शिक्षा, रोजगारी, स्वास्थ्य र जलवायु परिवर्तनका मुद्दामा सामूहिक पहलका लागि पूर्वराष्ट्रपतिको आह्वान
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2025/01/purba-rastrapti.jpg)
सुनसरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताका साझा समस्याहरूप्रति सबै राजनीतिक दल र नागरिक गम्भीर हुनुपर्ने बताएकी छन् ।
इटहरीको जनता उच्च माध्यमिक विद्यालयको ६८ औ स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले आफ्नो ध्यान शिक्षा, रोजगारी , स्वास्थ्य र जलवायु परिवर्तनले निम्त्याएका समस्याहरूमा केन्द्रित रहेको बताइन् ।
नेपाल प्रतिभाहरूको खानी भएको उल्लेख गर्दै उनले प्रणालीले प्रतिभाहरूलाई देश भित्रै सेवा गर्न प्रेरित गर्न नीतिगत पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको बताइन् ।
शिक्षा र राजनीति एक अर्काका परिपूरक रहेकोले राजनीतिक सोच र नेतृत्वले शिक्षाको पुनर्संरचनामा यथेष्ट ध्यान दिनु पर्ने आवश्यकता औँल्याइन् ।
विद्यालयको आधारभूत तह देखि नै बालबालिकालाई उपयुक्त शैक्षिक, पारिवारिक र सामाजिक वातावरण प्रदान गर्दै आत्मनिर्भर, राष्ट्र प्रेमी र स्मार्ट जनशक्ति निर्माण आजको आवश्यकता भएको उनको भनाई छ । यो विषय सबै राजनीतिक दलहरू, आम नागरिक र बौद्धिक क्षेत्रको साझा सरोकारको हुनुपर्ने उनको भनाई थियो ।
पढाइ, उद्यम र रोजगारीलाई एक अर्काको परिपूरक बनाउन सक्ने गरी नीतिगत र संरचनात्मक सुधार, पाठ्यक्रम, पूर्वाधार र जनशक्तिको हालको अवस्थालाई मसिनो गरी पुनरावलोकन गर्नु पर्ने धारणा राखिन् ।
गुणस्तरका समस्याहरू नीतिगत र संरचनात्मक सुधार मार्फत क्रमिक रूपले समाधान हुँदै जाने हुँदा अहिलेको शिक्षाको गुणस्तरले मात्र विद्यार्थीहरुलाई बाहिर जान प्रेरित नगरेको उनको भनाई थियो ।