सुदूरपश्चिममा संसदीय समिति निर्वाचन कार्यतालिकाले मुख्यमन्त्री र सभामुखबीच टसल – Nepal Press

सुदूरपश्चिममा संसदीय समिति निर्वाचन कार्यतालिकाले मुख्यमन्त्री र सभामुखबीच टसल

सहमतिविपरीत कार्यतालिका निकालेको आरोप

कैलाली । समिति निर्वाचनको कार्य तालिकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र सभामुख भीम भण्डारीबिच टसल पैदा भएको छ । केही दिन पहिले मुख्यमन्त्री शाह र सभामुख भण्डारीबीच भएको छलफल पछि संसदीय समिति निर्वाचनको कार्य तालिका सार्वजनिक गरिएको थियो ।

१३ माघमा प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम राखिएको थियो भने १८ माघमा सभापति चयनका लागि सम्बन्धित समितिको बैठक बस्ने जनाइएको थियो । तर, मङ्गलवार उक्त मितिमा निर्वाचन नगर्नेगर कार्य व्यवस्था परामर्श समितिमा सहमति गरिकसेको छ ।

सुदूरपश्चिम ११ पुसमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिका सभापति पाउने सहमति भएको थियो ।

निर्वाचनको कार्य तालिका सार्वजनिक गर्नुभन्दा पहिलो मुख्यमन्त्री शाह र सभामुख भण्डारीबीच पनि यस विषयमा छलफल भएको थियो । उनीहरूबिच १९ गते सबै समितिको निर्वाचन एकै दिन गर्नेगरी कार्य तालिका सार्वजनिक गर्ने सहमति भएको थियो । तर, सभामुख भण्डारीले १९ गते निर्वाचन गर्ने सहमति भन्दा बाहिर आएर १८ गते निर्वाचन गराउने गरी कार्य तालिका सार्वजनिक गरेको र चार वटा समिति मध्ये तीन वटा समितिको मात्रै निर्वाचनको कार्य तालिका सार्वजनिक गरेको मुख्यमन्त्री शाहको आरोप छ ।

‘१९ गते सबै समितिको निर्वाचन गर्नेगर सहमति भएको थियो । तर, सभामुख ज्यूले १८ गते, त्यो पनि तीन वटा समितिको मात्रै निर्वाचन तालिका निकाल्नु भयो । हामी सबैको एकै दिन गरौँ १९ गते नै गरौँ भन्ने पक्षमा हौँ, निर्वाचन ढिला गर्ने पक्षमा हामी होइनौँ’ मुख्यमन्त्री शाहले भने ।

सभामुख भण्डारीले पनि मुख्यमन्त्री शाहसँग १९ गते नै निर्वाचन गर्नेगरी छलफल भएको तर, १९ गते शनिवार भएका हुँदा १८ गते निर्वाचन गर्नेगर कार्य तालिका सार्वजनिक गरिएको बताए । विशेषाधिकार समितिको निर्वाचन एकै पटक गर्न प्राविधिक समस्या भएको हुँदा सोही दिन अर्को मिति तोक्ने गरी तयारी भइरहेको बताएका छन् । सभामुख भण्डारीले निर्वाचनको मिति निर्धारण गर्ने आफ्नो अधिकार रहेको भन्दै सरकारबाट अनावश्यक हस्तक्षेप हुन नहुने बताउँछन् ।

‘हामीबिच १९ गते निर्वाचन गर्नेगर कार्य तालिका निकाल्ने छलफल गरेका थियौँ तर, त्यो दिन शनिवार हुने भएपछि एक दिन अघिको कार्य तालिका निकालिएको हो ’ सभामुख भण्डारीले भने, ‘कार्य तालिका निकाल्ने क्षेत्राधिकार सभामुखको हुन्छ । यसमा सरकारले हस्तक्षेप गर्नुहुँदैन ।’

कांग्रेसले आफ्नो भागमा परेको विशेषाधिकार समितिको पनि एकैसाथ निर्वाचन गराउने तयारी गरेका बेला सभामुखले सहमति भन्दा बाहिर गएर निर्वाचन कार्य तालिका निकालेको आरोप लगाएको छ । मङ्गलवार को कार्य व्यवस्था परामर्श समितिमा २८ गतेभित्र नसार्ने गरी निर्वाचनको मिति निर्धारण गर्ने छलफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर