खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्र प्रवेश गर्ने सवारी साधनले प्रतिसिट ५० रुपैयाँ तिर्नुपर्ने
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र प्रवेश गर्ने सवारी साधनको लागि शुल्क तोकेको छ । गाउँपालिकाले सडक मर्मत सम्भार बापतको शुल्क भन्दै सवारी साधनकाे लागि शुल्क तोकेको हाे ।
गाउँपालिकाले एक सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ र सडक मर्मत सम्भार शुल्क ढुवानी साधन (प्रति क्विनटल) प्रति पटक १० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने छ ।
गाउँपालिकाको आर्थिक ऐन, २०८१ को दफा १३ एवम् अनुसूची १२ मा व्यवस्था भए अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्र भित्र प्रवेश गरी संचालन गर्ने सवारी साधन सेवा शुल्क तोकेको गाउँपालिकाले जनाएको छ ।
सेवा शुल्क पालिकाको वडा नं। १ खरिखोलामा अवस्थित नगर प्रहरी पोष्टमा बुझाउन समेत अनुरोध गरेको छ ।
सगरमाथा क्षेत्र सोही गाउँपालिकामा पर्दछ । अब सगरमाथा क्षेत्र प्रवेश गर्ने सवारी साधनले प्रतिसिटको हिसाबले रकम गाउँपालिकालाई तिर्नुपर्ने छ ।