राष्ट्रिय बुद्धिचाल : रुपेश र सिन्दिराको अग्रता कायम
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2025/01/chess.jpg)
हेटौँडा । रौतहटका रुपेश जैसवाल र सिन्दिरा जोशीले हेटौँडामा जारी २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अग्रता कायम राखेका छन् ।
प्रतियोगिताको तेस्रो दिन मङ्गलवार पाँचौँ चरणका खेल सम्पन्न भएसँगै पुरुषतर्फ एफएम रुपेशले ४.५ अङ्क जोड्दै एक अङ्कको अग्रता बनाएका छन् । रुपेशले तेस्रो दिन वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई हराए ।
यस्तै मकवानपुरका क्षितिज भण्डारी र झापाका सुश्रुत दाहालले समान ३.५ अङ्कसहित दोस्रो स्थानमा रहेका छन् । एफएम क्षितिजले काठमाडौँका सिएम नवीन तण्डुकार र सिएम सुश्रुतले भक्तपुरका विनय थापालाई पराजित गरे । तीन अङ्क जोडेका दोलखाका आशिष फुयाल, काठमाडौँका पुरुषोत्तम सिलवाल र एफएम रिजेन्द्र राजभण्डारी तेस्रो स्थानमा रहेका छन् ।
यस्तै महिलातर्फ सिन्दिरा जोशीले ४.५ अङ्क जोड्दै शीर्षस्थानमा छन् । राष्ट्रिय महिला विजेता सिन्दिरा चार जित र एक बराबर खेल्दै अपराजित छन्। पहिलो हार खेपेकी काठमाडौँकी एञ्जल महर्जन र विनीता कपाली समान चार अङ्कसहित दोस्रो स्थानमा रहेका छन् ।
यस्तै ३.५ अङ्क जोड्न सफल बाँकेकी ईशा गिरी र मोरङकी शान्ति धिमाल संयुक्त तेस्रो स्थानमा छन् । नेपाल बुद्धिचाल महासङ्घले आयोजना गरेको प्रतियोगितामा बुधवार थप दुई चरणको खेल हुनेछ ।