पाकिस्तानमा सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने पीटीआईकाे चेतावनी
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2025/01/pti-zunaid-akbar.jpg)
इस्लामावाद । पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) खैबर-पख्तुनख्वा शाखाका अध्यक्ष जुनैद अकबरले पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) नेतृत्वको गठबन्धनविरुद्ध राष्ट्रव्यापी अभियान सुरु गर्ने चेतावनी दिएका छन् ।
एक स्थानीय टीभी च्यानलसँग कुरा गर्दै अकबरले सरकारसँग वार्ता गर्न विपक्षीको तत्परतालाई कमजोरीको सङ्केतका रूपमा हेरिएको बताए । पीएमएल-एन नेतृत्वको गठबन्धन सरकारसँग मङ्गलबार भएको चौथो चरणको वार्तामा पीटीआई सहभागी नभएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
सरकारको वार्ता समितिको मङ्गलबारको बैठक पीटीआईका प्रतिनिधिहरु बैठकमा उपस्थित नभएपछि स्थगित भएको थियो । पाकिस्तानको राष्ट्रियसभाका सभामुख अयाज सादिकले सहभागिताको कमीका बाबजुद समिति यथावत रहने बताए ।
पीटीआई र सरकारबीच पहिलो चरणको वार्ता सन् २०२४ डिसेम्बर २३ मा भएको थियो । गत डिसेम्बरमा वार्ता सुरु भएयता दुवै पक्षबीच तीन पटक भेटवार्ता भइसकेको छ ।
पीटीआई र पीएमएल-एन नेतृत्वको सरकारबीच गत वर्षको डिसेम्बरमा पाकिस्तानमा राजनीतिक तनाव कम गर्न वार्ता सुरु भएको थियो, तर सन् २०२३ मे ९ मा इस्लामावादमा भएको प्रदर्शन र सन् २०२४ नोभेम्बर २६ मा इस्लामावादमा भएको प्रदर्शनको छानबिनका लागि सरकारले न्यायिक आयोग गठन नगरेको आरोप लगाएपछि वार्ता रोकिएको थियो ।
अकबरले भने, ‘पीटीआई वार्तालाई अघि बढाउन तयार छ, तर वर्तमान गतिविधिले गतिरोधको सङ्केत गर्दछ ।’
पीटीआईले अब सडकबाट समाधान खोज्छ कि भनेर सोधिएको प्रश्नमा उनले भने, ‘हो, पक्कै पनि यसो हुनसक्छ ।’
‘द एक्सप्रेस ट्रिब्यून’का अनुसार उनले चुनावमा धाँधली भएको भन्दै फेब्रुअरी ८ मा जिल्लास्तरीय विरोध प्रदर्शन र इस्लामावादको डि–चोकमा विरोध प्रदर्शन गर्नेलगायतका विभिन्न विरोधका योजना घोषणा गरेका थिए ।
पाकिस्तानमा गत वर्ष फेब्रुअरी ८ मा १२ औं राष्ट्रिय आमनिर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा सेलुलर र इन्टरनेट सेवाहरू बन्द गरिएको र व्यापक धाँधली भएको आरोप लागेको थियो ।
अकबरले आफ्नो टिप्पणीमा पीटीआईले सडक प्रदर्शन शुरू भएपछि वार्तामा संलग्न नहुने घोषणा गरेका थिए ।
पूर्वक्रिकेटर इमरान खानले स्थापना गरेको पार्टीमा महत्त्वपूर्ण परिवर्तनको सङ्केत गर्दै उनले पीटीआईको ‘होमियोप्याथिक नेतृत्व’लाई मे महिनामा हुने पुनर्गठनपछि कट्टरपन्थीहरूले प्रतिस्थापन गर्ने बताए ।
अकबरले भने, ‘पीटीआईको प्रान्तीय मन्त्रिमण्डलमा पुनर्गठन गर्ने योजना छ, जसमा दुई नयाँ सदस्य खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गन्दापुरको टोलीको हिस्सा बन्ने अपेक्षा गरिएको छ ।’
उनले सङ्घीय सरकारले पीटीआईभित्र विभाजन सिर्जना गर्न खोजेको र पार्टीका सदस्यहरूलाई वफादारी परिवर्तन गर्न बाध्य पारेको आरोप लगाए ।
पीटीआईका एक नेताले पूर्वमन्त्री खानको रिहाइमा आशावादी रहेको बताएका छन् । -रासस/एएफपी