एनआरटीलाई टाइब्रेकरमा हराउँदै आयोजक उपाधिनजिक – Nepal Press

एनआरटीलाई टाइब्रेकरमा हराउँदै आयोजक उपाधिनजिक

काठमाडौं । न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) उपाधिनजिक पुगेको छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजना त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलको निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि विजेताको छिनोफानो टाइब्रेकरमा गरिएको हो।

टाइब्रेकरमा एनआरटीलाई ४–२ ले पराजित गर्दै बागमती फाइनलमा पुग्न सफल भयो। योसँगै बागमतीले उपाधिका लागि संकटा फुटबल क्लबसँग खेल्ने छ। संकटाले पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ ले पराजित गरेको थियो।

योसँगै बागमतीले कम्तिमा १३ लाख रुपैयाँ पक्का गरेको छ। टाइब्रेकरमा बागमतीका नवीन लामा, फोडे फोफना, राजन तिवारी र कुलदीप कार्कीले गोल गरे। एनआरटीका अविषेक लिम्बू र कृतिशरत्न छुन्जुले गोल गरे। सरोज तामाङको प्रहार विकेश कुथुले रोके। सुमित श्रेष्ठको प्रहार माथिल्लो बारबाट आकासिएको थियो। म्यान अफ द म्याच गोलकिपर विकेश नै घोषित भए।

खेलको सुरुआतदेखि नै बागमतीले एनआरटीलाई दबाबमा राखेको थियो। फलतः ११औं मिनेटमै सन्दीपले बागमतीलाई सुरुआती अग्रता दिलाए। कमल श्रेष्ठको थ्रो बललाई सन्दीपले पेनाल्टी बक्सबाट सिधै फार पोस्टमा गोल गरे।

सेनेगाकाइज एलेक्सले त्यसको तीन मिनेटपछि नै अग्रता दोब्बर बनाए। गिदोन नाह केरमेहले दिएको बललाई सिक्स यार्ड बक्सबाट एलेक्सले सोही दिशामा गोल गरे। दोस्रो हाफको सुरुआतमै एनआरटी खेलमा फर्काउने संकेत देखाए। हेनरी पोकुले बक्सबाट दिएको बललाई कृतिशरत्न छुन्जुले सहजै जाली चुमाए। त्यसको तीन मिनेटपछि नै एनआरटीले खेलमा फर्किने अवसर गुमायो। कृतिशको कर्नरमा आएको बललाई पोकुले हेडर गरेका थिए। तर, गोलकिपर विकेश कुथु बाधक बने।

६९औं मिनेटमा कृतिशले नै अग्रता दोब्बर बनाए। विविके गुरुङको क्रसलाई उनले वान टचमै गोल गरे। योसँगै खेल २–२ को बराबरीमा गएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *