हँसिलो अनुहारभित्रका दुःखी आत्मा – Nepal Press
ब्लग

हँसिलो अनुहारभित्रका दुःखी आत्मा

कसैले के छ खबर भनेर प्रश्न गर्दा ‘गजब छ, ठीक छ’ भन्दै कति पटक झूट बोल्नुहुन्छ ? आफ्नो जिन्दगी उथलपुथल भए पनि अरुको जीवनलाई ठीक बनाउन उपदेश दिनुभएकै छ क्यारे है ? आफ्नो मन दुःखी नभए पनि अरुलाई खुशी हुन सिकाउने अभियान नै सुरु गर्नुभएको छ हैन त ? बेहाल भएको जिन्दगी, भारी भएको मन बोकेर हँसिलो अनुहार पार्दै हिँड्नु भएकै छ हैन त ? जति कठिन भए पनि, मन नलागे पनि जीवन सिकाइ हो । बाहिर गयो भने केही न केही सिकिन्छ भन्दै सबेरै घरबाट निस्कनुभएकै छ । घर फर्कंदा केही सिके जस्तो लाग्दैन । अनि फेरि ‘केही सिकिएन आजको दिन पनि झूर भयो’ भन्नुहुन्छ होला है ! कस्तो ठ्याक्कै मिल्यो है यो कुरा !

यो कुरा पछिल्लो समयका युवा पुस्ताको दैनिक जीवनमा चलिरहेको चक्र हो । जुन समूहलाई जेन्जी पुस्ताका रुपमा नामकरण गरिएको छ । आजको दिनमा १३ देखि २८ वर्ष उमेरका यो समूहमा पर्छ । यो समूहका युवाहरु अलि बढी महत्त्वाकांक्षी पुस्ताका रुपमा पनि चिनिन्छन् । यो पुस्ताका सबैभन्दा ज्येष्ठ समूह हुर्केर बुझ्ने हुँदासम्म सामाजिक सञ्जालको विकास भइसकेको थियो । त्यसैले उनीहरू सानैदेखि फेसबुक, युट्युब माध्यमसँग परिचित हुँदै हुर्किए ।

यो जेन्जी पुस्ता बढी महत्त्वाकांक्षी हुनुको कारणमध्ये एक यो पुस्ताले देश दुनियाँ तीव्र गतिमा परिवर्तन भएको देख्यो । केही राजतन्त्रको अवशेषलाई भेट्यो । केही द्वन्द्वको झिल्को देख्यो, अनि गणतन्त्रको भुक्तभोगी बन्यो । योसँगै द्रुत रुपमा विज्ञान र प्रविधिको छलाङको प्रत्यक्षदर्शी बन्यो । इमेल, इन्टरनेटदेखि एआईसम्मको विकासले चमत्कारिक रुपमा जीरोबाट मानिस हिरो र हिरो भएकाहरु जीरो भएको देख्यो । यसले यो पुस्तामा कडा मेहनत र अदम्य धैर्यभन्दा छिटो र सजिलै सफलता मिल्नेमा विश्वस्त बन्दै गयो ।

एउटा बन्द कोठामा विश्व कैद हुँदै हातमा सीमित बन्दा युवाहरु यो शक्तिको सदुपयोगभन्दा दुरुप्रयोगतिर केन्द्रित बने । इन्टरनेटले युवाहरुमा इच्छामात्र जगायो, तर इच्छाशक्ति जगाउन सकेन । जसको प्रयोगले विश्वलाई रुल गर्नसक्ने युवा पुस्ता आफैं रनभुल्लमा पर्‍यो । जसको शिकार सिंगो यो पुस्ता बनेको देखिन्छ । यो पुस्ता दुःखी हुनुको एउटा कारण पनि हो यो । मोबाइल यो पुस्ताका लागि जघन्य नसा बनेको छ । बिहान आँखा खोलेदेखि साँझ आँखा बन्द नहुञ्जेलसम्म मोबाइलमा घोप्टिने जेन्जी पुस्तालाई व्यङ्ग्यात्मक रुपमा घोप्टे पुस्ता पनि भन्ने गरिन्छ ।

एउटा बन्द कोठामा विश्व कैद हुँदै हातमा सीमित बन्दा युवाहरु यो शक्तिको सदुपयोगभन्दा दुरुप्रयोगतिर केन्द्रित बने । इन्टरनेटले युवाहरुमा इच्छामात्र जगायो, तर इच्छाशक्ति जगाउन सकेन । जसको प्रयोगले विश्वलाई रुल गर्नसक्ने युवा पुस्ता आफैं रनभुल्लमा पर्‍यो ।

हरेक १० युवालाई एक दिन पूरा मोबाइल नचलाई बस्न सक्नुहुन्छ भन्ने प्रश्न गर्‍यो भने ९० प्रतिशतको जवाफ आउनेछ- ‘कहाँ सक्नू, नाईं म त सक्दिनँ । मोबाइल र इन्टरनेटविना त ना बाबा ना सक्दैनौं हामी बस्न ।’ तपाईंहरु पनि यस्तै भन्नुहुन्छ हैन त ? पछिल्लो समय अरुको सिको गर्न खोज्दा, अरुको हँसिलो अनुहार भएको फोटो देखेर, अझ विदेश भएका साथीको फोटो देखेर ल साथीहरुले यति गरिसके, यति खुसी छन्, मैले केही गर्न सकिनँ भन्ने सोचेर दुःखी भएका छौं । समुन्द्रपारि भएका साथीहरुले सजिलो गरी पैसा कमाए झैं लाग्छ हामीलाई । उनीहरुले समय मिलाएर घुम्न जाँदा खिचेको एउटा फोटो देखेर हामी उनीहरुको जीवन कति मस्त छ है भन्दै डाहा गर्छौं ।

अझ कति त विदेशमा जीवन राम्रो हुँदोरहेछ भनेर त्यही हँसिलो अनुहार भएको फोटो हेरेर विदेशिन्छन् र त्यही भीडमा सामेल हुन्छन् । गत वर्षको तथ्याङ्क हेर्ने हो भने  ७ लाख ७१ हजार ३२७ युवा विदेशिएका देखिन्छन् । त्यसमध्ये दैनिक रुपमा १ हजार ३७० युवाले देश छोडेका छन् । नेपाली युवा कति कुन देशमा गएछन् त ? तलकाे तथ्यांक हेर्नुहोस्ः

माथिको तथ्यांक हेर्दा सबैभन्दा बढी युवा कतार, साउदी जस्ता देश गएका छन् । जो केही समयपछि फर्केर आउनेछन्, तर जापान, अस्ट्रेलिया जस्ता देश गएका युवा उतै पलायन हुने सम्भावना बढी देखिन्छ । विदेशका सफा सडक र चम्किला भवनहरुले नेपाली युवाहरुको मन चंगा भएको देखिन्छ । त्यसैमा नेपालमा दुःख गर्नुभन्दा विदेशमा सजिलै पैसा कमाउने अभिलाषाका साथ केही रहरले, केही कहरले विदेशिएको देखिन्छन् ।

नेपाल भएकाले विदेशिएका साथीहरुको जीवन देखेर डाहा गरेका छन्, विदेश हुनेहरु त्यहाँ भोगेको पीडामा गुम्सिएर आत्तिएका छन् । विदेशमा हुँदा हैसियत र्बिसिन्छन्, स्वदेशमा हुँदा धरातल बिर्सिन्छन् । अनि सजिलै सफल हुने र पैसा कमाउने ध्याउन्नमा युवाहरु स्वदेश होस् वा विदेश जहाँ पुगे पनि चरम निराशाको शिकार भएका छन् । उनीहरु मेहनत गर्न चाहँदैनन् । अनि विस्तारै यसरी नै त्यो कुन्ठो भरिएर रिसमा परिणत हुँदै एन्जाइटी, डिप्रेसनमा परिणत हुन्छ । डिप्रेसनको मूल सुरुवात नै धैर्यको कमी, अरुको प्रगतिमा डाहा गर्ने, बढी महत्त्वाकांक्षी हुनु, अनावश्यक धेरै सोच्नु, मेहनत नगर्ने बानी, अरुको सिको गर्ने प्रवृत्ति हुन् । यसरी मानिसको जीवनमा निराशा बढ्छ र मानिस डिप्रेसनको शिकार हुनपुग्छ । अन्तमा मानसिक रोगले ग्रसित हुन्छ भने हरेश खानेहरुले जीवनसमेत फाल्ने गरेका छन् ।

हरेक १० युवालाई एक दिन पूरा मोबाइल नचलाई बस्न सक्नुहुन्छ भन्ने प्रश्न गर्‍यो भने ९० प्रतिशतको जवाफ आउनेछ- ‘कहाँ सक्नू, नाईं म त सक्दिनँ । मोबाइल र इन्टरनेटविना त ना बाबा ना सक्दैनौं हामी बस्न ।’

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभर २० करोड मानिस मनोरोगले ग्रसित छन् । त्यसो त डिप्रेसन जुनसुकै उमेरका व्यक्तिलाई पनि लाग्नसक्छ, तर धेरैजसो २० देखि ४० वर्ष उमेरका व्यक्तिलाई यो समस्याले पिरोल्ने एक अनुसन्धानले देखाएको छ । नेपालमा हाल कति मानिस डिप्रेसनका पीडित छन् भन्ने आधिकारिक तथ्यांक नभए पनि अन्य मुलुकमा जस्तै करिब ५ देखि १० प्रतिशत मानिस आफ्नो जीवनको कुनै समयमा यो रोगबाट पीडित रहने तथ्य विश्वका अन्य मुलुकमा सार्वजनिक भइसकेको छ ।

नेपाललगायतका अन्य मुलुकमा यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखिएको तथ्यले देखाएका छन् । आत्महत्या अर्थात् आफैंले जानीजानी गरिने आफ्नै हत्याको प्रयास आजभोलि सञ्चारमाध्यममा हरेक दिनजसो देखिने घटना हो । विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार विश्वमा हरेक दिन ३ हजार मानिसले आत्महत्या गरेर ज्यान गुमाइरहेको तथ्य सार्वजनिक भइसकेको छ । डिप्रेसनबाट ग्रसित करिब १५ देखि २० प्रतिशत व्यक्ति आत्महत्या गर्ने गर्छन्, जुन सामान्य समुदायको आत्महत्या दरभन्दा १५ गुणा बढी हो । नेपालमा सरदर प्रतिवर्ष ७ हजार मानिसले आत्महत्या गरेको देखिन्छ । विस्तृत रुपमा हेर्दा विगत ३ आर्थिक वर्षको आत्महत्याको तथ्यांक हेर्दा यस्तो पाइन्छ ।

माथिको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष आत्महत्याको दर बढ्दै गएको छ । गत वर्षको तथ्याङ्क हेर्दा सबैभन्दा बढी झुण्डिएर ८५ प्रतिशतले आत्महत्या गरेको देखिन्छ । अन्य १५ प्रतिशतमा विष सेवन, हामफालेर आत्महत्या गरेको देखिन्छ । प्रकृतिले दिएको अमूल्य जीवनलाई हामीले क्षणिक आवेगमा आएर नाश गरिरहेका छौं । कसैले आत्मा मारेका छौं, कसैले शरीर नै मारेका छौं  र हामी हँसिलो अनुहारभित्रका दुःखी आत्मा भएका छौं । अब हामी खुशी अनुहार भएका सुखी आत्मा हुनुपर्छ । असीमित इच्छा र महत्वाकांक्षालाई काबुमा राख्नुपर्छ ।

सके सबैको भलो, नसके कसैको कुभलो नगर्ने हुनुपर्छ । सादा र सरल जीवनयापन गर्नुपर्छ । बनावटी, देखावटी, ढोंग होइन, वास्तविक सत्य बन्नुपर्छ । सकेको प्राकृतिक बन्नुपर्छ । अनावश्यक लोभ र मोह, चाहनाका आधारमा स्रोतसाधनको प्रयोग होइन, आवश्यताका आधारमा उपयोग गर्नुपर्छ ।  नियमित योग, ध्यान, साधनामा बढी केन्द्रित हुँदै समयको सही व्यवस्थापन गर्नुपर्छ । आफूले आफैंलाई माया गर्नुपर्छ । दुनियाँलाई बदल्ने भन्दा पनि पहिला आफू बदलिनुपर्छ । अनि हामी खुसी अनुहार भएका सुखी आत्मा बन्नुपर्छ ।


प्रतिक्रिया

One thought on “हँसिलो अनुहारभित्रका दुःखी आत्मा

  1. आहा कति राम्रो लेख , म पनि सामाजिक सञ्जालकाे सिकार भयकाे हाे कि भने झै महसुस भयाे याे लेख पडिसके पछि , अब काे भावि दिनहरुमा पनि यस्तै लेखकाे आसा राखेकाे छु जस्ले गर्दा समाजमा सकरात्मक शन्देस दिने छ । 🙏❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *