प्रहरीमा जुनियर अधिकृत निरन्तर अपहेलित- खुला प्रतिस्पर्धाका इन्स्पेक्टर पनि एसपीबाटै घर जाने खतरा
![](https://www.nepalpress.com/wp-content/uploads/2024/08/Nepal-Police-2.jpg)
काठमाडौं । दावेदारको तुलनामा रिक्त दरबन्दीको संख्या निकै कम हुँदा नेपाल प्रहरीका वरिष्ठ सईदेखि इन्स्पेक्टर दर्जाका अधिकृतमा चरम निराशा छाएको छ । जागिर खाँदाको योजनाविपरीत ढिलो बढुवा र सानो दर्जाबाट अवकाश हुनुपर्ने स्थितिका कारण उनीहरुमा निराशा छाएको हो ।
उच्च अधिकृतका हकमा अवकाशको मुखैमा बढुवा दिइने भए पनि इन्स्पेक्टर, वरिष्ठ सई जस्ता दर्जाका अधिकृतका हकमा त्यस्तो व्यवस्था छैन । बरु अवकाशपूर्व मानार्थ बढुवास्वरुप एक दर्जा पदोन्नति दिने व्यवस्था छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले गत शुक्रबार ३७ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेपछि डीएसपीको रिक्त संख्या ७५ पुगेको छ । त्यसमध्ये २०६४ सालका इन्स्पेक्टरमध्ये चन्द्रबहादुर थापा डीएसपी हुन बाँकी छन् । यदि उनी बढुवामा समेटिए भने २०७० सालका ७९ इन्स्पेक्टरमध्ये ७४ जनाले डीएसपीमा बढुवा पाउँछन् । उक्त व्याचका पाँच इन्स्पेक्टर छुट्छन् ।
प्रहरी ऐनअनुसार स्नातक वा सोसरहको शैक्षिक योग्यता भएका र २१ वर्ष पूरा भई २५ वर्ष नकटेका नेपाली नागरिकले इन्स्पेक्टर दर्जामा भर्ना हुन पाउँछन् । इन्स्पेक्टरमा भर्ना भएको एउटा अधिकृतले १० वर्ष जागिर खाएपछि डीएसपी हुने मौका पाउने व्यवस्था छ, तर २०७० सालमा भर्ना भएका इन्स्पेक्टरले सेवा प्रवेश गरेको १२ वर्ष पुग्न लाग्दा पनि बढुवाको टुंगो छैन ।
खुला प्रतिस्पर्धाबाट भर्ना भएका उक्त व्याचका इन्स्पेक्टरहरु अहिले कम्तीमा ३१ देखि ३६ वर्ष उमेरका भइसके । दरबन्दी संख्याको संकुचनका कारण उनीहरुले डीएसपी बढुवा भएपछि एसपी हुन फेरि अर्को १२ देखि १५ वर्ष पर्खिनुपर्ने स्थिति छ ।
अहिले ३५–३६ वर्ष उमेर पुगेका इन्स्पेक्टर अहिल्यै बढुवा भएछन् भने पनि एसपी हुने बेलासम्म ४७-४८ वर्षका हुन्छन् । एसएसपी दरबन्दी न्यून भएका कारण उनीहरुले समयमा बढुवा नपाउँदा एसपी दर्जाको उमेरहद ५४ वर्षमा अवकाश हुनुपर्ने खतरा विद्यमान छ ।
यस्तै समस्यामा छन्, २०७२, २०७४, २०७५ र २०७६ सालमा भर्ना भएका इन्स्पेक्टरहरु । २०७० सालका पाँच इन्स्पेक्टर अहिले नै डीएसपी बन्न नसक्दा त्यसपछिको व्याचका इन्स्पेक्टरहरुले सरदर १२ देखि १५ वर्षसम्ममा डीएसपी हुने मौका पाउने सम्भावना छैन । त्यसमाथि भर्ना हुने इन्स्पेक्टरको संख्या नै बढी छ । २०७२ मा १३२, २०७४ मा ८५, २०७५ मा १९२ इन्स्पेक्टर खुला प्रतिस्पर्धामा भर्ना भएका छन् ।
सामान्यतया नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएको अधिकृतले संगठनको आईजी, एआईजी र डीआईजीसम्म हुने सपना बोकेका हुन्छन्, तर संगठनले जनशक्तिको चापको अनुपातमा उचित व्यवस्थापन गर्न नसक्दा इन्स्पेक्टरमा भर्ना भएका अधिकृतहरु एसपी र एसएसपीबाटै अवकाश हुनुपर्ने अवस्थामा पुगेका छन् । तीमध्ये अधिकांश उमेरहदका कारण अवकाश हुने खतरामा छन् ।
प्रहरी ऐनले प्रहरी सेवामै रहेका कर्मचारीलाई अधिकृत भर्नाको सुविधा दिने क्रममा उमेरहद ३५ तोकेको छ । राजपत्रांकिततर्फ इन्स्पेक्टर (शाखा अधिकृतसरह) र राजपत्र अनंकिततर्फ असई (खरिदारसरह)मा खुला प्रतिस्पर्धाबाट भर्ना लिने गरेको छ । त्यसरी उत्तीर्ण भएका अधिकृतले त अरुभन्दा पहिल्यै उमेरहद सामना गर्नुपर्ने स्थिति छ ।
प्रहरीमा एसपीको ५५, डीएसपीको ५४, इन्स्पेक्टरको ५३ र वरिष्ठ सईको ५१ वर्षे उमेरहद तोकिएको छ । माथिल्लो दर्जामा पद रिक्त हुँदा एआईजी र आईजीसम्म हुने उनीहरुको सपनामा उमेरहदको तुषारापात लाग्दैछ ।
इन्स्पेक्टर दर्जाको दरबन्दी न्यून भएपछि प्रहरीमा ‘वरिष्ठ सई’ को पद सिर्जना गरियो । अहिले संगठनमा १ हजार ४०० भन्दा बढी वरिष्ठ सई छन्, तर तिनले इन्स्पेक्टरमा कहिले बढुवा पाउने हुन्, टुंगो छैन । अहिले ७५ इस्पेक्टरले डीएसपीमा बढुवा पाए भने रिक्त हुने इन्स्पेक्टरका दावेदार यिनै १ हजार ४०० वरिष्ठ सईमध्ये नै हुन्, तर रिक्त सम्पूर्ण दरबन्दीमा उनीहरुले मात्रै बढुवा पाउँदैनन् ।
प्रहरीको बढुवा कार्यविधिअनुसार खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने पदमा बढुवा दिँदा विभागीय टोलीलाई ४० प्रतिशतको मात्रै सुविधा दिइएको छ । बाँकी ६० प्रतिशत जनशक्ति खुला प्रतिस्पर्धाबाट छनोट गर्नुपर्छ ।
त्यसैले सबैको पालो नआउने निश्चित छ । वरिष्ठ सईमध्ये बढीमा १०० जनाले इन्स्पेक्टर हुने मौका पाउँछन् । बाँकी वरिष्ठ सईबाटै अवकाश हुने अवस्थामा छन् । त्यसमध्ये २०५५ सालमा भर्ना भएका ६१० असईमध्ये अहिले पनि केही अधिकृत वरिष्ठ सईमा जागिर खाइरहेका छन् ।
उनीहरु ४८ देखि ५० वर्ष उमेर पुगिसके । २०५८ सालमा असईमा भर्ना भएका करिब १०० जना अधिकृत अहिले वरिष्ठ सईको दर्जामा कार्यरत छन् । त्यसमध्ये कतिपयले उमेर हदका कारण त्यही दर्जाबाट अवकाश हुनुपर्ने अवस्था छ ।
प्रहरीमा असईमा जागिर खाएका अधिकृत डीएसपी भएर अवकाश हुने सपनाका साथ अगाडि बढेका हुन्छन्, तर, २०५८ देखिका कुनै पनि असईले वरिष्ठ सईभन्दा माथि उक्लिन पाएका छैनन् ।
‘इन्स्पेक्टरसरहको’ भनी वरिष्ठ सईको पद सिर्जना गरियो, तर उनीहरुले आफूभन्दा जुनियर अर्थात् सईहरुको भन्दा ६२ रुपैयाँ कम तलब खान्छन् ।
उनीहरुको तलब ग्रेडमा समानता कायम गर्न सर्वोच्च अदालतले गत मंसिर १३ गते दिएको आदेश अझै कार्यान्वयन भएको छैन । उक्त आदेशअनुसार थप बजेट निकासाका लागि गृह मन्त्रालयले अर्थसँग माग गरेको थियो । अर्थले माघ ९ गते त्यसमा सहमति दिएको छ, तर रकम निकासा भएको छैन ।
गत वर्ष एसपी दर्जाको उमेरहदका कारण अवकाश पाएका एसपी वामदेव गौतम भन्छन्, ‘तल्लो दर्जाका अधिकृतलाई निराश बनाएर संगठनले उद्देश्य प्राप्त गर्न सक्दैन ।’
२०४४ सालमा असईमा भर्ना भई २९ वर्षको अवधिमा इस्पेक्टर भएपछि जागिर छाडेका जगन्नाथ खनालका अनुसार शक्ति हुने असईले एसपी र एसएसपीसम्म भएर अवकाश पाएको इतिहास छ, तर माथिल्लो दर्जामा कम दरबन्दी हुने र तल्लो दर्जाका अधिकृतप्रति गरिने विभेदपूर्ण व्यवहारका कारण प्रहरीमा पहिल्यैदेखि निराशा व्याप्त छ ।
उनी भन्छन्, ‘म मुद्दा हेर्ने कामा लागेँ, दौडधुप गरिनँ, फलस्वरुप साथीहरु एसपीबाट घर गए, म इन्स्पेक्टरबाट ।’