राप्रपामा रेखा थापाले बदलिन् गुट, लिङ्देनबाट फड्केर धवलको कित्तामा
महिला महामन्त्रीमा चुनावी प्रतिस्पर्धा गरेका कुन्ती शाही र रेखा थापा अहिले एउटै गुटमा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पछिल्लो केन्द्रीय समिति वैठकका क्रममा पार्टीभित्रको गुटबन्दी छताछुल्ला भयो । महामन्त्री डा. धवलशम्शेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई आरोपित गर्दै लिखित विचार राखेपछि वैठक तरंगित भएको थियो ।
राणा राप्रपाको आगामी महाधिवेशनमा अध्यक्षका आकांक्षी हुन् । त्यसका लागि वातावरण बनाउन उनले अहिल्यैबाट कसरत सुरू गरेको संस्थापनपक्षीय केन्द्रीय सदस्यहरूको बुझाइ छ । यद्यपि, पार्टी वैठकमा औंलामा गन्न सकिने केन्द्रीय सदस्यहरूमात्र धवलको पक्षमा खुले । उनीहरूमध्ये एक थिइन् रेखा थापा । पार्टीको कार्यसम्पादन समिति सदस्यसमेत रहेकी रेखाले आफूले गुट बदलेको स्पष्ट जनाउ बैठकमा दिइन् ।
राप्रपाभित्र खासै हाइप्रोफाइल नभए पनि चर्चित अभिनेत्री भएका कारण रेखाको विषयमा चासो हुने गर्छ । उनले गत महाधिवेशनमा लिङ्देनको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दिएकी थिइन् । तर, कमल थापाको प्यानलबाट उठेकी कुन्ती शाहीसँग पराजित भइन् । कुन्तीले २००८ मत ल्याएर चुनाव जित्दा रेखा १६४० मत ल्याएर दोस्रो भएकी थिइन् । कालान्तरमा अहिले कुन्ती र रेखा दुवै लिङदेनविरोधि एउटै कित्तामा खडा हुन पुगेका छन् ।
लिङ्देनसँग रेखाको सम्बन्ध बिग्रिएको चाहीँ ठीक एक वर्ष भयो । गत वर्ष माघमा रेखा आफ्नो पहिलो सन्तानलाई जन्म दिनका लागि अमेरिका उडिन् । अमेरिका जाने विषयमा उनले पार्टीलाई जानकारी दिएकी थिइनन् । यो खबर मिडियामा आएपछि लिङ्देनले सार्वजनिक कार्यक्रममै टिप्पणी गरेका थिए ।
उनले भनेका थिए, ‘एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोस्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका । जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’
लिङदेनको यो टिप्पणीले रेखा आक्रोशित बनिन् । अमेरिकाबाटै उनले सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्षलाई कडा जवाफ फर्काएकी थिइन् । उनले लिङदेनकी छोरी पनि अमेरिकामा बसिरहेको भन्दै लेखेकी थिइन्, ‘देशको माया हुनेहरुले आफ्नो सन्तालाई फिर्ता बोलाए हुन्थ्यो । किन अमेरिकामा राखेको ?’
यही सवाल जवाफपछि बिग्रिएको सम्बन्धमा अहिलेसम्म सुधार आउन सकेन । अमेरिकाबाट फर्किएपछि रेखा पार्टीमा त्यति सक्रिय पनि छैनन् । उनी यदाकदा मात्रै बैठकहरूमा आउने गर्छिन् । स्रोतकाअनुसार अस्ति तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा रेखा ३५ मिनेटमात्रै बसेकी थिइन् । अध्यक्षको आलोचना गरिन् र फर्किइन् ।
रेखाले लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन् । साथै, समानुपातिक सांसद बनेका र लिङदेनले पार्टीको विभन्न निकायमा मनोनयन गरेका नेताहरुले उनीप्रति अनावश्यक भक्तीभाव देखाउने गरेको समेत आरोप लगाइन् । संगठन विभाग प्रमुखबाट धवल शम्शेरलाई हटाइएकोप्रति आलोचना गरिन् । आफू सन्तान जन्माउँदा अमेरिका गएको भनेर गरिएको टिप्पणी र बिरामी अवस्थामा धवलशम्शेरलाई जिम्मेवारीबाट हटाउने काम उस्तै भएको रेखाको टिप्पणी थियो ।
‘म बच्चालाई जन्म दिन अमेरिका जाने बेला आएको अभिव्यक्ति दु:खद थियो, तर मैले माइन्ड गरको छैन,’ उनले थपिन् ।
अध्यक्ष लिङ्देन आफैँले रेखालाई लक्षित गरेर बैठकमा कुनै टिप्पणी गरेनन् । तर, संस्थापनपक्षीय केन्द्रीय सदस्य खुस्बु ओलीले रेखालाई जवाफ दिएकी थिइन् । उनले ३५ मिनेट बैठकमा बसेर नेतृत्वलाई मनलाग्दी भन्ने प्रवृत्ति ठिक नभएको भन्दै रेखालाई कटाक्ष गरिन् । खुस्बु पछिल्लो समय राप्रपामा उदाएकी युवा नेतृमा पर्छिन् ।