दुई दिनमै उत्रिएको थियो पत्रकार थापाको ‘एक्टर’, देशभरको कलेक्सन २८ हजार ८ सय – Nepal Press

दुई दिनमै उत्रिएको थियो पत्रकार थापाको ‘एक्टर’, देशभरको कलेक्सन २८ हजार ८ सय

काठमाडौं । प्रतिक्षित चलचित्र ‘एक्टर टेक वान’ अदालतको आदेशका कारण आज प्रदर्शनमा आउन सकेन । यो चलचित्रले कपिराइट उल्लंघन गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको थियो ।

यो मुद्दाले ‘एक्टर’ नामक अर्को चलचित्रलाई चर्चामा ल्याइदिएको छ, जुन हलमा आएको र गएको दर्शकले थाहै पाएका थिएनन् ।

गत माघ ४ गते रिलिज गरिएको सो चलचित्र हलहरुमा पानी पनि भन्न नपाएर दुई दिनमै उत्रिएको थियो । अहिले देशका कुनै पनि हलमा एक्टर प्रदर्शनमा छैन ।

‘एक्टर’ को तर्फबाट सम्राट थापाले आफ्नो बौद्धिक सम्पत्ति चोरी भएको भन्दै मुद्दा हालेका थिए ।

उनले आफ्नो चलचित्र अहिले पनि हलहरुमा चलिरहेको र विदेशमा समेत चलाउने तयारी गरिएको दावी फिरादपत्रमा गरेका छन् ।

हिजो बहसका क्रममा चलचित्र विकास बोर्डका वकिलले ‘एक्टर’ हलबाट उत्रिसकेको र ‘एक्टर टेक वान’ प्रदर्शनमा आउँदा त्यसलाई केही फरक नपर्ने तर्क गरेका थिए । तर, अदालतले निवेदकको पक्षमा निर्णय लियो ।

विकास बोर्ड स्रोतका अनुसार ‘एक्टर’ सुपर फ्लप चलचित्र हो । यसले देशभरका हलबाट जम्माजम्मी २८ हजार ८ सय रुपैयाँ कलेक्सन गरेको रेकर्ड विकास बोर्डमा आएको छ । यो चलचित्र विदेशमा प्रदर्शन हुने पनि कुनै गुञ्जायस नभएको विकास बोर्ड स्रोत बताउँछ ।

एक्टरमा पुराना दुई हिरो कृष्ण मल्ल र सरोज खनालले अभिनय गरेका थिए । अरु कलाकारहरु कोही पनि परिचित छैनन् । चलचित्र रिलिज अघि खासै प्रचारप्रसार पनि गरिएको थिएन । चलचित्रको ट्रेलरले युट्यूबमा चानचुन ६८ हजार भ्यूज पाएको छ ।

मदन घिमिरेले निर्देशन गरेको ‘एक्टर’ को निर्माता पुराना पत्रकार मनोहरी थापा हुन् । पोस्टरमा नै ‘सिनियर टिभी जर्नालिस्ट’ भनेर लेखिएको छ । तर, मुद्दा भने सम्राट थापाले हालेका छन्, जो चलचित्रका कथाकार र संगीतकार मात्र हुन् ।

मुद्दामा चलचित्र विकास बोर्ड र निर्माण कम्पनीलाई विपक्षी बनाइएको थियो । तर अदालतले बोर्डलाई मात्रै बहसमा बोलायो । ‘एक्टर टेक वान’ का निर्माताहरुलाई कुनै औपचारिक जानकारी गराइएको थिएन । उनीहरुले सबै कुरा मिडियाबाट मात्र थाहा पाएका थिए ।

‘एक्टर टेक वान’ भन्दा पहिले ‘एक्टर’ विकास बोर्डमा दर्ता भएको थियो । यी दुवै चलचित्रको नाम पछि फेरिएको हो । नाम जुधेपछि एक्टरका निर्माताले एक्टर टेक वानका निर्मातासँग आर्थिन लेनदेनका लागि प्रयास गरेका थिए ।

तर, ‘टेक वान’ का निर्माताले कुनै भाउ दिएनन् । आफूहरुले बकाइदा चलचित्र विकास बोर्डबाट स्वीकृति पाएकाले कपिराइटको प्रश्नै नउठ्ने उनीहरुको बुझाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर