिपूर्ण आन्दोलन हो, उनीहरुले केही गर्दैन, हामीले पनि केही गर्नुहुँदैन’ भन्दै हुनुहुन्थ्यो । पुलिसले ‘के गरेको ?’ भन्दै उहाँलाई पछारे।

अनि हामीले पुलिस र दाइलाई छुट्याउन थाल्यौं । दाइलाई तानातान भयो । यसपछि त उनीहरुले ड्याम कि ड्याम सबैलाई कुट्न थाले । अनि त हामीले पनि ढुंगामुढा हान्यौं । अनि फेरि एकछिन साम्य भयो । हामी पनि चुप लाग्यौं । उनीहरु र हामी थोरै पर थियौं । यसैबेला ड्याम्मै बन्दुक पड्कियो । हामी भाग्यौं । अनि उनीहरुले गोली हाने । बन्दुकको कुन्दाले हिर्काए ।

उनीहरुले माइकिङ पनि गरेनन् । पछाडि हट्नु पनि भनेनन् । हामी शान्त भएर बस्दा पनि आएर कुटे।

– तपाईं आन्दोलनमा जानुको उद्देश्य के हो ?

हामी काम पनि गर्थ्यौं । मान्छेलाई बोकेर पाथीभरा दर्शन गराउँथ्यौं । केवलकार बन्नुहुँदैन भन्ने थियो । म तीन सालदेखि त्यहाँ काम गरिरहेको छु । पोहोर सालदेखि चाहीँ केवलकार बन्नुहुँदैन भनेर आन्दोलनमा जोडिएँ । प्रकृतिको नाश गर्छ, हाम्रो संस्कृतिमा समस्या आउँछ भन्ने थाहा पाएपछि आन्दोलनमा जोडिएँ । त्यहाँ लाइसेन्स लिएरै काम गर्नेमात्रै हामी ६०० जना छौं । मान्छे बोकेर लानलाई पनि लाइसेन्स चाहिन्छ । लाइसेन्सका लागि नागरिकता चाहिन्छ, अनि समितिको मान्छेले लाइसेन्स बनाइदिन्छ ।

– तपाईंले बुझेको आन्दोलन चाहीँ केका लागि हो ?

त्यो ठाउँ जस्तो छ, त्यस्तै हुन दिनुपर्छ भन्ने हाम्रो कुरा छ ।

– तपाईंहरुलाई कसैले उचालेको हो कि ?

म चाहिँ मेरै इच्छाले गएको हो । कसैले जुम् भनेर उल्क्याएर गएको होइन, म आफैं गएको हो । अब हड्डी निको भएपछि त्यही गएर काम पनि गर्छु, आन्दोलनमा पनि भाग लिन्छु ।

गाेली लागेका यामबहादुर लिम्बू

टिचिङ अस्पतालमा उपचाररत एक घाइतेमध्ये यामबहादुर लिम्बूलाई चाहिँ रमिता हेरिरहेको बेला गोली लागेको थियो । त्यस दिन लिम्बू पाथीभराको दर्शनका लागि तेह्रथुमबाट एक जना साथीसहित गएका थिए उनी ।

पाथीभराको दर्शन गरेर फर्किँदै गर्दा आन्दोलन भइरहेको देखेको लिम्बू बताउँछन् ।

उनले भने, ‘तल आन्दोलन भइरहेको थियो । साथी र मैले माथि बाटोबाट हेरिरहेका थियौं । प्रहरीले अन्धाधुन्ध फायर गरिरहेको थियोे । त्यहीबेला मलाई लाग्यो । बेहोस चाहिँ भइनँ, म ढलेँ ।’

लिम्बूका अनुसार आन्दोलनकारी डेढ सय जति थिए । सशस्त्र र नेपाल प्रहरी पनि थुप्रो थिए । मुठभेड भइरहेको थियो ।

‘सुरुमा त हवाई फायरिङ गरिरहेको थियो, तर मलाई कसरी लाग्यो, थाहै पाइनँ’, लिम्बूले सुनाए, ‘म त पेशाले किसान हुँ । मेरो घर तेह्रथुम पाटी गाउँ हो । मेरा दुई छोरी र एक छोरा छन् ।’

लिम्बूले थप भने, ‘प्रहरीले माइकिङ चाहिँ गरिरहेको थिएन । अचानक फायरिङ गरेको थियो । मलाई त्यहाँ चलिरहेको आन्दोलनबारे अलिअलि थाहा थियो, तर मैले आन्दोलन बुझेकै थिएन । अञ्जानमा ममाथि पनि गोली चलाइयो ।’

लामो समयदेखि चलिरहेको थियो आन्दोलन

आज आइतबार निर्णायक आन्दोलन गर्ने योजनामा रहेका आन्दोलनकर्मीलाई तितरबितर पार्न गत शुक्रबार प्रहरीले बल प्रयाेग गरेकाे थियो । मुन्धुमअनुसार पाथीभरा क्षेत्र लिम्बूको पवित्र भूमि भएको र त्यहाँ केबलकार बनाइनु सांस्कृतिक अतिक्रमण हुने आन्दोलनकारीहरुको दाबी छ । उक्त ठाउँ मुक्कुमलुङ भएको र त्यो ठाउँ जस्तो छ, त्यस्तै रहन दिनुपर्छ भनेर लामो समयदेखि पहिचान पक्षधरहरुले दबाब दिइरहेका छन् ।

यसपटक केबलकार निर्माणको काम नै सुरु भएपछि उनीहरु प्रतिरोधमा उत्रिरहेका थिए । तर शनिबार आन्दोलन गर्न नपाउँदै आफूहरुमाथि गोली चलाइएकाे आन्दोलनकारीको दाबी छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले  भने आन्दोलनकारीले ढुंगामुढा गरेपछि सुरक्षाकर्मीले गोली चलाएको बताएका छन् ।

मुन्धुमले के भन्छ ?

लिम्बूहरुको मुन्धुमले मुजिङना योयङ्नालाई पहिलो मानव मान्छ । यी पहिलो मानव हावासँगको संसर्गबाट गर्भवती भएपछि सुसुवेन लालावेन भन्ने छोरा जन्मन्छ । मुजिङ्ना खोयङ्नाका छोरा शिकारी हुन्छ । ऊ शिकार गर्न घर छाडेर निस्कन्छ ।

घर छोड्दा पाँचवटा कुकुरसहित निस्कन्छ । शिकारकै क्रममा चारजना महिलासित सुसुवेन लालावेनको प्रेम हुन्छ, फरक फरक समयमा । ऊ प्रेममा पर्ने महिलाहरुको नाम चाहिँ थोसोलुङ्मा फियामलुङ्मा, फान्दारी, योसोलुङ्मा मुक्कुलुङमा, तुसाङ्लिना हुन् ।

अन्त्यमा सुसुवेन लालावेन अरुको बारीको पिँडालु खाएकाले श्राप लागेर मर्छ, तर उसका सन्तानहरु जन्मिसकेका हुन्छन् । तिनै सन्तानहरु अहिलेका लिम्बूहरु हुन् भनेर मुन्धुमले भन्छ । पाथीभरा क्षेत्रमा फाक्ताङलुङ हिमाललाई शिर बनाएर बसोबास गर्ने पहिलो मान्छे लिम्बू भएको पनि मुन्धुमले भन्छ ।

यसपछि मात्रै अहिलेको ताप्लेजुङ क्षेत्रमा मानव बस्ती सुरु भएको विश्वासका आधारमा लिम्बूहरु मुक्कुमलुङलाई पवित्रस्थलका रुपमा लिन्छन् । त्यसैले त्यहाँ सांस्कृतिक अतिक्रमण हुने भन्दै उनीहरुले केबलकार बनाउने हल्ला चलेदेखि नै प्रतिरोध गरिरहेका छन् । यो आन्दोलन नरोक्ने र केबलकार निर्माण रोकेरै छाड्ने उनीहरुकाे अडान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर