कर्णाली प्रदेश सभा बैठक माघ २५ गतेसम्म स्थगित – Nepal Press

कर्णाली प्रदेश सभा बैठक माघ २५ गतेसम्म स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक माघ २५ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कर्णाली समृद्ध कार्यक्रम कार्यान्वयन नगरेको भन्दै बैठक अवरुद्ध गरेपछि स्थगन भएको हो ।

नेकपा माओवादी केन्द्रले वार्षिक १० हजार युवालाई रोजगारी दिने उद्देश्यले प्रस्ताव गरिएको कार्यक्रमलाई अगाडि नबढाइएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ । प्रमुख सचेतक कृष्ण जिसीका अनुसार, सरकारले प्रतिपक्षीले उठाएका मागलाई गम्भीरतापूर्वक नलिएको कारण बैठक अवरुद्ध गरिएको हो।

सरकारले भने उक्त माग पूरा गर्न असमर्थ रहेको बताएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कर्णाली समृद्ध कार्यक्रम नीति तथा कार्यक्रम र बजेटमा समावेश नभएकाले माग पूरा गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले यो कार्यक्रम माओवादी केन्द्रकै नेतृत्वमा अघि सारिएको भए पनि आवश्यक कानूनी प्रक्रिया पूरा नगरिएको उल्लेख गरे ।

सरकार र प्रतिपक्षबीचको सहमति टुंगोमा पुग्न नसकेकाले मंगलबार बोलाइएको बैठक अर्को साता मात्र सञ्चालन हुने निर्णय गरिएको हो । छलफल जारी रहेको र समाधानका लागि पहल भइरहेको सरकारको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर