रविले रास्वपाको बागडोर तत्काल हातमा नलिने, संसदमा विराजभक्तको नेतृत्व – Nepal Press

रविले रास्वपाको बागडोर तत्काल हातमा नलिने, संसदमा विराजभक्तको नेतृत्व

पर्सा र चितवनमा मुद्दा दर्ता भएर थुनछेक बहस सकिएपश्चात मात्रै पार्टी सम्हाल्ने रविको योजना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी मुद्दामा पक्राउ परेपश्चात पार्टीमा निष्क्रिय छन् । उनको अनुपस्थितिमा रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको छ ।

रविविरुद्ध तीन वटा अदालतमा थुनछेक बहस सकिएको छ । तीन वटै अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतले मागेको धरौटी बुझाएर रवि अहिले ‘स्वतन्त्र’ छन्, तर तत्काल पार्टीको बागडोर हातमा लिइहाल्ने मनसाय देखाएका छैनन् ।

रवि हिरासतबाट निस्किएपश्चात रास्वपाको सचिवालय बैठक बसेको थियो । कार्यवाहक सभापति अर्यालले गत शुक्रबार बोलाएको सो बैठकमा रवि सहभागी भएनन् । त्यसबेला उनी रुपन्देहीमा थिए । उक्त बैठकले फागुनमा सातै प्रदेशमा ‘सर्वांगीण संवाद’ सञ्चालन गर्नेलगायत ६ बुँदे निर्णय लिएको थियो ।

सक्रिय नेतृत्व नगरे पनि रास्वपा रविको नियन्त्रण बाहिर भने छैन । कार्यवाहक सभापति अर्यालले सबै कुरा उनकै सरसल्लाहमा गर्ने गर्छन् । रवि हिरासतमा छँदा अर्याल तारन्तर उनलाई भेट्न जिप्रका कास्की पुगिरहन्थे । ‘हिरासतबाटै रविले पार्टी चलाइरहेको’ चर्चा समेत रास्वपाभित्र हुने गरेको थिए । बाहिर निस्किएपछि पनि अर्यालले रविसँग निरन्तर समझदारी कायम गरिरहेका छन् । रविसँग उनको नियमितजसो भेटघाट हुन्छ ।

हिरासतबाट फर्किएपछि रविले पार्टी कार्यालय भने टेकेका छैनन् । उनी रहेकै स्थानमा नेताहरु पुगेर भेट्ने गरेका छन् । रवि अहिले पार्टीको कामभन्दा आफ्नो मुद्दा मामिलाकै उल्झनमा छन् । गत साता रुपन्देहीमा आफ्नो मुद्दाको थुनछेक बहसका लागि गएका थिए । गत १३ माघमा थुनछेक बहस सकिएपश्चात उनी त्यहाँबाट राति नै पोखरा हान्निए । उच्च अदालत पोखरामा यसअघि कास्की जिल्ला अदालतले गरेको थुनछेक आदेशविरुद्ध पुनरावेदन गरेर उनी काठमाडौं फर्किएका छन् ।

रविले अब काठमाडौं जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतको फैसलाविरुद्ध पनि पुनरावेदन गर्नेछन् । आफूलाई साधारण तारेखमा छोड्नुपर्ने उनको जिकिर छ । प्रत्येक जिल्ला अदालतको आदेशविरुद्ध छुट्टाछुट्टै उच्च अदालतमा पुनरावेदन गर्नुपर्ने झण्झट छ । पुनरावेदनमा बहसका लागि पनि सबैतिर पुग्नुपर्छ । कानून व्यवसायीको लर्को लैजानुपर्छ ।

अझै दुई वटा जिल्ला अदालतमा मुद्दा दर्ता हुनै बाँकी छ । चितवन र पर्सा पनि प्रहरीले सहकारी ठगीमा उनीविरुद्ध अनुसन्धान अगाडि बढाएको थिए । चितवनमा प्रहरीले सरकारी वकिललाई मुद्दा बुझाइसकेको छ । यी दुवै जिल्लामा मुद्दा दायरपछि रविलाई थुनछेक बहसका लागि बोलाइने छ । त्यहाँ पनि उनले सम्भवतः धरौटी तिरेर निस्किनुपर्ने हुन्छ । यो सबै झमेलाबाट मुक्ति पाउन कति समय लाग्ने हो ठेगान छैन ।

रवि निकट स्रोतका अनुसार चितवन र पर्सामा मुद्दा दर्ता भएर थुनछेक बहस नसकिँदासम्म उनले पार्टीको सक्रिय नेतृत्व गर्ने छैनन् । बाँकी दुई अदालतले पनि रिहाको आदेश दिएमा त्यसपछि भने उनी सभापतिको भूमिकामा फर्किन सक्छन्, तर यो विषयमा पछि नै निर्णय लिने निकट स्रोतको भनाइ छ ।

रास्वपाको संसदीय दलको नेता पद पनि अहिले खाली छ । मुद्दा दर्तासँगै रविलाई सांसदबाट निलम्बन गरिएको थियो । त्यसपछि उनी संसदीय दलको नेता रहेनन् । पार्टीले अहिलेसम्म अर्को संसदीय दलको नेता तोकेको छैन ।

रास्वपा स्रोतले रविको ठाउँमा अर्को संसदीय दलको नेता चयन नगरिने बतायो । रविको सांसद पद फुकुवा नभएसम्म उपनेता विराजभक्त श्रेष्ठले संसदमा नेतृत्वदायी भूमिका निभाउने स्रोतको भनाइ छ ।

‘अर्को संसदीय दलको नेता चयन गर्नुपर्ने आवश्यकता महसुस गरिएको छैन । अहिले त्यो खाली नै राखेर उपनेताले नेतृत्व गर्नुहुन्छ’, स्रोतले भन्यो ।

संसद अधिवेशन पर्सिबाट सुरु हुँदैछ । त्यसको पूर्वसन्ध्यामा आज उपनेता श्रेष्ठले नै रास्वपा संसदीय दलको बैठक बोलाएका थिए । बैठककाे अध्यक्षता पनि उनैले गरेका थिए ।


प्रतिक्रिया

One thought on “रविले रास्वपाको बागडोर तत्काल हातमा नलिने, संसदमा विराजभक्तको नेतृत्व

  1. देशलाई केहि गर्छु भनेर आएको रबि जस्तो निस्कलङ्क व्यक्तिलाई फसाउन अहिलेको सरकार र विशेष गरि काङ्ग्रेसको नेतृत्व नै परिचालित छ। काङ्ग्रेस बाट चुनाव लडेका वकिलहरु ज्यान दिएर रबि विरुद्ध लागेका छन् ।
    अचम्मको कुरा चाहिँ सहकारीको सदस्य नै नभएको रबिलाई सहकारी अपचलनको आरोप लगाएका छन् ।
    नेपालमा न्यायाधीश पनि राजनीतिक आधारमा नियुक्त गर्ने परिपाटी छ। आशा छ न्यायाधीशहरुले आफ्नो स्वतन्त्र विवेक कायम राख्ने छन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर