अनुदान लिन राष्ट्रिय योजना आयोगले माग्यो प्रस्ताव
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/10/rastriya-yojana-aayog.jpeg)
काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव माग गरेको छ ।
प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिन आगामी फागुन १५ गतेभित्र योजना तथा कार्यक्रमको विस्तृत विवरणसहितको प्रस्ताव पेश गरिसक्न भनेको हो ।
अघिल्ला वर्षहरुमा आयोगले समपूरक र विशेष अनुदानका योजनाको प्रस्ताव पुस मसान्तभित्र माग गरिसक्थ्यो, तर यस पटक राष्ट्रिय विकास समस्या समाधान समितिले समपूरक र विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्न निर्देशन दिएपछि प्रस्ताव माग गर्न ढिला भएको थियो ।
आयोगका सहप्रवक्ता डा. दिवाकर लुइँटेलका अनुसार कार्यविधि संशोधन भएर कार्यान्वयनमा आएसँगै अनुदानका लागि प्रस्ताव माग गरिएको हो ।
‘समपूरक अनुदानमा सङ्घले ५० प्रतिशत योगदान गर्ने र बाँकी ५० प्रतिशत सम्बन्धित प्रदेश तथा स्थानीय तहले व्यहोर्ने यसअघिको व्यवस्था संशोधन गरी २० देखि ८० प्रतिशतसम्म व्यहोर्नुपर्ने व्यवस्था ल्याइएको छ । सोही व्यवस्थाअनुसार आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रमको माग गरिएको हो’, लुइँटेलले भने ।
विशेष अनुदानसम्बन्धी कार्यविधि २०८१ ले यो शीर्षकमा अनुदान दिँदा योजना तथा कार्यक्रमको लागत तोकेको छ । गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रममा रू २५ लाखदेखि तीन करोड लागत हुनुपर्नेछ ।
त्यस्तै उपमहानगरपालिका र महानगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रमको लागत अनुमान न्यूनतम रू २५ लाखदेखि अधिकतम पाँच करोडसम्म तोकिएको छ । सङ्घीय विशेष अनुदानअन्तर्गत प्रदेश सरकारबाट कार्यान्वयन हुने आयोजना वा कार्यक्रमको लागि कुल लागत अनुमान रू पाँच करोडदेखि १० करोड तोकिएको छ ।
विशेष अनुदानअन्तर्गतका पूर्वाधार आयोजना तीन वर्षभित्र र अन्य कार्यक्रम सालबसाली रुपमा सम्पन्न गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
त्यस्तै समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ अनुसार गाउँपालिका वा नगरपालिकाले रू एक करोडदेखि सात करोडसम्मको लागतको आयोजना तथा कार्यक्रमका लागि सङ्घ सरकारसँग अनुदान माग गर्न सक्छन् । उपमहानगरपालिका र महानगरपालिकाले रू तीन करोडदेखि १५ करोड र प्रदेशले रू १० करोडदेखि ३० करोडसम्मका आयोजनाका लागि प्रस्ताव हाल्न सक्छन् ।
प्रदेश र स्थानीय तहले अनलाइन प्रणालीबाट मात्रै समपूरक र विशेष अनुदानसम्बन्धी प्रस्ताव हाल्न पाउने व्यवस्था रहेको सहप्रवक्ता लुइँटेलले बताए । त्यस्तै यस्ता आयोजना तथा कार्यक्रममा अनुदान लिन प्रस्ताव पेश गर्दा कार्यविधिले तोकेको प्रक्रिया र कागजातहरु आवश्यक हुने उनको भनाइ छ ।
‘अनुदानका लागि आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा विस्तृत कागजात पेश गर्नुपर्ने हुन्छ । कार्यविधिले तोकेको प्रक्रिया नपु¥याइकन परेका प्रस्तावहरु अनुदानका लागि योग्य हुँदैनन्’, उनले भने ।
कार्यविधिअनुसार यी शीर्षकमा अनुदान लिन आयोजनाको सम्भाव्यता अध्ययन, ड्रइङ, डिजाइन, स्पेसिफिकेसनसहितको विस्तृत विवरणको लागत अनुमान पेश गर्नुपर्ने हुन्छ । त्यस्तै वातावरणीय अध्ययन प्रतिवेदनलगायतका कागजात चाहिन्छ ।
अनुदान माग गर्न स्थानीय तहको हकमा सम्बन्धित कार्यपालिकाको निर्णय र प्रदेशको हकमा सम्बन्धित प्रदेश योजना आयोगको सिफारिसमा प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको हुनुपर्ने व्यवस्था कार्यविधिमा छ । -रासस