ट्रम्पको पहिलो कार्यकालमा ‘चेन अफ कमान्ड’ नमान्ने पूर्वप्रधानसेनापतिको सुरक्षा खोसिँदै, हटाइयो तस्बिर


काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदाको समयमा ‘चेन अफ कमान्ड’ नमानेको तथा राष्ट्रपतिलाई असहयोग गरेको भन्दै अवकाशप्राप्त जर्नेल मार्क मिलेको सुरक्षा खोस्ने भएको छ । ट्रम्प प्रशासनका सुरक्षा सचिवले मिलेको सुरक्षा खोसिने तथा उनको एक तारा घटुवा गर्ने तयारी भएको ट्रम्प पक्षधर मानिने अमेरिकी मिडिया फक्सन्युजले उल्लेख गरेको छ ।
फक्सन्युजका अनुसार पेन्टागनले मिलेको तस्बिर पनि हटाउने निर्णय गरेको छ । यस अगाडि पेन्टागनको मिलेको पहिलो तस्बिर ट्रम्पको शपथग्रहणकै दिन हटाइएको थियो । उनको अर्को तस्बिर आर्मी मार्सलको करिडोरमा भएको तस्बिर हटाइने भएको छ ।
अमेरिकाको वाटरगेट स्क्यान्डल सार्वजनिक गरेका पत्रकार बोब वुडल्यान्डले आफ्ना पुस्तक ‘वार’मा पूर्वप्रधानसेनापति मिलेले ट्रम्पलाई फाँसीवादी भनेको, उनको मानसिक अवस्था ठीकठाक भएको वा नभएको टुंगो नभएको बताएका छन् ।
उनकै अर्को पुस्तक ‘पेरिल’मा बोबले मिलेले चिनियाँ समकक्षीलाई प्रधानसेनापति हुँदा ट्रम्पको जानकारीविना चीनलाई आक्रमण गर्ने कुनै अमेरिकी सेनाको योजना नभएको जानकारी दिएको उल्लेख गरेका छन् । यस्तो गर्नुलाई चेन अफ कमान्ड मिचेको अर्थमा रिपब्लिकनहरुले आक्रोश पोख्दै आएका छन् ।
अमेरिकाको संविधानअनुसार सेनाको परमाधिपति राष्ट्रपति हुन्छन् ।