प्रचण्ड लक्षित बाबुरामको आक्रोश- बेइमानबाट ठगिएँ, अब सहकार्य पनि हुँदैन – Nepal Press

प्रचण्ड लक्षित बाबुरामको आक्रोश- बेइमानबाट ठगिएँ, अब सहकार्य पनि हुँदैन

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बेतत्ता पारिएका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भए पनि पुष्पकमल दाहाल प्रचण्ड आफूलाई नै सिध्याउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले पुराना राजनीतिक दलहरु सुध्रिने अवस्था नरहेको बताए ।

नेता भट्टराईले माओवादीका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भने, ‘जति छोपे पनि बिरालोले म्याउँ गरिहाल्छ । उहाँले बेलाबेला म्याउँ गरिराख्नुभएको छ । बेपत्ता परिवारलाई न्याय दिन उहाँहरुसँग हामीले सहकार्य गरेका हौं, तर उनीहरु हामीलाई सिध्याउने षड्यन्त्रतिर लागे । त्यसकारण त्यो कुरा सफल नभएको हो । अहिले हामी कतै गएका छैनौं । जानेवाला छैनौं ।’

उनले भने, ‘हामीले जुन वैकल्पिक शक्ति निर्माण गरेका छौं, त्यसमा केही बाँगोटिंगो भयो । त्यसमा हामीले बेइमानहरुसँग सहकार्य गरेर ठगिएकामात्र हौं, हामीले अरु केही गल्ती गरेका होइनौं । हामीले सिद्धान्त र विचार छोडका होइनौं । खालि के हो भने संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि शान्ति प्रक्रियाका केही कामहरु बाँकी छन् । राजावादीहरुले त्यसलाई मन पराएका छैनन् । अर्को हाम्रो ठूलो छिमेकीले हाम्रो संविधानलाई स्वीकार पनि गरेको छैन ।’

नेता भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको पनि बताए ।

उनले थपे, ‘हामीले एकता भनेका छैनौं । बाबुराम भट्टराईले पुराना पार्टीहरुसँग मिल्ने कहिल्यै भनेकै छैन । सहकार्य गरेको हो त । मधेशवादी र क्षेत्रीय दलहरुसमेत आन्दोलनबाट आएका हुनाले सहकार्य गरिएको हो, तर उहाँहरु धेरै पर पुगिसक्नुभएको छ ।’

उनले सहकार्य गरेर गल्ती नगरेको भए पनि बेइमानहरुबाट ठगिएको टिप्पणी गरे ।


प्रतिक्रिया

One thought on “प्रचण्ड लक्षित बाबुरामको आक्रोश- बेइमानबाट ठगिएँ, अब सहकार्य पनि हुँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर