गाडीकाे ऋण नतिरेकाे भन्दै आफूमाथि अभद्र व्यवहार भएकाे गायक भरत क्षेत्रीकाे भनाइ, भएकाे के थियाे ? – Nepal Press

गाडीकाे ऋण नतिरेकाे भन्दै आफूमाथि अभद्र व्यवहार भएकाे गायक भरत क्षेत्रीकाे भनाइ, भएकाे के थियाे ?

रुपन्देही । लोकदोहोरी गायक एवं सर्जक भरत क्षेत्रीले यसरी आफूमाथि अभद्र व्यवहार गरिएको जनाएका छन् । गृहजिल्ला नवलपरासीबाट बुटवल जाने क्रममा गायक क्षेत्री सवार गाडीलाई रोकी रुपन्देहीको खैरेनीमा अपरिचित समूहले अभद्र व्यवहार गरेको हो ।

गाडीमा सवार रहेकै बेला बा २१ च ४४२३ नम्बरको गाडीमा आएका दुई जनाको समूहमा आएका मानिसहरुले गाडी रोक्न लगाई चाबी खोसेर अपहरणको शैलीमा दुव्र्यवहार गरेको गायक क्षेत्रीले बताए ।

‘म र श्रीमतीसहित हामी बुटवल जाँदै थियौँ,खैरेनीबाट थोरै भित्र पुगेपछि हाम्रो अगाडि गाडी तेस्राएर रोक्न लगाई चाबी खोसे, हिमालयन बैँकमा तेरो गाडी छ तैँले ऋण तिरेको छैन्स भन्दै मलाई गाडीसहित अपहरण गर्न थालेपछि प्रतिकार गरियो’, उनले भने ।

आफू हिमालयन बैंकको ऋणी नभएको गायक क्षेत्रीको भनाई छ । हिमालयन बैंकको नाम लिएर आफूमाथि गुण्डागर्दी शैलीमा आक्रमणको प्रयास गरिएको भन्दै उनले दोषीमाथि कारवाहीको माग गरे । बैंकको परिचयपत्र माग्दा उनीहरुले देखाउन नसकेको उनले बताए । गायक क्षेत्रीमाथि अभद्र व्यवहार भएपछि स्थानीयको सहयोगमा घटनामा संलग्न दुवै जनालाई खैरनीमा बुझाइएको छ ।

अभद्र व्यवहार गर्ने सन्दिप लामासहितका दुई जना प्रहरी नियन्त्रणमा रहेको प्रहरी चौकी खैरेनीका प्रमुख एक्काबहादुर नेपालीले जानकारी दिए । दुई वर्ष अघि नै प्रभु बैंकको नाममा ट्रान्सफर भइसकेको ऋणीको विवरण हिमालयन बैंकले अद्यावधिक नगर्दा हिमालयन बैंकको कमजोरीका कारण उक्त घटना भएको प्रहरीले जनाएको छ ।

अभद्र व्यवहार गर्ने दुवै जना बैंकका कर्मचारी भने नभएको प्रहरीको भनाई छ । दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको देवदहमा बीच सडकमा गुडिरहेको गाडीलाई रोकेर अभद्र व्यवहार गरेको भन्दै पीडित व्यक्तिले इलाका प्रहरी कार्यालय खैरेनीमा उजुरी दर्ता गराएपछि घटना सार्वजनिक भएको हो । सो घटनापछि प्रहरीले बैंकका प्रतिनिधि बताउने सञ्जीव लामा नाम गरेका युवासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको देवदहमा मँगलबार गुडीरहेको गाडीलाई बीच सडकमा रोकेर बैंक प्रतिनिधिले धम्क्याएपछि नवलपरासीका भरत क्षेत्रीले प्रहरीमा उजुरी दर्ता गराएका हुन् । उनी सवार बागमती प्रदेश ०१–०२६ च २१४६ नम्बरको कारलाई रोकेर २ वर्ष अगाडि नै चुक्ता गरेको ऋण मागेपछि झस्किएका थिए ।

सो विषयमा हिमालयन बैंक सुनवल शाखामा कार्यरत लोन शाखाका म्यानेजर सन्दीप पाण्डेले बुझेर खबर गर्ने भन्दै प्रतिक्रिया दिन चाहेनन् । तर, प्रहरीले पक्राउ गरेका व्यक्ति भने बैंककै प्रतिनिधि भएको स्वीकार गरे ।

प्रहरी चौकी खैरेनीका प्रमुख प्रहरी निरीक्षक एक्काबहादुर नेपालीले घटनामा संलग्न भएका व्यक्तिलाई पक्राउ गरिएको बताए । यद्यपि पक्राउ परेका व्यक्तिलाई छुटान प्रहरी तथा बैंक प्रतिनिधिबाटै दवाब दिइएको पीडित भरत क्षेत्रीले गुनासो गरे ।

हिमालयन बैंकबाट लोनमा गाडी किनेका उनले २ वर्षअघि नै चुक्ता गरेकाे बताए पनि बैंकको पैसा उठाउने नाम लिष्टमा आफ्नो गाडीसमेत परेको भन्दै बीच सडकमा रोकेर अभद्र व्यवहार गरेको उनले गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर