एमालेको लक्ष्य- २०८४ मा एकल बहुमत, त्यसअघि नै महाधिवेशनबाट नयाँ नेतृत्व
११औं महाधिवेशनसम्म पार्टी सदस्यता १० लाख पुर्याउने
![](https://www.nepalpress.com/wp-content/uploads/2025/01/kp-oli-.png)
काठमाडौं । सरकारको नेतृत्वमा रहेर मिसन २०८४ चलाइरहेको नेकपा एमालेले ११औं महाधिवेशनको आन्तरिक गृहकार्य अघि बढाएको छ । आगामी निर्वाचनअघि महाधिवेशन गर्नेगरी तयारी थालेको हो ।
एमालेको १० औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो । एमाले विधानअनुसार ५ वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । विधानअनुसार २०८३ मंसिरभित्र महाधिवेशन गर्नुपर्ने हुन्छ, तर पार्टीको ध्यान मिसन ८४ मा भएकाले त्यसअघि नै गर्ने तयारी गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
त्यही लक्ष्यअनुसार नै पार्टीले विधान महाधिवेशन तोकेको उनको भनाइ छ । गत मंगलबार बसेको सचिवालय बैठकले भदौ २० देखि २२ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
प्रचार विभाग प्रमुख गौतमले भने, ‘विधान महाधिवेशनको ६ महिनापछि महाधिवेशन गर्ने प्रचलन छ । प्रथम विधान महाधिवेशनपछि १०औं महाधिवेशन भएको हो । अब यो दोस्रो महाधिवेशनपछि ११औं महाधिवेशन हुन्छ ।’
उनले २०८२ अन्त्य वा २०८३ को सुरुमै पार्टीको महाधिवेशन भइसक्ने दाबी गरे । उनले थपे, ‘हामी मिसन २०८४ मा केन्द्रित छौं । कार्यकर्ताबाट फ्रेस म्यान्डेटको नेतृत्व लिएर जनतामा फ्रेस म्यान्डेट लिन जान्छौं ।’
पार्टीको विधानअनुसार नेतृत्वमा दुई पटकभन्दा दोहोरिन पाउने व्यवस्था छैन । आगामी महाधिवेशनबाट पनि ओली नै तेस्रो पटक अध्यक्ष बन्ने दाउमा छन् । ७० कटेका ओली फेरि नेतृत्वमा आउन नै विधान संशोधन गर्नुपर्ने हुन्छ । त्यसो त एमालेले लागू गर्दै आएको ७० वर्ष उमेरहद यसअघि नै निलम्बन गरिसकेको छ ।
गौतमले भने, ‘अहिले हामी नेतृत्वको तहसम्म पुगेका छैनौं । नयाँ नेतृत्व लिएर जान्छौं, जनतामा जाने निश्चित हो, तर अहिले एमालेमा ओलीको विकल्प छैन । अब ७० वर्षे उमेरहद अहिले निलम्बनमा छ, त्यसबारे निर्णय अब विधान महाधिवेशनले गर्छ ।’
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि ११औं महाधिवेशनको तयारी गर्न नै विधान महाधिवेशन गर्न लागेको बताइन् ।
उनले भनिन्, ‘भदौमा हामीले विधान महाधिवेशन गर्ने निर्णय गरिसकेका छौं । यो भनेको महाधिवेशन अगाडि गर्ने हो । विधानभित्र केके संशोधन गर्ने, केके गर्ने भन्ने निर्णय गर्छ। त्यहाँबाट निर्णय हुन्छ ।’
उनले विधान महाधिवेशनपछि पार्टीको महाधिवेशनबारे छलफल अघि बढ्ने बताइन् ।
उनले थपिन्, ‘महाधिवेशन भएको तीन वर्ष भइसक्यो । महाधिवेशन पाँच वर्षमा हुने हो । अब विधान महाधिवेशन सकेपछि महाधिवेशनबारे निर्णय हुन्छ । त्यसैले अहिले छलफल भएको छैन । पहिला त महाधिवेशनै विधानबारे निर्णय हुन्थ्यो, तर त्यसो गर्दा असहज हुने भएपछि १०औं महाधिवेशनबाट हामीले विधान महाधिवेशन छुट्टै गर्न थालेका हौं ।’
बेग्लै विधान महाधिवेशन गर्न थालेपछि नेतृत्व चयनमा मात्रै केन्द्रित नहुने उनको भनाइ छ ।
के हो पूर्वराष्ट्रपति भण्डारी फ्याक्टर ?
एमालेले महाधिवेशको गृहकार्य अघि बढाउँदै गर्दा पूर्वराष्ट्रपति विद्या भण्डारी पनि सक्रिय हुँदै देश दौडाहामा छिन् । उनी सक्रिय राजनीतिमा फर्किएर आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने कसरतमा रहेको बताइन्छ ।
अध्यक्ष ओलीबाट असन्तुष्ट भएका नेताहरुले भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन लबिङ गरिरहेको कुरा लुकेको छैन । भण्डारीले सक्रियता बढाएपछि ओली पुस १८ गते पूर्वराष्ट्रपति भण्डारी निवासमै पुगेका थिए ।
करिब दुई घण्टा भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधिबारे छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको थियो ।
त्यसो त पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिभन्दा टाढा नहुने भन्दै एमालेबाट नै राष्ट्रपति भएकाले ढिलोचाँडो एमालेमै फर्किने सार्वजनिक अभिव्यक्ति दिइसकेकी छन् ।
सोमबार विराटनगर पुगेकी भण्डारीले भनिन्, ‘म हिजो पनि एमालेमा नै जन्मिएको, हुर्केको, बढेर यहाँसम्म आएको हो । फेरि पनि त्यही फर्किन्छु । यद्यपि अहिले नै पार्टी राजनीतिमा सक्रिय भइहाल्ने बेला भएको छैन । बेला आएपछि राजनीतिमा सक्रिय हुन सकिन्छ ।’
यद्यपि भण्डारीको सक्रियताबारे अहिलेसम्म एमालेमा औपचारिक छलफल भएको छैन । त्यसबारे उपाध्यक्ष शाक्य भन्छिन्, ‘उहाँले अहिले चाहना राखे जस्तो देखिएको छ, तर पार्टीमा कुनै छलफल भएको छैन । उहाँले पार्टीमा केही कुरा राख्नुभएको छैन ।’
उहाँले आगामी महाधिवेशनबाट नेतृत्वमा आउनेगरी तयारी थालेको चर्चा छ नि भन्ने जिज्ञासामा उनले थपिन्, ‘उहाँले पार्टीमा अहिलेसम्म कुरा राख्नुभएको छैन । हामीले सोधेका पनि छैनौं । त्यसैले आगामी महाधिवेशनमा उहाँको नेतृत्वबारे अहिले भन्नसक्ने अवस्था छैन । त्यहाँ अनेकौं कोण र पक्षबाट कुरा उठछन् । अहिले केही कुरा भएको छैन ।’
पूर्वराष्ट्रपति भएको व्यक्ति राजनीतिमा सक्रिय हुने विषयमा पार्टीभित्र पनि फरक धारणा आउने उनको बुझाइ छ ।
त्यसो त उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने कुरा उचित नहुने बताए ।
बुधबार रूपन्देही पुगेका ज्ञवालीले भने, ‘संवैधानिक राष्ट्र प्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित होइन, एमालेमा पनि केही चर्चा बजारमा सुनिएको छ, तर विद्या भण्डारी आफैं नै राजनीतिमा आउनुहुन्छ भन्ने मलाई लाग्दैन, त्यो राम्रो पनि होइन । सामान्य अवस्थामा एमालेमा त्यो सम्भव देखेको छैन ।’
अध्यक्षको प्रतिस्पर्धा गर्नेगरी भण्डारी एमालेमा सक्रिय हुने कुरा सत्य नभई अनुमानमात्रै भएको उनको बुझाइ छ ।
‘एकल बहुमतको लक्ष्य ’
सत्तामा होस् वा बाहिर एमाले निरन्तर पार्टीलाई चलायमान बनाउन विभिन्न अभियानमा केन्द्रित छ । अहिले माघ, फागुन र चैत महिनामा तीन महिने वडा केन्द्रित अभियानमा छ एमाले ।
आगामी निर्वाचनबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजनाको अंगका रूपमा सञ्चालन गरिने तीन महिने अभियानमा केन्द्रीय तहदेखिका सम्पूर्ण नेता र कार्यकर्ता परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउनुपर्ने हालै पार्टी अध्यक्ष ओलीले जारी गरेको अपानिमा उल्लेख छ ।
अभियानमा सदस्यता नवीकरण र विस्तार, टोल तहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने र कम्तीमा एक तिहाइ युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्नुपर्ने महासचिव शंकर पोखरेलले बताएका छन् ।
पार्टी सम्बद्ध सबै जनसंगठनको सदस्यता व्यापक रुपमा विस्तार गर्ने र सबै जनसंगठनलाई आआफ्नो वर्ग/समुदायको नेताका रुपमा स्थापित गर्नेदेखि सामाजिक सञ्जालमा नियोजित रुपमा सम्प्रेषित मिथ्या सूचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने उनले बताए ।
उनले भने, ‘जनतासँग प्रत्यक्ष संवाद गर्नेगरी सबैका घरघरमा पुग्ने, स्थानीय चासो र जनसरोकारका विषय पहिचान गर्ने, आआफ्नो ठाउँको विकास र समृद्धिको योजना तयार गर्न यो अभियानले काम गर्छ । मिसन ८४ मा पार्टीको एकल बहुमत प्राप्त हुने गरी निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक ध्रुवीकरणको अभियान चलाउने, घर फर्क र पार्टी प्रवेश अभियानमा जोड दिन्छ ।’
पार्टी सदस्यता १० लाख पुर्याउने
एमालेले आगामी महाधिवेशनअघि १० लाख पार्टी सदस्य पुर्याउने लक्ष्य बनाएको छ । त्यही रणनीतिअनुसार तीन महिने अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न अधिवेशन सम्पन्न नभएका ठाउँमा यथाशीघ्र अधिवेशन गर्न सम्बन्धित तहमा निर्देशन दिएको छ ।
अध्यक्ष ओलीले जारी गरेको अपानिमा भनिएको छ, ‘२०८१ को सदस्यता नवीकरणको काम आधारभूत रूपमा सम्पन्न भएको छ । सदस्यता नवीकरण र विस्तारको काम योजनाअनुरूप प्रभावकारी ढंगले सम्पादन हुनसकेको छैन । तीन महिने अभियानसँगै पार्टी सदस्यता नवीकरणसँगै अनलाइन गर्ने गरी प्रक्रिया अघि बढाइएको छ ।’
पार्टीको दशौं महाधिवेशनले पार्टीको एघारौं महाधिवेशनसम्म पार्टी सदस्यता १० लाख पुर्याउने लक्ष्य निर्धारण गरेको उल्लेख गर्दै सोहीअनुसार सदस्यता विस्तारको काम योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने भनेका छन् ।
अपानिमा भनिएको छ, ‘सदस्यता विस्तारको काम कुल मतदाता संख्याको ६ प्रतिशत हुनेगरी अघि बढाउन यसअघि नै निर्देशन दिइसकेको थियो । वडा तहमा न्यूनतम् ३ प्रतिशत पुर्याउने योजना अघि बढाइएको थियो । पहाडी क्षेत्रका केही जिल्लाबाहेक अधिकांश जिल्लाले त्यो योजनाअनुरूप सदस्यता विस्तार गर्नसकेको देखिँदैन ।’
आगामी वैशाख मसान्तसम्ममा पार्टी सम्बद्ध १६ वटा जनसंगठनको अधिवेशन गरिसक्ने उल्लेख छ ।
अपानिमा भनिएको छ, ‘कतिपयले अधिवेशनको मिति तोकेका छन् भने कतिपय तोक्ने प्रक्रियामा रहेका छन् । पार्टी सम्बद्ध जनसंगठनमा योग्य र सक्षम नेतृत्व आउन सकोस् भन्ने हिसाबले सम्बन्धित तहका पार्टी कमिटीहरूले समन्वय र सहजीकरण गर्नुपर्दछ । तीन महिने अभियानका क्रममा ती जनसंगठनहरूको सदस्यता विस्तार र आधारभूत तहसम्म कमिटी निर्माणको काममा पार्टीको तर्फबाट सहजीकरण गर्नु आवश्यक छ ।’
पार्टी र नेतृत्वका विरुद्धमा चौतर्फी आक्रमण र घेराबन्दी भइरहेकोप्रति सचेत रहन ओलीले आग्रह गरेका छन् ।
‘सामाजिक सञ्जालका माध्यमबाट पार्टीलाई कमजोर बनाउने उद्देश्यका साथ साइबर हमला निरन्तर जारी छ । पार्टीले प्रचारको कामलाई व्यवस्थित गर्ने योजना बनाएको भए पनि उद्देश्यअनुरूप काम अघि बढ्न सकेको छैन’, अपानिमा भनिएको छ, ‘अब सिंगो पार्टी पंक्तिले सामाजिक सञ्जालका माध्यमबाट पार्टी र पार्टी नेतृत्वका विरुद्धमा फैलाइएका मिथ्या र भ्रमपूर्ण प्रचारको दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ ।’